उपकरण खरिदका क्रममा व्यापारीसँगको सेटिङमा अनियमितता

सुर्खेत ः सरकारी अस्पतालहरुमा उपकरण खरिदका क्रममा व्यापारीसँगको सेटिङमा अनियमितताका विषय सार्वजनिक भइरहेका छन् । सरकारका दुई अस्पतालमा एउटै कम्पनीबाट एकै क्षमताको एमआरआई मेसिन खरिदका क्रममा ७ करोड रुपैयाँ फरक परेको तथ्य फेला परेको हो ।

सरकारका दुई अस्पताल निजामती (सभिल सर्भिस अस्पताल) र सुर्खेतमा रहेको कर्णाली प्रादेशिक अस्पतालले खरिद गर्ने निर्णय गरेका एमआरई मेसिन एकै क्षमताका हुन् । दुवै अस्पतालले एउटै कम्पनीबाट उस्तै एमआरआई मेसिन खरिद गर्ने भनेर बोलपत्र स्वीकृत समेत गरेर प्रक्रिया अगाडि बढाइसकेका छन् । दुवै अस्पतालले थ्री टेस्ला क्षमताका एमआरआई खरिद प्रक्रिया अगाडि बढाएका हुन् ।

निजामती अस्पतालले त्यही क्षमताको एमआरआई १७ लाख २२ हजार ९ सय डलर अर्थात् २२ करोड ७४ लाख २२ हजार ८०० नेपाली रुपैयाँमा खरिद गर्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको छ । निजामती अस्पतालले जेठ २५ गते थ्री टेस्ला क्षमताको एमआरई खरिदको जिम्मा ईष्ट वेस्ट कन्सर्न प्रालिलाई दिने निर्णय गरेको छ ।

यस्तै, कर्णाली प्रदेश अस्पताल सुर्खेतले पनि थ्री टेस्ला क्षमताकै एमआरआई मेसिन खरिदको जिम्मा ईष्ट वेस्ट कन्सर्न प्रालिलाई नै दिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक अस्पतालले उक्त कम्पनीलाई २९ करोड ७१ लाख ६६ हजार ७ सय ९२ रुपैयाँमा खरिद गर्न जिम्मा दिएको छ । ईष्ट वेस्ट कन्सर्नले सिमेन्स कम्पनीको एमआरआई नेपालमा ल्याउने गरेको छ ।

दुवै अस्पतालले उपकरणका लागि तयार पारेको स्पेसिफिकेसनमा अधिकांश विवरणहरु समान छन् । यहाँसम्मकी विवरणमा एउटा अस्पतालले नम्बरहरु राख्ने क्रममा गरेको गल्ती अर्को अस्पताललमा पनि त्यस्तै छ । स्पेसिफिकेसनका भाषाहरु पनि उस्तै छन् ।

दुवै अस्पतालले साना र ठूला गरी तीन सयभन्दा बढी बुँदामा स्पेसिफिकेसन बनाएका छन् । सिभिलले २५ वटा मुख्य विषयमा र प्रादेशिक अस्पतालले ३० वटा मुख्य विषयमा बुँदागत रुपमा स्पेसिफिकेसन बनाएका छन् । जसमा अधिकांश बुँदाहरु एक अर्कामा हुबहु सारिएका छन् । केही नम्बरका बुँदाहरु तलमाथि गरिएका छन् भने बुँदालाई फरक देखाउन केहीमा अंग्रेजी अक्षरको ठूलो भएकामा सानो र सानो भएकामा ठूलो मात्र बनाइएको छ ।

तीन सयभन्दा बढी बुँदाका स्पेसिफिकेसनमा झुक्याउनका लागि आरएफ च्यानल फरक देखाउन खोजिएको छ। सुर्खेतको एमआरआईमा ६४ अथवा त्योभन्दा बढी आरएफ च्यानल भनिएको छ भने सिभिलकोमा ३२ अथवा त्योभन्दा बढी भनिएको छ। तर, उक्त बुँदामा दुवै अस्पतालमा एमआरआईको ’बीट’ भने समान राखिएको छ।

दुवै अस्पतालको बीट फ्रिक्वेन्सी ३२ हुनुपर्ने स्पेसिफिकेसनमा उल्लेख छ । यो भनेको जति च्यानलको आरएफ भए पनि एमआरआईले दिने चित्र (इमेज) उस्तै हुने एक बायोमेडिकल इन्जिनियर बताउँछन् ।दुवै अस्पतालको स्पेसिफिकेसन हेर्दा अधिकांश महत्त्वपूर्ण बुँदाहरु उस्तै छन् । केहीमा फरक देखाउन खोजिएको छ । तर, त्यसले मूल्यमा खासै फरक देखाउँदैन उनले भने, ’ती सबै बुँदाहरु झुक्याउनका लागि राखिएका र मूल्यमा चलखेल गर्न राखिएका हुन्। दुवै अस्पतालका उपकरण उस्तै र एउटै हुन् ।





error: Content is protected !!