जलविद्युत आयोजनाका लागि गाउँपालिकाको शेयर लगानी

जुम्ला ः जिल्लाको पातारासी गाउँपालिकाले चुकेनी जलविद्युत् आयोजनाको दुई करोडको शेयर लगानी गरेको छ। गाउँपालिकाले चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको सो आयोजनामा सबै घरधुरीको नाममा शेयर लगानी गरेको हो। सो लागि गाउँपालिकाले दुई करोड लगानी गरेको छ। गाउँपालिकाले यहाँका तीन हजार ३२० घरधुरीको नाममा सो आयोजनाको शेयर लगानी गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर थापाले जानकारी दिए। उनले भने,ुसो रकम बराबरले विद्युतमा काम गर्नेछन्। काम गरेका जनताको नाममा शेयर लगानी हुने छ।

यसै गरी गाउँपालिकाका एक हजार १०० स्थानीयवासीले व्यक्तिगत रुपमा ९० लाख शेयर लगानी गरेको चुकेनी खोला विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर रावतले बताए। उनले भने, ुएक करोड गाउँपालिकाले आफ्नो नाममा शेयर लगानी थपेको छ।ु यसको साथै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पनि लगानी गर्ने भएपछि यो जलविद्युत् आयोजना बन्ने पक्का भएको छ। अध्यक्ष रावतका अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २८ करोड ४४ लाख ३० हजार र थप बजेट अनुदान १८ लाख २८ हजार स्वीकृत भई बजेट सिलिङको पत्रसमेत प्राप्त भइसकेको छ। यसैगरी कर्णाली प्रदेश सरकार आर्थिक मामिला योजना मन्त्रालयबाट एक करोड रकम विनियोजन भएको पनि उनले जानकारी दिए।

शेयर लगानी जुटेपछि विद्युत उत्पादन हुने पक्का

यसैगरी विभिन्न निकायको सहयोग तथा स्थानीयको शेयर लगानीसमेत भएपछि अब करिब एक मेघावाट बत्ती जुम्लामा दुई वर्षमा उत्पादन हुने पक्का भएको छ। २०६९ वैशाख महिनामा उद्घाटन गरिएको जलविद्युत् आयोजना रकम अभावका कारण रोकिएको थियो। लगानी जुटेपछि अहिले टेण्डर प्रक्रिया अगाडि बढी सकेको छ। यसका साथै विद्युत्मा जनताले गरेको शेयर लगानी आम्दानीको ५० प्रतिशत जनतालाई मुनाफा वितरण गरिने लक्ष्य रहेको अध्यक्ष बुढाले बताए।

उनका अनुसार आयोजना निर्माणका लागि एशियाली विकास बैंक एडिबी ले तीन करोड ऋण उपलब्ध गराउने भएको छ। आफ्नै खोलानालाबाट निकालिएको बिजुली नै आम्दानीको स्रोत भएकाले धेरै प्रयासपछि चुकेनीको लगानी जुटेको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए। चालिस वर्षअघि जुम्लाको सदरमुकाम खलङ्गाको साना जलविद्युत् आयोजनाबाट उत्पादित २२० किलोवाट विद्युत्बाट अहिले बजारको माग धान्न सकेको छैन।

चुकेनी जलविद्युतले आधुनिक उद्योगहरू फष्टाउने

अब बिजुली उत्पादन भएमा लगानी गर्न सजिलो हुने बताइएको छ। यस्तै जुम्ला सदरमुकाममा पनि पर्याप्त बिजुलीको अभावमा स्याउ प्रशोधन, उद्योगदेखि विभिन्न आधुनिक उद्योगहरू फष्टाउन सकिएको छैन। यस्तो अवस्थामा चुकेनी जलविद्युतले यहाँको विकास र समृद्धिमा कोशेढुंगा सावित हुने विश्वास स्थानीयवासीको छ। चुकेनी जलविद्युत् आयोजना निर्माण भएमा पातारासी गाउँपालिकासहित जुम्ला सदरमुकामलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउने चुकेनी विद्युत् सहकारी संस्था लिमिटेडको लक्ष्य छ। पर्याप्त जडिबुटीको उच्च सम्भावना रहेको पातारासीमा विद्युत् उत्पादन भएपछि जडिबुटी प्रशोधन केन्द्र स्थापना हुन सहयोग पुग्ने विश्वास लिइएको छ।





error: Content is protected !!