सुडानका पूर्व प्रधानमन्त्री मेहदीको अन्त्येष्टि


सुडानका पूर्व प्रधानमन्त्री तथा विपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको अन्त्येष्टि गरिएको छ ।

बिहीबार निधन भएका ८४ बर्षका मेहदीको शुक्रबार अन्त्येष्टि गरिएको हो । उहाँलाई अन्तिम विदाई गर्न उहाँका हजारौँ समर्थक शुक्रबार विहानैदेखि शव राखिएको ठाउँमा पुगेका थिए ।

नरमपन्थी इस्लामिक नेशनल उमा पार्टीका नेता समेत रहनु भएका मेहदीलाई तीन हप्ता पहिले सुडानमा कोभिड सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि यूनाइटेड अरब इमिरेट्स ९युएई० पठाइएको थियो ।

उहाँको शव युएइबाट खर्तूम विमानमा ल्याएपछि सुडानी सैनिकहरुले विमानस्थलबाट लगेर अन्त्येष्टि गराएका थिए ।

उहाँ सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले सन् १९६६ देखि १९६७ सम्म र १९८६ देखि १९८९ सम्म प्रधानमन्त्रीको जिम्मेबारी निर्वाह गर्नुभएको थियो ।

केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा मेहदीलाई वर्खास्त गर्नु भएको थियो । त्यसपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि उहाँले निरन्तर आवाज उठाउँदै आउनुभएको थियो ।





error: Content is protected !!