सैनिक सरकारद्वारा नेत्री सूचिलाई पाँच मुद्दामा क्षमादान

काठमाडौं ः हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सूचिलाई सैनिक सरकारले आंशिक माफी दिएको छ। उनीमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्मारको सरकारी सञ्चारमाध्यमले जनाएको छ। यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको छ।
बुधबार पर्ने आषाढ पूजाका अवसरमा सात हजार बन्दीलाई रिहाइको घोषणा गरेसँगै ७८ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सूचि विरुद्धका पाँच वटा मुद्दालाई मुल्तवीमा राखेर क्षमादान गरिएको हो।
राज्य प्रशासन परिषद्का अध्यक्षले सूचिलाई माफी दिएको सरकारी खबरमा भनिएको छ। उनीमाथि भ्रष्टाचार, गैरकानुनीरूपमा सञ्चार उपकरण ‘वाकिटकी’ राखेको तथा कोरोना भाइरसविरुद्धका नियम पालना नगरेकोलगायत अपराधमा दोषी ठहर गर्दै ३३ वर्षको कारबासको सजाय तोकिएको छ।
दुई वर्षअघि नेश्नल लिग फर डिमोक्रेसीकी नेत्री सूचिको सरकारलाई अपदस्थ गरेयता म्यान्मारका विभिन्न भागमा त्यसको विरोधमा उत्रेकामाथि सैनिक सरकारले व्यापक धरपकड एवम् दमन गरेको छ भने समग्र देश रक्तपातपूर्ण हिंसाको चपेटामा परेको छ।
सैनिक शासनविरुद्धको आन्दोलनमा करिब छ हजार सर्वसाधारण मारिएका छन् भने हजारौँ घाइते भएका विवरण सार्वजनिक भएका छन्। म्यान्मारका स्थानीय निकायले तीन हजार आठ सय जनाभन्दा बढीले ज्यान गुमाएका बताएको छभने सैनिक अधिकारीले त्यो सङ्ख्या पाँच हजारको हाराहारीमा पुगेको जनाएका छन्।
म्यान्माको सैनिक सरकारले सङ्कटकालीन छ महिना लम्ब्याउँदै आम निर्वाचनमा विलम्ब हुने सङ्केत गरेको छ। संविधानतःसङ्कटकालीन अवस्था अन्त्य भएको छ महिनाभित्र आम निर्वाचन गराउनुपर्छ। म्यान्मार परिषद्का कार्यवाहक अध्यक्ष मिन्ट स्वेले मंगलबार छ महिनासम्म सङ्कटकाल थपिएको सोमबार घोषणा गरेका थिए।










