प्रतिपक्षी नेता देउवाको गम्भीर आरोप:प्रधानमन्त्री ओलीको सल्लाहमा नै भारतले नक्सा छाप्यो

भाषणले उठाएको प्रश्न:प्रमुख प्रतिपक्षी दलका नेताको यो अभिव्यक्तिले राष्ट्रियताप्रति जागरण बढायो कि नेताको बोलीप्रति विश्वास घटायो?

चारपटक देशको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी भिड तताउने मेसोमा राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएका छन् । देउवाले कास्की–२ को चुनावी भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीको स्वीकृतिमै भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको आरोप लगाएका हुन् ।

‘ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर निस्केको हो । भारतले त्यसै छापेकै होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो । ओलीको सहमतिविना त छाप्नै सक्दैन,’ देउवाले भने ।

देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा घुँडा टेक्दै लम्पसारवादमा परिणत भएको पनि टिप्पणी गरे । ‘ओलीले राष्ट्रवादका नाममा अघिल्लोपटक चुनाव जितेका होइनन् रु कहाँ छ त्यो राष्ट्रवाद अहिले रु त्यो राष्ट्रवाद त, ओलीको राष्ट्रवाद त अहिले कालापानीमा गएर समर्पणवादमा घुँडा टेकेको छ । ओली राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । त्यसकारण ओली राष्ट्रवादी नै होइनन्,’ उनले भने ।

ओली लम्पसारवादी हुन्, राष्ट्रवादी होइनन्’
ओलीले राष्ट्रवादका नाममा अघिल्लोपटक चुनाव जितेका होइनन् ? कहाँ छ त्यो राष्ट्रवाद अहिले ? त्यो राष्ट्रवाद त, ओलीको राष्ट्रवाद त अहिले कालापानीमा गएर समर्पणवादमा घुँडा टेकेको छ । ओली राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । त्यसकारण ओली राष्ट्रवादी नै होइनन् । ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर निस्केको हो । भारतले त्यसै छापेकै होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो । त्यसै छाप्छ ? ओलीको सहमतिविना त छाप्नै सक्दैन । म प्रधानमन्त्री भएका वेला महाकाली सन्धि भएको हो । महाकाली सन्धिमा महाकाली नदीलाई सीमानदी भनिएको छ, पानी आधा–आधा । कालापानी नेपालको
होइन ? लिपुलेक नेपालको होइन ? आज दुवै भारतलाई बुझाएर सबैभन्दा राष्ट्रघात गरेको छ । नेपालको एक इन्च जमिन पनि लान दिनुहुँदैन । चुनाव जित्न राष्ट्रवादको खोल ओढेर जनताका आँखामा छारो हालेका छन् ओलीले । यी कुनै राष्ट्रवादी नै होइनन् । लम्पसारवादी हुन् । 

ओलीको राष्ट्रवाद अब जनताले नपत्याउने देउवाले बताए । भारतले भूमि मिच्दा सरकार कानमा तेल हालेर बसेको उनले बताए । ‘कालापानी नेपालको होइन रु लिपुलेक नेपालको होइन रु आज दुवै भारतलाई बुझाएर सबैभन्दा राष्ट्रघात गरेको छ । नेपालको एक इन्च जमिन पनि लान दिनु हुँदैन । चुनाव जित्न राष्ट्रवादको खोल ओढेर जनताका आँखामा छारो हालेका छन् ओलीले । यी कुनै राष्ट्रवादी नै होइनन् । लम्पसारवादी हुन्’ उनले भने । सरकार अब पनि प्रजातान्त्रिक मूल्य र मान्यताविरुद्ध अघि बढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनी देउवाको छ ।

आफू प्रधानमन्त्री भएका वेला महाकाली सन्धि भएको र सन्धीले महाकालीलाई सीमा नदी मानेको दाबी गरे । ‘म प्रधानमन्त्री भएका बेला महाकाली सन्धी भएको हो । महाकाली सन्धीमा महाकाली नदीलाई सीमा नदी भनिएको छ, पानी आधा–आधा,’ उनले भने । हो, महाकाली सन्धि शेरबहादुर देउवा प्रधानमन्त्री भएकै वेला ०५२ सालमा भएको हो तर, सन्धीले महाकालीलाई सीमा नदी होइन, ‘अधिकांश भागमा सीमा नदी’ भनिएको छ । महाकाली केही ठाउँमा नेपालभित्र, केही ठाउँमा भारतभित्र पर्छ र अधिकांश ठाउँमा सीमानामै पर्छ भन्ने अर्थ लाग्ने जानकारहरू बताउँछन् । त्यस्तै देउवाले भनेजस्तो सो सन्धिमा महाकालीको पानी भारत र नेपाललाई आधा–आधा हुने भन्ने उल्लेख छैन । बरु, सन्धिअनुसार नेपालले टनकपुर र शारदा ब्यारेजबाट सिँचाइका लागि हिउँदमा ८०० र वर्षायाममा दुई हजार तीन सय ५० क्युसेक पानी पाउनुपर्ने हो । तर, अहिले शारदा ब्यारेजबाट मुस्किलले हिउँदमा १५० र वर्षायाममा ६५० क्युसेक पानी मात्र पाइरहेको छ । जबकि महाकाली नदीमा हिउँदमा पनि १० हजार क्युसेक पानी बग्छ ।

चुनावी सभामा देउवाले आसन्न उपनिर्वाचन जितेर कांग्रेसले सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन चाहेको पनि बताए । ‘केपी ओली सरकारलाई तिमी गलत बाटोमा छौ, अब सच्चिनुपर्छ भन्नकै लागि पनि यो उपनिर्वाचन कांग्रेसले जित्न आवश्यक छ,’ उनले भने । जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउन पनि कांग्रेसलाई जिताउन अपिल गरे ।

देउवाले वर्तमान सरकारले संवैधानिक परिषद्लाई शाही आयोगजस्तो बनाउन खोजेको भन्दै आपत्ति पनि जनाए । संवैधानिक परिषद्मार्फत सबै निकायमा सरकारले कब्जा गर्ने नियत राखेको उनको आरोप थियो ।

प्रतिनिधिसभा सदस्यका लागि एउटै मात्रै सिट कास्की–२ मा उपनिर्वाचन हुँदै छ । कांग्रेसका शीर्ष नेताहरू केही दिनदेखि पोखरामा केन्द्रित भएका छन् । शनिबारको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। सशांक कोइराला, केन्द्रीय सदस्य डा। रामशरण महत, युवा नेता गगनकुमार थापालगायत सहभागी थिए ।

सभापतिको भनाइ कसरी आयो म अचम्मित छु : डा. शेखर कोइराला, कांग्रेस नेता

सभापति शेरबहादुर देउवाले पोखराको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नयाँ नक्सा जारी गरेको दाबी उहाँले गर्नुभएको छ, यो कांग्रेसको आधिकारिक धारणा हो कि होइन ?

म पार्टीको कार्यक्रममा दाङ जाँदै छु । बाटोमा छु । सभापतिले के बोल्नुभयो, मैले सुनेको छैन । कुन सन्दर्भमा भाषणका क्रममा यो विषय उठाउनुभएको हो भन्न सक्दिनँ । तर, प्रधानमन्त्रीजीले नै पूर्वप्रधानमन्त्रीहरू, परराष्ट्रमन्त्रीहरू र परराष्ट्र मामलाका जानकारहरू राखेर सर्वदलीय बैठक गरी कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सहमति बनाउनुभएको हो । तर, कांग्रेस सभापतिको भनाइ कसरी र किन आयो म अचम्मित छु । म यति भन्न सक्छु– कुनै पनि विषय केन्द्रीय समितिमा छलफल भएर पारित भएपछि मात्रै पार्टीको आधिकारिक र संस्थागत धारणा हुन्छ ।

देउवा पूूर्वप्रधानमन्त्री तथा विपक्षी दलको नेता हुनुहुन्छ । उहाँजत्तिको नेताले लिखित या मौखिक सूचनाका आधारमा जिम्मेवारीपूर्वक बोल्नुपर्छ कि पर्दैन ? कि चुनावी सभामा जसो बोले पनि हुन्छ ?

सीमाको विषय गम्भीर हो । यो राष्ट्रियतासँग जोडिएको विषय हो । यस्ता विषयमा पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार नेतासँग केही सूचना भए प्रधानमन्त्रीसँग बसेर वार्ता गर्नुपर्छ । बाहिर बोल्ने विषय होइन ।

तर, सभापतिले नै बोलेको विषय कांग्रेसको आधिकारिक धारणा हुँदैन भने कसले बोलेको हुन्छ ?

सभापतिले बोल्नुभयो, पार्टीको केन्द्रीय समिति बैठक बसेको छैन । यो धारणालाई पार्टीको आधिकारिक बनाउन सभापतिले केन्द्रिय कार्यसमिति बैठकमा छलफल गराउनुपर्‍यो । आधिकारिक धारणा बन्ने कि नबन्ने त्यसपछि निश्चित हुन्छ । तर, लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा कांग्रेसले आधिकारिक धारणा बनाइसकेको छ । यो भूभाग नेपालको हो भनेर कांग्रेसले स्पष्ट भनिसकेको छ । यो विषयलाई कुटनीतिक र राजनीतिक हिसावले अगाडि बढाउनुपर्छ । अर्को उपाय हामीसँग छैन ।

यहाँ कुटनीतिक पहलभन्दा पनि प्रतिक्रिया बढी छ । चुनाव जित्न राष्ट्रियताका विषय हल्का भए भन्न मिल्छ कि मिल्दैन ?

सिमाको विषय अन्यन्त संवेदनशील हो । यस्तो विषयलाई उहाँले सार्वजनिक रुपमा यसरी नबोल्दा नै राम्रो हुन्थ्यो । उहाँसँग कुनै सूचना भए पनि नबोलेको भए बेस हुन्थ्यो । गम्भिर विषय भएकाले कुटनीतिक हिसावले नै जानुपर्छ ।

नयाँ नक्सा बनाउँदा भारतले प्रधानमन्त्री ओलीबाट सहमति पाएको हो भन्ने विषयमा कांग्रेसका नेताहरूबीच छलफल भएको छ कि छैन ?

प्रधानमन्त्रीले सहमति दिएका छन् कि छैनन् भनेर मैले भन्न सक्दिनँ । किनकि मलाई यस विषयमा जानकारी नै छैन् । अब हामीले पार्टी सभापतिले कुन सन्दर्भमा यस्तो गम्भिर विषय सार्वजनिक रुपमा उठाउनु भएको हो, त्यो हेर्नुपर्छ । अर्को, सीमा मिचिएको सन्दर्भमा सरकारले शुक्रबार नै भारत सरकारलाई ‘कुटनीतिक पत्रचार’ गरेको छ । त्यसमा के उल्लेख गरिएको छ, त्यसलाई पनि हामीले बुझ्नुपर्छ । हाम्रो जमीन हो भनेर पुष्टि गर्ने हरेक प्रमाण हामीसँग पर्याप्त मात्रामा छन् । कसैलाई लाञ्छना लगाएर राम्रो हुँदैन । राष्ट्रियताको विषय संवेदनशील हुन्छ, जुन एक भएर समस्याको समाधान निकाल्नु पर्छ ।

प्रधानमन्त्रीले साँच्चै मुलुकको भूमि अतिक्रमण गर्न भारतलाई सहमति दिएका हुन् भने चुनावी आमसभामा भाषण गरेर मात्रै पुग्छ कि, भूमि फिर्ता ल्याउने अठोट चाहिन्छ ? तपाईंको भनाइ के छ ?

सिमा मिचिएको विषय आन्दोलन गरेर समाधान हुने विषय होइन । नेपालमा मात्रै होइन, विश्वका अधिकांश मुलुकमा जमीनको लडाई हुन्छ, पानीको लडाइँ हुन्छ । लडाइँ भइरहेका उदाहरण पनि छन् । अमेरिका र क्यानडामा ‘नायग्रा फल्स’का विषयमा करिब दुई सय वर्षदेखि विवाद चलिरहेको छ । छिमेकी मुलुक भारतमा प्रदेश–प्रदेशबीचको लडाई करिव ७० वर्षदेखि चलिरहेको छ । भारत र चीनबीच सीमाका विषयमा लडाइँ हुँदै आएको छ । नेपाल र भारतबीचमा सिमाका विषयमा विवाद भइरहेको छ । यो विषय राजनीतिक विषय भएकाले राजनीतिक र कुटनीतिक हिसाबमा सल्टाउनु पर्छ । सिमाको विषय आन्दोलन गरेर सल्टिने म देख्दिनँ ।

कांग्रेसको चिन्तन दरिद्र अवस्थामा पुगिसकेछ : वामदेव गौतम, नेकपा नेता

प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको हो, ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिणत भइसकेको छ भन्नुभएको छ । यसमा सत्तारुढ दल नेकपाको प्रतिक्रिया के छ ? 

त्यसरी भन्नुभएको हो भने उहाँको दिव्यदृष्टि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भन्दा पनि तगडा हुनुपर्छ । देउवालाई त अब भगवान्को अवतारै भन्नुपर्ला । होइन भने योभन्दा ठूलो झुट र निराधार कुरा अरू केही पनि हुन सक्दैन । कांग्रेसमा राजनीतिक चिन्तनको स्खलन अत्यन्त दरिद्र अवस्थामा पुगिसकेछ, विचार अन्तिम–अन्तिम र अझ समाप्तिको अवस्थामा पुगिसकेछ भन्न सकिन्छ । कांग्रेसलाई योबाहेक अरू केही भन्न सकिन्न ।

प्रधानमन्त्रीले बालुवाटारमा डाकेको सर्वदलीय बैठकमा देउवा पनि हुनुहुन्थ्यो, त्यहाँ उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानीको मुद्दामा ओली सरकारले सम्झौता गरेको छ भन्दै असहमति राख्नुभएको थियो कि थिएन ?

आजसम्म यस्ता कुरा कसैले पनि भनेका थिएनन् । उहाँले कसरी भन्नुभो भन्न सकिन्न । त्यो उहाँको उटपट्याङ कुरा हो ।

सीमा समस्याका सम्बन्धमा अहिले नेपालले जुन पहल लिइरहेको छ, त्यसले हामीलाई सही बाटोमा लगिरहेको छ कि अझ अग्रसरता आवश्यक छ ? 
सकारात्मक पहल भइरहेको छ । अब लिम्पियाधुरासम्मको नेपाली भूभाग समेटिएको नक्सा हामीले तुरुन्त जारी गर्नुपर्छ । भारतीय फौज कालापानीबाट हटाउनका निम्ति नेपाल सरकारले भारतसँग तुरुन्त वार्ता सुरु गर्नुपर्छ । हामीले जोड दिएर तत्काल फौज हटाउन दबाब दिनुपर्छ ।

लिम्पियाधुरा मुहान भएको महाकाली नदीको पानीको उपयोगको सम्बन्धमा भएको महाकाली सन्धी अलपत्र छ । सन्धी कार्यान्वयन पनि भएको छैन, खारेज पनि भएको छैन । त्यो सन्धीको प्रखर विरोध तपाईंले गर्नुभएको हो । सन्धीमाथिको अन्यौल कसरी अन्त्य गर्ने होला ?

हो, महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धी नेपालले गरेको छ । त्यो त हामीले गलत छ भनेर विगतमा ठूलो आन्दोलन नै गर्‍यौं, आन्दोलनकै दौरानमा हामीले सबै कुरा थाहा पायौं । ३ सय ९५ वर्ग किमी भूमि मिचिएको थाहा पायौं । आन्दोलन गर्‍यौं, त्यसबेलै सजिलैसँग भूमि फिर्ता आउने सम्भावना देखेका थिएनौं । तर, हामीले अझ शक्तिका साथ पहल गर्नुपर्छ । लिम्पियाधुरादेखि कालापानीसम्मको अतिक्रमित भूमि तपाईंले कति समयभित्र फिर्ता गर्न सक्नुहुन्छ भनेर हिजोमात्रै कसैले सोधेको थियो । त्यहाँ मैले जवाफ दिएको छु– नेपालले एक डेढ वर्षभित्रमा मिचिएको भूमिबाट भारतीय सेना फर्काउनेछ र त्यसपछि हाम्रो भूमि सदासदाका लागि हामीसँगै रहनेछ ।





error: Content is protected !!