यार्सागुम्वा चोरीको आरोपमा दर्जन बढी पक्राउ

शुकमाया थापा
डोल्पा ः डोल्पाको एक यार्सापाटनमा अवैध रुपमा छिरेका २० जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् ।जिल्लाको सरोकारवाला निकायको बैठकले १३ जेठदेखि मात्रै डोल्पाका सम्पुर्ण यार्सागुम्बा पाटन खोल्ने निर्णय गरेको थियो । पाटन खुल्नु अगावै चोरी शिकारी गर्ने उद्देश्यले यार्सापाटन छिर्नेलाई पक्राउ गरेर कारवाही गरिने निकुञ्जले जनाएको छ ।

उनीहरुलाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने ढाढाचौर यार्सापाटनबाट सुम्दो चेकपोष्टबाट खटिएको निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा १६ जना पुरुष र ४ जना महिला रहेको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए ।

पक्राउ पर्ने सबै जुम्लाका रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । जसमा गोठिचौर गाउँपालिका २ का सुर्य बोहोरा, बलीबहादुर बोहोरा, एकराज बुढा, मुनबिर बुढा, खुम बोहोरा, मानबहादुर ऐडी, खड्क बोहोरा, कमल बुढा, दलबहादुर थापा, सुशिलादेबी बुढा, कर्ण बुढा वडा १ का जुनबहादुर महतारा, कबिता महतारा, सृजना ऐडी, शुसिला बस्नेत, तातोपानी गाउँपालिका ८ का कालीबहादुर थापा, तप्तबहादुर थापा, जनक थापा, निसान थापा, पातारासी गाउँपालिका ५ का गोर्ख बुढा रहेका छन् ।

पक्राउ परेको टोलीबाट एक सय ५० वटा यार्सागुम्बा, नगद दुई लाख ८१ हजार, कुटो, हँसियालगायतका सामानहरु बरामद गरिएको यादवले बताए । पक्राउ गरी आवाश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु यार्सापाटन खुला गर्ने समय अगावै अवैध रुपमा चोरी तस्करी गर्ने उद्देश्यले पाटनमा छिरेको पाइएकाले पक्राउ गरिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बैशाखदेखि हालसम्म विभिन्न यार्सापाटनबाट ५२ जना यार्सागुम्बा तस्करहरु पक्राउ गरिसकेको निकुञ्जले जनाएको छ ।





error: Content is protected !!