सोती घटना ः के के छन् यर्थाथ र भ्रमहरु ?

हेमन्त केसी
जाजरकोट , रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८, सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको घटनाले जाजरकोट दिनदिनै अशान्त हुँदै आएको छ । बिभिन्न शैलीमा आन्दोलन हुँदै आएका छन् । घटनाको यथार्थ अनुसन्धान गरी दोषी पहिल्याउनका लागिसंसदीय समिति, सरकारको तर्फबाट उच्चस्तरीय छानबीन समिति तथा नेपाल प्रहरीको अनुसन्धान र सिआईविले समेत अनुसन्धान गरिरहेका छन् ।

केहीले अनुसन्धान सकेका छन् भने केहीको अनुसन्धान जारी रहेको छ ।  सोती घटनाको संलग्न भएको अभियोगमा रुकुम पश्चिम अदालतमा ३३ जनाविरुद्ध तीनवटा कसुर र एकजनाविरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको छ । पक्राउ परेका सोती गाउँका २८ र फरार पाँचजनासहित ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीनवटा कसुरमा अभियोग दर्ता भएको हो । त्यस्तै, पक्राउ परेका जाजरकोटका एकजनाविरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको छ ।

रुकुम अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले यस घटनाका सन्दर्भमा पक्राउ परेका र फरार रहेका समेत गरी ३४ जनामध्ये ३३ जनालाई तीनवटा र एकजनालाई तीनवटै कसुरमा मतियार रहेको अभियोग लगाइएकोे जानकारी दिनुभयो । बोहराका अनुसार ३३ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार जन्मकैद, दफा ४१ (क) (ग) बमोजिम आजीवन काराबास र जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को दफा ३ (१) र दफा ४, ५ को कसुरमा दफा ७ (१) क बमोजिम कैद सजायको माग गरिएको छ ।

प्रतिवादी इन्द्रबहादुर मल्लको हकमा भने अपराध संहिताको दफा ३६ को कसुरमा दफा ३३ (ख) बमोजिम सजायको माग दाबी गरिएको छ । घटना भएको २३ दिनपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालयले रुकुम पश्चिम जिल्ला अदालतमा अभियोग दर्ता गरेको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोती गाउँका २८ र जाजरकोटका एक गरी २९ जनालाई पक्राउ गरेको छ । पाँचजना अझै फरार छन् । पीडितले दिएको किटानी जाहेरीका आधारमा २० र अनुसन्धानको क्रममा नौ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका जाजरकोट प्रमुख किशोर श्रेष्ठले फरार पाँच जनाको खोजी भइरहेको बताउनुभएको छ ।

सोती गाउँकी मल्ल थरकी प्रेमिकालाई बिहे गरेर लैजान भन्दै आएको प्रसंगमा भएको दुःखद घटनामा जाजरकोट भेरी नगरपालिका– ४ रानागाउँका नवराज विक सहित सञ्जु विक, लोकेन्द्र सुनार, गणेश बुढामगर, टीकाराम नेपाली र गोविन्द शाहीले ज्यान गएको थियो भने अन्य १२ जना घाइते भएका थिए ।

सोमबार भएको प्रतिवादीको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश विद्याराज पौडेलले दुई बालबालिकालाई बाल सुधार गृहमा पठाउन आदेश दिनुभएको हो ।

अदालतले अनुसन्धान प्रतिवेदन, प्रतिवादीले अदालतमा दिएको बयान र विभिन्न मुचुल्का तथा प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने नै हुँदा हाल कसुरजन्य कार्यको आरोप लागेका प्रतिवादीहरूले अभियोग दाबीअनुसारको कसुर नगरेको भन्ने नदेखिएकाले उनीहरूलाई मुद्दा पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन अदालतले आदेश दिएको हो । बाँकीको बयान मंगलबारबाट शुरु हुने रुकुम पश्चिम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले बताउनुभयो ।

यसरी बन्योे चर्चाको विषय
देशविदेशमा चासोको विषय बनेको सोती घटनाबारे दुनियाँभरका मिडियाको ध्यान तानेको छ । राससले ब्रेक गरेको यो समाचार राससलाई उद्धृत गदै सवै मिडियाले आफ्ना मिडियामा मुख्य रुपमा प्रकाशित गरेका थिए ।
रासस भन्दा झण्डै ३ घण्टापछि कान्तिपुरले यस समाचारलाई प्रकाशित गरेको थियो र त्यसपछि विभिन्न अनलाइन र सामाजिक सन्जालहरूले यस घटनालाई प्रमुख विषय बनाएका थिए ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको तथ्यमा जानभन्दा समाचारलाई कसरी सनसनीपूर्ण बनाउन सकिन्छ भन्नेतर्फ बढीजसो मिडियाको ध्यान गएकोे बताउनुभयो ।

शवपरीक्षण प्रतिवेदनमा के छ ?

जेठ १६ गतेका दिन केही सन्चारमाध्यमले पोष्टमोर्टम रिपोर्ट तयार नहुँदै चिकित्सकको हवाला दिदै पोष्टमोर्टम रिपोर्टसम्बन्धी समाचार प्रकाशित गरेपछि जिल्ला स्वास्थ्य सेवा कार्यालयका चिकित्सकहरू हैरान भएका जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त बताउनुहुन्छ ।

विभिन्न सन्चार माध्यममा आएका अपुष्ट र अतिरन्जित समाचारबारे प्रतिक्रिया दिदै प्रमुख जिल्ला अधिकारी  पन्तले त्यस्ता अतिरन्जत समाचारमा सत्यता नभएको र यसबारे गृह मन्त्रालयलाई समेत जानकारी गराइसकेको बताउनुभएको थियो । जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनिल पुनले पोष्टमोर्टम रिपोर्ट तयार भएको छैन, कसरी हामीलाइ उद्धृत गदै समाचार आयो भन्दै आक्रोश व्यक्त गरेको प्रजिअ जनकराज पन्तको भनाई छ ।

समाचार प्रकाशित भएको झण्डै हप्ता दिनपछि मात्र पोष्टमोर्टम रिपोर्ट तयार पारेका जाजरकोट स्वास्थ्य सेवा कार्यालयका चिकित्सकले मिडियामा आएजस्तो रिपोर्टको ठीक विपरीत पीडित छ जनाको मृत्युको कारण चोटपटक लागेर पानीमा डुबेको उल्लेख गरेका छन् । यो पोष्टमार्टम रिपोर्टको प्रतिलिपि रासस सम्वाददातासँग सुरक्षित रहेको छ ।

राससलाई प्राप्त पोस्टमार्टम रिपोर्ट अनुसार मृतक जनाकै शवमा चोटपटक देखिएको छ तर सबैको मृत्युको कारण र सम्भावित कारणमा ‘ड्राउनिङ’ नै लेखिएको छ । नवराज वि.क.को पोस्टमोर्टम रिपोर्टको ‘ओपिनियन अर कन्क्लुजन’ मा शरीरका तीन ठाउँमा शक्तिशाली प्रहार (ब्लण्ट फोर्स) का कारण बाह्य चोट रहेको उल्लेख छ। तर मृत्युको सम्भावित कारण भने डुब्नु उल्लेख छ । त्यसैगरी लोकेन्द्र सुनारको पोस्टमोर्टम रिपोर्टमा शरीरमा पनि बलियो हतियार प्रहारका कारण तीन ठाउँमा चोट लागेको र मृत्युको कारण ‘डुब्नु’ उल्लेख भएको छ ।

टीकाराम नेपालीको रिपोर्टमा घातक प्रहारका कारण टाउको, अनुहार, घाँटी, तल्लो भागहरूमा थुप्रै चोटपटक (मल्टिपल ब्लन्ट फोर्स इन्जुरिज) भएको र मृत्युको कारणमा डुब्नु उल्लेख गरिएको छ । गणेश बुढा मगरको पोस्टमोर्टम रिपोर्टमा शरीरको माथिल्लो भाग, घुँडा र खुट्टामा ब्लन्ट फोर्स इन्जुरिज (घस्रिएको) देखिएको तर त्यो भूइँमा लडेर भएको हुन सक्ने र यो चोट ज्यानै जाने खालको नभएको उल्लेख छ । उनको मृत्युको कारण पनि डुब्नु नै उल्लेख छ ।

सञ्जीव विकको पोस्टमोर्टम रिपोर्टमा भएको चोटपटक नदीमा खसेको कारण हुन सक्ने उल्लेख गर्दै मृत्युको कारण डुब्नु उल्लेख गरिएको छ । यसैगरी गोविन्द शाहीको पोस्टमार्टम रिपोर्टमा शरीरका तीन ठाउँमा बाह्य चोटपटक रहे पनि मृत्युको सम्भावित कारण डुब्नु उल्लेख भएको देखिन्छ ।

पोष्ट मार्टम रिपोर्ट आए पनि भिसेरा परीक्षणको लागि पठाइएको नमुनाको नतिजा आउन भने बाँकी रहेको छ । इन्सेकले तयार पारेको प्रारम्भिक स्थलगत अनुगमन प्रतिवेदनमा पनि जाजरकोटको स्वास्थ्य सेवा कार्यालयका डाक्टर सुनील पुनले आफूहरूसँग सम्पर्क नै नगरी समाचार लेखिएको र विज्ञप्ति निकाल्ने तयारी गरेको बताएको भनी उल्लेख गरिएको छ ।
अस्पतालमा तोडफोड

हिजो मात्र गलत पोष्टमोर्टम रिपोर्ट बुझाएको आरोप लगाउदै जाजरकोटमा भएको आन्दोलनमा चिकित्सकविरुद्ध पीडित र स्थानीयले नाराबाजीका साथ अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडमा स्वास्थ्य सेवा कार्यालयको डिजिटल एक्सरे मेसिनमा समस्या आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । पीडित पक्षको आन्दोलन चलिरहँदा सोती घटनाको निष्पक्ष छानबीनका लागि बनाएको संसदीय समिति जाजरकोट आइपुगेकोले घटनाका बिषयमा सोही समितिसँग जिल्लाका सुरक्षा अधिकारीहरूको छलफल चलिरहेको थियो ।

सांसदीय समितिसँग छलफल सकिएपछि सोमबार बेलुकी आन्दोलनरत पक्ष, चिकित्सकहरू र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका बीचमा छलफल समेत भएको थियो । छलफलमा चिकित्सकहरूले आफूहरूलाई कतैबाट दवाव नआएको बताएका थिए ।

‘हामीले जती सिके जानेका छौँ, सोही विज्ञताका आधारमा सो पोष्टमोर्टम रिपोर्ट तयार पारेर बुझाएका छौँ’, डा. सुनिल पुनले भन्नुभयो । उहाँले भन्नुभयो, “हामीले गलत गरेको भए अदालतमा मुद्दा दायर गरी तपाईंहरूको दावी सही ठहरिए हाम्रो लाईसेन्स समेत खारेज गर्न सक्नुहुन्छ ।”  सो सासदीय समितिले आज पनि अन्य पीडितसँग छलफल गर्दै छ ।





error: Content is protected !!