बढ्दो मानसिक समस्या

सपना अधिकारी
आजभोलि युवाहरू मानसिक रोगको सिकार हुँदै गएका छन् । नेपालमा मात्र नभएर विकसित देशका युवाहरूमा समेत मानसिक रोग बढ्दो छ । युवाहरू मानसिक रोगका कारण कुनै पनि कार्य राम्रोसँग गर्न नसक्ने अवस्था बढ्दै जानु राम्रो संकेत होइन । सुरुमा सानो रूपमा सुरु हुने मानसिक समस्याले बिस्तारै ठूलो समस्या निम्त्याउँछ ।
इन्टरनेट एवं प्रविधिले पनि धेरै खालको मानसिक समस्या बढाउँदै लगेको छ । केही वर्षअघि देशमा गएको भूकम्पका कारण भएको क्षतिबाट देखिएको मानसिक समस्या बोक्नेहरू अझै सामान्य भैसकेका छैनन ।

उक्त भूकम्पले थपेको गरिबीका कारण युवाहरूमा मानसिक समस्या थपेको पाइन्छ । वैदेशिक रोजगारी, अशिक्षा, शिक्षित बेरोजगारीका कारणले सिर्जना हुने दुस्ख अनि ऋण गरी अध्ययनपछि सोचेजस्तो रोजगारी नपाउनु पनि मानसिक समस्या बढ्ने प्रमुख कारण हुन् । हाम्रो देशमा प्रत्येक सरकारले आफ्ना मानिसहरूलाई मात्र काखा लिने, परिवर्तन चाहने युवाहरूको भावना नसमेट्ने, रोजगारीका नयाँ अवसरहरू सिर्जना नहुने हुँदा पनि युवाहरूमा मानसिक तनाव बढ्दै गएको छ । धेरै युवाले आफूभित्र रहेका समस्यालाई गुम्स्याएर राखेको पाइन्छ । त्यस्ता समस्या बाहिर व्यक्त गर्न पनि सकिँदैन । सबैभन्दा ठूलो समस्या विदेशमा रोजगारीमा रहेका युवाहरूमा देखिन्छ । परिवारसँगको विछोड र भनेजस्तो कमाइ नहुँदा कतिपय मानसिक समस्या आत्महत्यासम्म पुगेको पाइन्छ ।

नेपालमा अहिलेसम्म मानसिक समस्या भएका युवाहरूको संख्या कति छ भन्ने यकिन तथ्यांक छैन । हाम्रो सोचमा मानसिक रोगी भन्नासाथ पूर्ण रूपमा सन्तुलन गुमाएको मानिस भन्ने मात्र लाग्छ, तर त्यो मात्र मानसिक रोग होइन । तपाईं–हामीले अपेक्षा नै नगरेका युवाहरू पनि मानसिक समस्यामा हुन सक्छन् । अभिभावकले आफ्ना छोराछोरीको अवस्थामा ध्यान दिनु जरुरी हुन्छ । उमेर, लिङ्गअनुसार शारीरिक विकास कसरी भैरहेको छ रु संवेगात्मक, भावनात्मक एवं सामाजिक रूपमा कसरी अघि बढिरहेका छन्, बुझ्नुपर्छ । युवा वयका छोराछोरीहरू एक्लै समाजमा भिज्न नसक्ने हुँदा उनीहरूलाई त्यो वातावरण मिलाइदिनुपर्छ । यो समय बुबा–आमाको भूमिकामा होइन, एउटा असल साथीका रूपमा साथ दिनुपर्छ ।

आफूलाई मानसिक समस्या भएको कुरा थाहा पाइँदैन र यस्तो अवस्थामा कुलतमा फस्ने सम्भावना बढी हुन्छ । युवाहरूले आफूलाई त्यस्तो समस्या भएको शंका लागे परिवारलाई भन्ने, साथीभाइहरूसँग सेयर गर्ने तथा मनोपरामर्शदाता वा मनोचिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

विद्यालय कलेजका पाठ्यक्रमहरूमा मानसिक रोगलाई पनि समेट्नुपर्छ । त्यसैगरी राज्यले यो विषयमा काउन्सिलिङ गर्ने जनशक्ति तयार राख्नुपर्ने आवश्यकता छ ।





error: Content is protected !!