इराक युद्धमा मिडियाका दुई ध्रुव

सन् २००३ मार्च २० मा सुरु भएको इराक युद्धले लाखौँ इराकी नागरिकको ज्यान लियो, दशौँ लाखलाई शरणार्थी बनायो । युद्धकै कारण इराक साम्प्रदायिक द्वन्द्वमा फस्न पुग्यो । त्यही अराजकतामाझ आइएसआइएस नामक शक्तिशाली उग्र इस्लामिक संगठनको उदय भयो । आइएसको उदयपछि इराकको द्वन्द्व छिमेकी सिरियासम्म विस्तारित भएर गयो । जसकारण सन् २०११ मा इराकबाट आक्रमणकारी अमेरिका र उसका गठबन्धन फर्किएपछि पनि इराकमा द्वन्द्व अन्त्य भएन ।
इराक युद्धलाई अमेरिकी राजनीतिमा बलियो प्रभाव जमाएको मिलिटरी–इन्डस्ट्रियल कम्प्लेक्स ९सैन्य तथा रक्षा उद्योगको गठबन्धन०ले सुरु गरेको युद्ध पनि भन्ने गरिन्छ । अमेरिकाका पूर्वराष्ट्रपति ड्विट आइजनहावरले आफ्नो बिदाई भाषणमा अमेरिकी जनतालाई यस गठबन्धनविरुद्ध सजग रहन चेतावनी दिएका थिए । तर, आइजनहावरको चेतावनीविरुद्ध पटक–पटक अमेरिकी प्रशासन हातहतियारका कारोबारीहरूको प्रभावमा परिरहेको छ । इराक युद्ध गराउने बुस प्रशासनभित्र उपराष्ट्रपति रहेका डिक चेनी तथा रक्षामन्त्री डोनाल्ड रम्सफेल्ड यो गठबन्धनको पक्षधर रहेको आरोप लाग्ने गर्छ । ‘नियो–कन्जरभेटिभ’ ९नव रूढिवादी० विचारधारावाहक यी दुई नेता अन्तर्राष्ट्रिय मामिलामा अमेरिकी स्वार्थको रक्षाका लागि हस्तक्षेप गर्न हिच्किचाउन नहुने वकालत गर्थे । यहीबीच, जर्ज बुसको सरकार गठन भएको वर्षदिनभित्र २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी आक्रमण भयो । सेप्टेम्बर ११ मा अमेरिकाका महŒवपूर्ण व्यापारिक तथा प्रशासनिक स्थलमा इस्लामिक अतिवादी समूह अलकायदाले आक्रमण गर्यो । अलकायदाले चारवटा विमान अपहरण गरेर न्युयोर्क सहरस्थित विश्व व्यापार केन्द्रका ट्विन टावर र पेन्टागनमा आक्रमण ग¥यो । यस आतंकवादी आक्रमणमा तीन हजारभन्दा बढीको ज्यान गएको थियो । सेप्टेम्बर ११ को आक्रमणबाट विश्व नै स्तब्ध बन्न पुग्यो । आमअमेरिकीमाझ आक्रमणका जिम्मेवारमाथि कारबाही गर्नुपर्ने मानसिकता व्याप्त थियो । अमेरिकी कंग्रेसले बुस प्रशासनलाई आक्रमणसम्बन्धी विशेष अधिकार प्रदान गरेको थियो ।
गुप्तचार संस्थाले अलकायदाका नेताहरूलाई अफगानिस्तानले संरक्षण गरिरहेको बलियो प्रमाण भेटेका थिए । यस विषयमा अफगानिस्तानले अमेरिकालाई सहयोग नगरेपछि अफगानिस्तानमाथि आक्रमण गरियो । तर, बुस प्रशासन अफगानिस्तानमा आक्रमण गरेर रोकिएन । सन् २००१ देखि नै उपराष्ट्रपति डिक चेनी अलकायदा र सद्दाम हुसेनबीच सम्बन्ध रहेको बताउन थालिसकेका थिए ९जबकि अमेरिकी गुप्तचर निकायका रिपोर्टले हुसेन र अलकायदाबीच सम्बन्ध नरहेको बताइरहेका थिए० । पछि चेनीले इराकले विपन अफ मास डिस्ट्रक्सन ९आम नरसंहारकारी हतियार० निर्माण गरिरहेको र त्यहाँ यसको ठूलो भण्डार रहेको बताउन थाले । इराकसँग आमविनाशकारी हतियार रहेको विषयमा मिडिया बहस सुरु हुन थाल्यो । यसमा बुस प्रशासनसँग नजिक रहेको भनिएको र रुढिवादी मिडियाको पहिचान बनाएको फक्स न्युज सबैभन्दा अगाडि थियो । तर, यस खेलमा अन्य मिडिया पनि थिए । इराकमा आमनरसंहारकारी हातहतियार रहेको र त्यसबाट विश्वको सुरक्षा खतरामा पर्ने कुरा मिडियामा जोडतोडका साथ प्रस्तुत गरिन थाले ।
चर्चित अमेरिकी वामपन्थी बुद्धिजीवी नोम चोम्स्कीले तत्कालीन समय अमेरिकी मिडिया विभिन्न तरिकाबाट अमेरिकी सरकारको प्रोपोगान्डाको औजार बनेको आरोप लगाउने गर्छन् । मिडियाले इराक युद्धको वैधानिकतामाथि प्रश्न नगरेर तथा सरकारले दिएको सूचनालाई समर्थन जनाएर यसको पुष्टि गरेको उनको तर्क छ।
त्यसैले इराक युद्ध गराउन मिलिटरी–इन्डस्ट्रियल गठजोडसँगै मिडियाको पनि महत्वपूर्ण हात रहेको आरोप लाग्ने गर्छ । इराक युद्धपछि यसलाई केही वामपन्थीले मिलिटरी–इन्डस्ट्रियल गठजोडमा मिडियासमेत जोडेर मिलिटरी–इन्डस्ट्रियल–मिडिया कम्प्लेक्स भन्न थालेका छन् । इराक युद्धअघि सबैजसो मूलधारका अमेरिकी मिडियाले सरकारी लाइनमा युद्धको औचित्य प्रमाणित गर्न खोजेर युद्धको पृष्ठभूमि तयार गर्न अथक प्रयास गरेका थिए ।
सरकारी लाइनअनुरूप नै इराकमा आमनरसंहारकारी हातियार रहेको रिपोर्ट दिनेमा प्रतिष्ठित द न्युयोर्क टाइम्ससमेत थियो । न्युयोर्क टाइम्सका लागि इराक र आमनरसंहारकारी हतियारबारे लेख्थिन्, जुडिथ मिलर । जुडिथले उत्कृष्ट रिपोर्टिङका लागि सन् २००१ मा पुलिट्जर पुरस्कार जितिसकेकी थिइन् । उनै जुडिथले सन् २००२ सेप्टेम्बर ८ मा लेखेको एक समाचार पछि इराकमाथि आक्रमण गर्नुपर्ने पक्षधरले सबैभन्दा धेरै उद्धृत गर्ने ‘विश्वसनीय’ समाचार बनेको थियो । जुडिथले सहकर्मी माइकल गोर्डनसँग मिलेर लेखेको समाचारमा ‘नाम उल्लेख नगरिएका एक अमेरिकी अधिकारी तथा अमेरिकी गुप्तचरविज्ञले इराकतर्फ गइरहेको ‘आल्मुनियम ट्युब’ कब्जामा परेको र यी सामग्री इराकले आणविक हतियार बनाउन लान लागेको सूचना रहेको’ लेखिएको थियो । समाचार छापिएपछिका टेलिभिजन बहसमा इराकमाथि आक्रमणको पक्षमा बोल्ने क्रममा जर्ज बुस प्रशासनका मन्त्रीहरू डोनाल्ड रम्सफेल्ड, कोन्डोलिजा राइस, कोलिन पावेलहरू यही समाचारलाई प्रमाणका रूपमा उल्लेख गर्ने गर्थे । तर पछि त्यस समय मिलरले इराकबारे लेखेका धेरै रिपोर्ट गलत सूचनाका आधारमा लेखिएको पाइयो । ९न्युयोर्क टाइम्सले इराक युद्ध सुरु भएको एक वर्षपछि अर्थात् सन् २००४ मे २६ मा एक सम्पादकीय छापेर आफूहरूले अविश्वसनीय सूचनादातामाथि धेरै भर परेर गलत रिपोर्टिङ गरेको भन्दै विगतका गल्ती स्वीकार गरेको थियो । पत्रिकाले ‘विवादास्पद सूचनामाथि छानबिन नगरिएकोप्रति पछुतोसमेत व्यक्त गरेको थियो । तथापि, पत्रिकाले कुनै रिपोर्टर यसका लागि जिम्मेवार नभएको बताएको थियो ।
मिडियाको इराकसम्बन्धी अतिरञ्जित रिपोर्टिङले जनमानसलाई इराक युद्ध पक्षधर बनाउन ठूलो भूमिका खेलेका थिए । इराक युद्ध सुरु हुनुअघि ६९ प्रतिशत अमेरिकी नागरिक सद्दाम हुसेन प्रत्यक्ष रूपमा सेप्टेम्बर ११ को आक्रमणमा संलग्न रहेको विश्वास राख्ने अवस्थामा पुगेका थिए ९जबकि त्यसमा उनको कुनै संलग्नता थिएन० । हुनत इराकले सन् १९६२ देखि सन् १९९१ बीच आमसंहारकारी वर्गीकरणमा रहेका हतियार निर्माणका लागि अनुसन्धान गरेको थियो । तर, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को दबाबमा इराकले यससम्बन्धी अनुसन्धान कार्य बन्द मात्र गरेन, निर्माण भइसकेका रासायनिक हतियारको भण्डार पनि नष्ट गरेको थियो । बुस प्रशासनले पुनः इराकमा आमनरसंहारकारी हतियार रहेको दाबी गरेपछि संयुक्त राष्ट्रसंघ तथा आइएइएका अनुगमनकर्ताहरूले नोभेम्बर २००२ देखि मार्च २००२ मा इराकभित्रै गएर अनुगमनसमेत गरेका थिए । तर, विवाद समाधानका प्रयास चलिरहँदा अमेरिकाले इराकमाथि आक्रमण गर्यो । इराकले संयुक्त राष्ट्रसंघका अनुगमनकर्तालाई विनासर्त पूर्ण रूपमा सहयोग नगरेको अमेरिकाको आरोप थियो । यसरी अचानक गरिएको आक्रमणको तत्कालीन संयुक्त राष्ट्रसंघीय महासचिव कोफी अन्नानले विरोधसमेत गरेका थिए ।
इराकमा अमेरिकी आक्रमण सुरु भएपछि पनि अमेरिकी मिडियाको कभरेज तटस्थ रहेन । केबल न्युज च्यानलहरूले युद्धलाई अत्यधिक प्राथमिकता दिए र अधिकांशको रिपोर्टिङ युद्धलाई सनसनी खोज बनाउनेमा केन्द्रित रह्यो । टिभी स्टुडियोमा बसेर प्रस्तोता, तिनमा देखाइने एनिमेसनले समग्र युद्धलाई नै ग्ल्यामराइज गर्न थालेको थियो । तटस्थता तथा अन्य पत्रकारिताका इथिक्स पालना भएनन् । इराक युद्धको रिपोर्टिङमा सबैभन्दा लोकप्रिय फक्स न्युज देखिन्थ्यो । जबकि, फक्स न्युजका मालिक रुपर्ट मर्डक आफैँ इराक युद्धका पक्षधर थिए । उनको टेलिभिजनमा युद्धका कभरेजहरू आजकल भारतीय टेलिभिजिनमा देखाइने खालका चर्को प्रस्तुतिजस्तै हुन्थे । फक्स न्युजको प्रस्तुति लोकप्रिय भएसँगै अन्य टिभी च्यानलले पनि उस्तै गरी युद्धको कभरेज दिन थाले । व्यापारिक फाइदाका लागि यसरी युद्धको मानवीय पक्षलाई बिर्सने मात्र होइन, केही संस्थाले पैसा लिएर पनि प्रोपोगान्डा फैलाउने काममा सहभागी भएको समेत पाइयो । सन् २०१६ मा ब्युरो अफ इन्भेस्टिगेटिभ जर्नालिजमले अमेरिकी रक्षा मन्त्रालयले अरबी च्यानलहरूका लागि जाली आतंकवादी भिडियो एवं जाली समाचार आलेख तयार गर्न ब्रिटिस पिआर फर्म बेल पोटिन्गरलाई ५४ करोड डलर तिरेको खुलासा गरेको थियो । मन्त्रालयले यति ठूलो रकम मे २००७ देखि डिसेम्बर २०११ बीच बेल पोटिन्गरलाई दिएको थियो ।
मिडिया बहसमा थप –
इन्दिराको इमर्जेन्सी – प्रेस स्वतन्त्रताविरुद्धको अँध्यारो युग
न्युयोर्क टाइम्सबाट सुरु भएको एउटा बहस
‘द भल्चर एन्ड द लिटल गर्ल’
एउटा समाचार, जसले २० वर्षे भियतनाम युद्ध अन्त्य गरायो
वाटरगेट काण्ड – जब राष्ट्रपति निक्सनले प्रेससँगको युद्ध हारे
इराक युद्धको रिपोर्टिङका क्रममा अभ्यासमा ल्याइएको ‘इम्बेडेड’ पत्रकारिताले पनि युद्ध रिपोर्टिङको विश्वसनीयता र तटस्थतामाथि प्रश्न उठाउने ठाउँ दिएको छ । इराक युद्ध सुरु भएपछि झन्डै ७७५ रिपोर्टर तथा फोटोग्राफर प्रत्यक्ष द्वन्द्वमा सहभागी अमेरिकी सैन्य इकाइमा सहभागी भएर इराक गएका थिए । ब्रिटिस पत्रिका गार्डियनका अनुसार ती पत्रकारलाई युद्ध सुरु हुनुअघि नोभेम्बर २००२ मा युद्धमा जाँदा अपनाउनुपर्ने होसियारीको तालिम दिइएको थियो । यद्यपि, इम्बेडेड रिपोर्टिङको व्यापक आलोचना भयो । चर्चित अमेरिकी वामपन्थी बुद्धिजीवी नोम चोम्स्कीले तत्कालीन समय अमेरिकी मिडिया विभिन्न तरिकाबाट अमेरिकी सरकारको प्रोपोगान्डा औजार बनेको आरोप लगाउने गर्छन् । मिडियाले इराक युद्धको वैधानिकतामाथि प्रश्न नगरेर तथा सरकारले दिएको सूचनालाई समर्थन जनाएर यसको पुष्टि गरेको उनको तर्क छ । तर, सबै अमेरिकी मिडियाले युद्धको समर्थन गरेका भने थिएनन् । अमेरिकाका स्वतन्त्र मिडियाहरू युद्धअघिदेखि नै इराक युद्धको विरोधमा प्रस्तुत भएका थिए । केही रिपोर्टले फ्रिलान्सर रूपमा पनि युद्धविरुद्ध लेखिरहेका थिए । अमेरिकामा ‘डेमोक्रेसी नाउ’ र यसका सञ्चालक एमी गुडम्यानले इराक अतिक्रमण र त्यस क्रममा भएका युद्ध अपराधको आलोचना गरिरहे ।
अमेरिकाबाहिरका मूलधारका मिडियामा पनि इराक युद्धप्रति उत्साह थिएन । इराक युद्धमा अमेरिकाको बलियो मित्र रहेको बेलायतको सरकारी सञ्चारमाध्यम बिबिसी आफैँमा युद्धविरोधी देखिन्थ्यो । इराकप्रति सहानुभूति राख्ने युद्धविरोधी सामग्री प्रस्तुत गर्ने भएकाले एक समय ब्रिटेनका युद्धक जहाजमा बिबिसी बन्देज लगाइएको थियो । इराक युद्धलाई इराकी आँखाबाट प्रस्तुत गरेर अल जजिरा निकै चर्चित भएको थियो ।
एकजना बेलायती जैविक युद्ध विषयका वैज्ञानिक डेभिड केलीले जुलाई २००३ मा बिबिसीका पत्रकार एन्ड्रियु गिलिगानसँग ‘अफ द रेकर्ड’ कुराकानी गरेका थिए । केलीले एन्ड्रियुसँग इराकको आमविनाशकारी हतियारसम्बन्धी एक दस्तावेजबारे केही कुरा बताए । केलीका अनुसार उनले पढेको उक्त दस्तावेजमा इराकसँग रासायनिक हतियार ४५ मिनेटभित्रै परिचालन गर्न सकिने अवस्थामा थियो ।
इराक युद्धमा अमेरिकाको बलियो मित्र रहेको बेलायतको सरकारी सञ्चारमाध्यम बिबिसी आफैँमा युद्धविरोधी देखिन्थ्यो । इराकप्रति सहानुभूति राख्ने युद्धविरोधी सामग्री प्रस्तुत गर्ने भएकाले एक समय ब्रिटेनका युद्धक जहाजमा बिबिसी बन्देज लगाइएको थियो । इराक युद्धलाई इराकी आँखाबाट प्रस्तुत गरेर अल जजिरा निकै चर्चित भएको थियो ।
गिलिगानले बिबिसी रेडियो फोरको ‘टुडे’ कार्यक्रममा यस विषय समेटेर रिपोर्ट प्रसारण गरे । उनले कार्यक्रममा केलीको नाम भने उल्लेख गरेका थिएनन् । गिलिगानले रिपोर्टबारे उल्लेख गर्दै त्यसमा सरकारले इराकस्थित आमनरसंहारकारी हतियारबारे बढाइचढाई गर्न उक्त ४५ मिनेटको कुरा उल्लेख गरेको बताए । गिलिगानले बेलायती प्रधानमन्त्रीको कार्यालयका सञ्चार निर्देशक अलास्टेयर क्याम्पबेलको आग्रहमा ४५ मिनेटवाला प्रंसग समावेश गरिएको खुलासा गरिदिए । क्याम्पबेलले तत्कालै यसको खण्डन गरे । सरकारले बिबिसीसँग यसबारे आपत्ति जनाउँदै त्यो दाबी खण्डन गर्न आग्रह गर्यो । तर, बिबिसी आफ्नो कार्यक्रममा प्रस्तुत भनाइमा अडिग रह्यो । यसबाट प्रधानमन्त्रीको कार्यालयका सञ्चार निर्देशक र बिबिसीबीच राजनीतिक विवाद विकसित भयो ।
केलीले आफूमाथिका अधिकारीलाई त्यस समाचारको स्रोत आफू पनि हुन सक्ने संकेत गरेका थिए, तर आपूmबाहेक अन्यले पनि उनलाई सूचना दिएको हुन सक्ने उनको धारणा थियो । किनकि, गिलिगानले केलीले नभनेका कुराहरूसमेत रिपोर्टमा समावेश गरेका थिए । गिलिगानको स्रोतबारे मिडियामा अनेक अड््कलबाजी हुन थाल्यो । पछि केलीको नाम मिडियामा आउन थालेपछि उनलाई सोही वर्ष १५ जुलाईमा संसदीय समिति ‘इन्टेलिजेन्स एन्ड सेक्युरिटी’ र ‘फरेन अफेयर्स सेलेक्ट’सामु उपस्थित हुन बोलाइयो । संसदीय समितिमा भएको सुनुवाइको दुई दिनपछि केली आफ्नै घरनजिक मृत अवस्थामा भेटिए । आत्महत्याबारे विभिन्न अड्कलबाजी भए पनि विभिन्न अनुसन्धानले उनले नाडीको नसा काटेर आत्महत्या गरेको देखिएको छ ।
बेलायती सरकारले सद्दाम हुसेनमाथिको युद्धलाई उचित ठहर्याउन सन् २००२ सेप्टेम्बर २४ मा इराकको आमविनाशकारी हतियारसम्बन्धी एउटा दस्तावेज तयार गरेको थियो । दस्तावेज जोइन्ट इन्टलिजेन्स कमिटी ९जेआइसी०को प्रतिवेदनमा आधारित थियो । यस दस्तावेजले इराकी सरकारसँग सियालगायतमाथि जैविक तथा रासायनिक हतियार प्रयोग गर्ने सैन्य योजना रहेको र तीमध्ये केही हतियार ४५ मिनेटमै परिचालन गर्न सकिने प्रकृतिको भएको उल्लेख थियो ।
गिलिगानको केलीसँग भएको ३० मिनेटको अफ द रेकर्डको कुराकानीमा त्यो डोसियर ९दस्तावेज०का केही महत्वपूर्ण विषयहरू नागरिकलाई दिग्भ्रमित गराउन कसरी तोडमोड गरेर प्रस्तुत गरिएको छ भन्ने कुरामा केन्द्रित थियो । डोसियर तयार भएर प्रकाशन हुनु एक हप्ताअघि त्यसलाई उत्तेजक बनाउन ४५ मिनेटमा परिचालन गर्न सकिने जैविक एवं रासायनिक हतियार रहेको कुरा थपिएको थियो । प्रधानमन्त्रीका सञ्चार निर्देशक स्वयंले यो प्रतिवेदन प्रकाशन हुनु एक हप्ताअघि यसलाई सनसनीपूर्ण र रोमाञ्चक बनाउन थप तथ्य समावेश गर्न आदेश दिएको थिए । दस्तावेजका अधिकांश कुराका एकभन्दा बढी स्रोत थियो भने यही ४५ मिनेटको कुरा मात्रै एकल स्रोतमा आधारित थियो । त्यसमा पनि स्रोतको भनाइलाई बंग्याएर गलत रूपमा प्रस्तुत गरिएको थियो ।
गिलिगानले पुन बिबिसी रेडियो ५ लाइभको बिहानी सत्रको कार्यक्रममा एउटा रिपोर्ट प्रसारण गरेर सो दस्तावेजमा ४५ मिनेटको कुरा सरकारले घुसाएको दाबी दोहो¥याए । तर, केलीले गिलिगानले स्रोतका रूपमा उद्धृत गरेको वरिष्ठ अधिकारी आफैँ हुँ भन्ने भेउ पाउन सकेनन् । सरकारको अस्वीकारका बाबजुद जुन १ मा गिलिगानले द मेल अन सन्डेमा ‘मैले मेरो स्रोतसँग सद्दामको हतियारबारे ब्लेयरले हामीलाई भ्रमित बनाएका हुन् भनेर सोधेको थिएँ । उनको एक शब्दको उत्तर थियो, ‘क्याम्पबेल’ भनेर एउटा लेख लेखे । त्यो लेखले तहल्का मच्चायो ।
केलीको मृत्युपछि प्रधानमन्त्री टोनी ब्लेयरले उनको मृत्युको सत्यतथ्य अध्ययन गर्न वरिष्ठ न्यायाधीश जेम्स हटनको नेतृत्वमा जाँचबुझ समिति गठन गरे । त्यस समितिले केलीले आत्महत्या गरेको निष्कर्ष निकाल्यो । हटन छानबिन चलिरहेकै समयमा प्रधानमन्त्रीका सञ्चार निर्देशक एलास्टर क्याम्पबेलले राजीनामा दिए । योसँग उनले इराकसम्बन्धी दस्तावेजमा इराकको हातहतियारबारे बढाइचढाई गरेको अन्य तथ्य बाहिर आए । यसरी बिबिसीले लिएको अडान सही साबित भयो ।
इराक युद्धमा अमेरिकी मूलधारको मिडिया र बिबिसी दुई अलग धारमा देखिन्छन् । सामान्यतया स्वतन्त्र मिडियाको काम शक्ति र सत्तामा रहेकाहरूसँग जवाफदेहिता माग गर्ने हुनुपर्ने हो । यस हिसाबमा बिबिसीले सही माग अवलम्बन गरेको देखिन्छ भने अमेरिकी मिडियाले सत्ता रिझाउने अनुचित मार्ग लिएको देखिन्छ । मिडियाले युद्ध उन्मादमा प्रश्न गर्नुको साटो होमा हो मिलाउँदा संसारले ठूलो मूल्य चुकाउनुपर्ने रहेछ । इराक युद्ध यसैको उदाहरण हो नयाँ पत्रिकामा खवर छ ।










