के खान्छन् यी सेलेब्रिटी

सेलेब्रिटीहरूको विषयमा जान्ने चाहना कसलाई नहोला र रु झन् उनीहरू के खान्छन्, के लगाउँछन् वा उनीहरूको जीवनशैलीबारे त अनेक जिज्ञासा हुन्छन् । केही सेलेब्रिटीले दैनिक खानेकुरा र उनीहरूको चासोः
सलमान खान बलिउड अभिनेता सलमान खानलाई सबैभन्दा मन पर्ने इटालियन खाना हो । उनी दैनिक ओट्स र इटालियन फुड खान्छन् । त्यस्तै, दैनिक कुखुराको मासु र माछा खान्छन् । उनी बिरयानीका पनि सौखिन हुन् । प्रत्येक दिन उनी ग्रिन टी खान छुटाउँदैनन् । ग्रिन टीले स्वास्थ्यलाई फाइदा पुग्ने उनले बताउँदै आएका छन् ।
मुकेश अम्बानी
भारतीय व्यवसायी मुकेश अम्बानीको जीवनशैली पनि धेरैका लागि चासोको विषय हो । सफल व्यवसायी अम्बानी मेवाको जुस खान औधि रुचाउँछन् । त्यस्तै, उनी ‘इडली–सांभर’, मसाला डोसा तथा चाटका पनि फ्यान हुन् ।
ओप्राह विन्फ्रे
अमेरिकी टेलिभिजन प्रस्तोता ओप्राह विन्फ्रेबारे किन पनि चर्चा हुन्छ भने उनी टेलिभिजन टक सोबाट सबैभन्दा धेरै कमाउने प्रस्तोताको सूचीको शीर्ष स्थानमा आउँछिन् । केहीअघि एक कार्यक्रममा विन्फ्रेले भनेअनुसार उनलाई बेक्ड पोटेटो सबैभन्दा बढी मन पर्छ । योसँगै उनी पास्ता खान पनि रुचाउँछिन् ।
दीपिका पादुकोण
बलिउड अभिनेत्री दीपिका पादुकोणको शरीरको चर्चा गर्नेहरू अत्यन्त धेरै हुन्छन् । पादुकोणको सौन्दर्य तथा शरीरको राज उनको खाना हो । उनी पहेँलो भाग हटाएर अन्डा खान्छिन् । त्यस्तै, ग्रिल गरिएको कुखुरा पनि उनलाई निकै मन पर्छ । त्यस्तै, मसला डोसा, डार्क चकलेट र मुम्बईको चाट पनि दीपिकाको रुचिमा पर्छन् ।
एन्जेलिना जोली
हलिउड अभिनेत्री एन्जेलिना जोली के खान्छिन् भन्ने चासो हुनु स्वाभाविक हो । किनकि, निकै उमेर भइसक्दा पनि जोलीले शरीर ‘खुबै’ मेन्टेन गरेकी छिन् । उनी सिरियल्स, कुखुराको मासु र माछाकी सौखिन हुन् । त्यस्तै, जोली प्रोटिन सेक पनि
दिनहुँ खान्छिन् ।
विराट कोहली
भारतीय क्रिकेटर विराट कोहली पछिल्लो समय सबैभन्दा बढी चर्चा गरिएका खेलाडी हुन् । उनको चर्चा किन चुलिएको हो भने भारतीय क्रिकेट टिम सम्हालेलगत्तै उनले अत्यन्त राम्रो प्रदर्शन गरिरहेका छन् । कोहली ‘ल्याम्ब चप’, कबाब तथा बटर चिकेनका सौखिन हुन् । उनी ब्राउन चकलेट खान पनि रुचाउँछन् ।
सञ्जयसँग रिसाए छिमेकी
बलिउड अभिनेता सञ्जय दत्तका छिमेकीले उनीविरुद्ध प्रहरीमा रिपोर्ट गरेका छन् । उनीहरू सञ्जयसँग रिसाउनुको कारण हो, सञ्जयको घरमा भएको ‘लेट नाइट पार्टी’ । यसअघि पनि सञ्जयसँग यो विषयमा छिमेकीले गुनासो गरेका थिए ।
पाली हिलस्थित सञ्जयको घरमा केही दिनअघि अत्यन्त ढिलोसम्म पार्टी चलेको र उनले बाहिर बरन्डामा नै ठूलो आवाजमा गीत बजाएको गुनासो छिमेकीले गरेका हुन् । ११ बजेबाट सुरु भएको यो पार्टी राति २ बजेसम्म चलेको र बारम्बार सञ्जयको घरमा जानकारी दिँदा पनि उनले त्यो गीत बजाउन नछाडेको आरोप छिमेकीले लगाएका छन् । त्यसो त, सन् २००९ मा पनि सञ्जयविरुद्ध यस्तै आरोप लागेको थियो । त्यतिवेला प्रहरीले लगतार २० दिनसम्म सञ्जयको घर निगरानीमा राखेको थियो ।
प्रियंकाले गरिन् ट्रम्पको विरोध
पछिल्लो समय कलाकारहरू राजनीतिक घटनाक्रमबारे टिप्पणी गरेर पनि चर्चामा आउन थालेका छन् । अहिले यसरी नै चर्चामा छाएकी छिन्, बलिउड अभिनेत्री प्रियंका चोपडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्धबारे चोपडाले टिप्पणी गरेकी हुन् । ट्रम्पको यो निणर्यले आफू निकै प्रभावित भएको उनले लेखेकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘प्रतिबन्धित देशसँग युनिसेफको धेरै काम चलिरहेको छ । त्यहाँका बालबालिका समस्यामा छन् । प्रतिबन्धविरुद्ध आवाज उठाउने हो भने पक्कै पनि परिवर्तन हुनेछ,’ उनले थपेकी छिन्, ‘हाम्रा बालबालिकालाई धर्मको आधारमा भेदभाव गर्नुहुँदैन ।’ प्रियंका युनिसेफकी गुडविल एम्बेसडर भएकाले पनि उनको टिप्पणी अहिले चर्चामा आएको हो ।
कंगनाको आरोपः ऋतिकले मेरो करिअर सकाउन खोजे
बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनौटबीचको विवाद फेरि बल्झिएको छ । कंगनाले फेरि अन्तर्वार्तामा ऋतिकलाई आरोप लगाउन थालेपछि यो विवाद बल्झिएको हो । केही दिनअघि एक अन्तर्वार्तामा कंगनाले ऋतिकले आफ्नो करिअर सकाउन खोजेको आरोप लगाएकी छिन् ।
‘त्यो समयमा ऋतिक सबैकहाँ पुगेर मेरो करिअर सकाउन लागि परेका थिए, तर कसैले पनि उनको कुरा सुनेनन्,’ कंगनाले त्यो अन्तर्वार्तामा भनेकी छिन्, ‘उनले जोसँग मेरोबारे कुरा गरे उनीहरूले मसँग पनि भेट्न चाहे, मेरो कुरा पनि सुन्न खोजे ।’ त्यति मात्र होइन, ऋतिकले आफूलाई खुलेआम धम्की दिने गरेको पनि कंगनाको आरोप छ ।










