समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

राजकुमार पराजुली
प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका रूपमा ‘नेपाली सं्घीयतामा समाचार समिति’ आएको छ ।

राष्ट्रिय समाचार समिति राससका वरिष्ठ समाचारदाताका रूपमा कार्यरत सिलवालद्वारा लिखित शोध अध्ययनमा आधारित ‘नेपाली संघीयतामा समाचार समिति’ पुस्तक राससको ५८औँ वार्षिकोत्सवका अवसरमा यही फागुन ७ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाबाट सार्वजनिक गरिएको थियो । पत्रकार सिलवालको यसअघि ‘क्षितिजको आशय’ कविता र ‘पूर्णिमाको रात’ निबन्ध संग्रह प्रकाशन भइसकेको छ ।

नेपालमा २०१८ फागुन ७ गतेदेखि निजी क्षेत्रका दुई समाचार समिति गाभेर स्थापित रासस स्थापना भएको हो । विश्वमा समाचार समितिको जग सन् १८३५ मा फ्रान्सका चाल्स लुइस् हवासले बसालेका हुन् । नेपालमा राससले हाल राज्यको समाचार समितिको धर्मलाई निर्वाह गरिरहेको छ ।

नेपालमा समाचार समितिको पर्याय नै हो भन्दा अन्यथा हँुदैन । राज्यले आधिकारिक, विश्वसनीय, सन्तुलित तथा तथ्यपूर्ण समाचार तथा सूचना उपलब्ध गराउन राससको स्थापना भएको हो भने निजी क्षेत्रबाट टेलिभिजनका लागि भिडियो सेवालाई केही कम्पनीले विक्री–वितरण आरम्भ गरेका छन् । समाचार समितिको मान्यतामा नभए पनि केही सञ्चार संस्थाले आलेख र खोजी समाचारको सेवा पनि उपलब्ध गर्दै आएको छ ।
सञ्चारमाध्यमको संख्यात्मक वृद्धि भइरहेका बेला खोजमूलक समाचार, आलेख, तस्बिर र अडियो, भिडियो सेवालाई स्वायत्त रूपमा प्रदेश वा स्थानीय तहमा विविध भाषामा छिटोछरितो एवं गुणस्तरीय सेवा दिन सक्ने हो भने समाचार समितिको भविष्य उज्ज्वल देखिने पुस्तकको निष्कर्ष छ ।

नेपालको समाचार समिति पत्रकारिता राससको उपस्थितिबिना कल्पना गर्न नसकिने भएकाले यस पुस्तकमा राससको प्रभावकारिता, विभिन्न नीति, योजना र सरकारका कार्यक्रममा यसका बुझाइ तथा यसले भावी दिनमा लिएको प्रादेशिक समाचार सेवा र भिडियो सेवालगायत विषयलाई समावेश हुनु सकारात्मक पक्ष हो । साथै, सञ्चारसम्बनधी विद्यमान प्रदेशगत आँकडा, ती प्रदेशमा सेवा सञ्चालनका लागि राससका पछिल्ला सोच र प्रयास, राससमा कार्यरत समाचारदातालाई सहज हुने समाचार शैलीसम्बन्धी विभिन्न अभ्यास र निर्देशिका पनि यसमा उल्लेख गरिएर लेखकले समसायिकता थप्नुभएको छ ।

बीएन पुस्तक संसारबाट प्रकाशित पुस्तकमा राससको इतिहासदेखि वर्तमान र सं्घीय संरचनाको खाकासम्मका गतिविधिलाई केलाइएको छ । मुलुक संघीय संरचनामा गइसकेपछि रासस पनि संघीय संरचना र सेवामा कसरी जानुपर्छ भन्ने पुस्तकमा उल्लेख छ । राससलाई संघीय संरचनामा लैजान मार्गदर्शन गर्ने पुस्तकमा प्रदेश र स्थानीय सरकारसँगको सम्बन्धबारे उल्लेख गरिएको छ ।

सातवटै प्रदेशस्तरमा कार्यालय स्थापना भइसकेको अवस्थामा प्रदेश कार्यालयबाट नै राससको समाचार सम्प्रेषण गर्ने योजना र त्यसबारे स्थलगत भ्रमणमा पाइएका सुझावबारे पुस्तकमा उल्लेख छ । पुस्तकमा नेपालको वर्तमान सञ्चार स्थिति र समाचार समिति, नेपालमा संघीयता र सञ्चार, राससविना सञ्चारमाध्यम सञ्चालन कति सम्भव, राससको प्रादेशिक संरचना र सेवा, रासस प्रदेश सेवा किन आवश्यक छ, जस्ता कुरा समेटिएको छ । यसैगरी, पुस्तकमा राससको प्रस्तावित प्रदेश सेवा, प्रदेश संरचनाका लागि राससको चुुनौतीबारे समेत उल्लेख गरिएको छ ।

राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले पनि सं्घीय संरचनामा राससको भूमिकाबारे लेखकले पुस्तकमा उतारेकाले यो सञ्चार क्षेत्रका लागि स्रोत सामग्री हुन सक्ने उल्लेख गर्नुभएको छ । श्यामलको भूमिकामा भनिएको छ, ‘लोकतन्त्र नै यसको शक्ति हो, र त्यही यसको चुनौती पनि हो भन्ने विषयलाई पनि हामीले ध्यान राख्नैपर्छ ।

त्यसैले नयाँ परिवेश र नवीन प्रविधिको यस द्रुतगामी युगमा राससको समुचित व्यवस्थापन गर्न सके सबै प्रकारका सञ्चारमाध्यमको समाचारको आधिकारिक र सर्वाधिक विश्वसनीय स्रोतका रूपमा यसको प्रतिष्ठा रहिरहनेछ । कुनै पनि तथ्यसंगत सूचना र समाचारमा मानव समाज र राज्यलाई संवेदनशील बनाउने र तरंगित तुल्याउने क्षमता निहीत हुन्छ । यो क्षमताको उपयोग गर्न सकियो भने मानव विकासको गतिको तीब्रता बढ्छ । संज्ञानका नयाँनयाँ द्वारहरू खुल्छन् । यसका निमित्त राज्यका नीतिगत नियामक निकायको संस्थागत सोच बदलिनैपर्छ र उनीहरू सहयोगात्मक बन्नैपर्छ । राससले यस्तो अनुकूल वातावरण तयार गर्ने अभियान थालेको छ, जसले पुस्तकमा उठेका जिज्ञासालाई सम्बोधन गर्नेछ ।’

त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख चिरञ्जिवी खनालले पनि यस पुस्तकले पत्रकारिता क्षेत्रमा नयाँ सन्दर्भ स्रोतको काम गर्ने उल्लेख गर्नुभएको छ । पुस्तकमा खोजी पत्रकारिता र राससका विद्यमान समाचारका कमजोरी र सुधार्नुपर्ने पक्ष पनि समावेश हुन सकेको भए अझ राम्रो हुने देखिए पनि सञ्चारसम्बन्धी पहिलो पुस्तकका लेखक सिलवालको लेख, अध्ययनको क्षेत्रमा उज्ज्वल भविष्य दर्साउन पुस्तक सार्थक देखिन्छ । उज्ज्वल भविष्यको कामनासहित १
पुस्तक ः नेपाली सङ्घीयतामा समाचार समिति
लेखक ः प्रकाश सिलवाल
प्रकाशक ः बिएएन पुस्तक संसार, बागबजार
पहिलो संस्करण ः २०७५ फागुन ७
विधा ः अनुसन्धान





error: Content is protected !!