टर्कीबाट व्यावसायिक ओखर खेती गर्न नयाँ जातका बिरुवा ल्याइयो

डोल्पा ः यहाँ व्यावसायिक ओखर खेतीका लागि ‘च्यान्डलर जात’का १५ हजार बिरुवा खरिद गरिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण, कृषि सडक, कृषि सिँचाइलगायत आयोजनाको अनुदान रकमबाट ती बिरुवा खरिद गरिएको हो । जिल्लामै पहिलो पटक टर्कीबाट रु एक करोड १२ लाख ५० हजार रकमबराबरका ती जातका ओखरका बिरुवा ल्याइएको कृषि कार्यालयले जनाएको छ ।

कृषकको मागअनुसार बिरुवा झिकाएर पनि धमाधम वितरण शुरु गरिएको कार्यालयले जनाएको छ । मध्य डोल्पामा पर्ने त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका, काइके गाउँपालिकालगायतका स्थानीय तहका पकेट र ब्लगमा आबद्ध कृषकलाई जुफालबाट वितरण शुरु गरिएको छ ।

सो जातको ओखरले एक वर्षमै फल दिने कार्यालको दाबी गरेको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा पनि १२ हजार बिरुवा जहाजबाट जुफाल विमानस्थलमा पु¥याएर पनि वितरण शुरु गरिएको छ । तीन हजार बिरुवा सडकमार्गबाट तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिकाका लागि पठाइएको कार्यालयले जनाएको छ ।

तल्लो डोल्पामा सडकमार्गबाट गाडीमा बिरुवा पठाइसकेकाले पुग्नेबित्तिकै वितरण शुरु गरिने कर्णाली प्रदेश सभाषद् वीरबहादुर शाहीले जानकारी दिनुभयो । नयाँ जातको ओखरले फल दिन शुरु गरेपछि यहाँका कृषकको आयस्रोतको बलियो माध्याम बन्ने उहाँले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयको समन्वयमा जुम्लाको दाजुभाइ नर्सरीले नेपाली एजेन्टमार्फत १५ हजार बिरुवा खरिद गरेर यहाँ ल्याएका हुन् । जिल्लाभरिमा सातवटा ओखर पकेट र एउटा ब्लग रहेका छन् । एउटा पकेटलाई ४०० र ब्लगलाई तीन हजारका दरले बिरुवा वितरण गरिएको छ । बिरुवा लगाउन इच्छुक तर पकेट र ब्लगमा नसमेटिएका कृषकलाई समेत पाँचदेखि दशवटासम्म ७५० का दरले वितरण गरिएको छ ।

यो वर्ष एउटा ओखर पकेटमा चार लाख र ब्लगमा रु ४५ लाख अनुदान रकम गएको र १० वर्षसम्म लगातार गइराख्ने सो कार्यालयले जनाएको छ । पकेट र ब्लगमा आबद्ध कृषकले अनुदानको दुरुपयोग गरेमा अनुदान रकम तुरुन्तै बन्द गरिने कार्यालयको भनाइ छ ।

बिरुवा फागुनसम्म पु¥याएर लगाइसक्नुपर्ने भएता पनि ढिला गरी आइपुगेको भन्दै जनप्रतिनिधि र कृषकले गुनासो गरेका थिए ।

सामाजिक सञ्जालमा बिरुवा सुकेको र ढिला गरी आइपुगेको भन्दै आलोचना भएपछि सरोकारवाला टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही, प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकार, सशत्र प्रहरी नायब उपरीक्षक चेत थापा, जिल्ला अनुसन्धान प्रमुख दिनेश रेग्मी, कृषि कार्यालय प्रमुख भीमबहादुर धरालालगायत पत्रकारको टोलीले अनुगमन गरेको हो ।

अनुगमन टोलीले बिरुवा ढिला गरी आएको निष्कर्ष निकाल्दै बिरुवा हरिया नै रहेकाले छिटो वितरण गरेर कृषकलाई लगाइहाल्न सुझाव दिएको थियो ।

कृषि विकास कार्यालय प्रमुख धरालाले बिरुवा डोल्पासम्म ल्याइपु¥याउने नर्सरीलाई एक रुपैयाँ पनि नदिएकाले यदि बिरुवा नलागेमा भुक्तानी बन्द गरिने जानकारी दिनुभयो । लकडाउनका कारण करिब एक दुई महिना ढिला गरी बिरुवा आइपुगेको बताउँदै कृषकलाई समस्यामा पर्ने गरी काम नगरेको उहाँले बताउनुभयो । रासस





error: Content is protected !!