यसरी बनें काउली बुढी


गम्भीर प्रकृतिका फिल्म बढी रुचाउँथेँ, कमेडीतिर खासै रुचि थिएन । तर, कलाकारितामा संघर्षका क्रममा आफैँ कमेडियन बन्न पुगेँ । दर्शकले सन्ध्या बुढालाई भन्दा ‘काउली बुढी’लाई बढी चिन्नुहुन्छ । ‘नेपाल आइडल’मा सहभागी हुँदा जजहरूलाई म बुढी मान्छे हुँ जस्तो लागेको रहेछ । उहाँहरूले भन्नुभयो, ‘बुढी भनेको त भर्खरकी पो हुनुहुँदो रहेछ ।’ बिन्दास टिभीमा ‘काउली बुढी सो’ चलाउँथेँ । त्यतिवेला पत्रपत्रिका र सामाजिक सञ्जालमा ‘तरकारीवाली’ हिट थिइन् । मैले पनि तरकारीकै नाममा ‘काउली बुढी’ पात्र रोजेकी हुँ ।
एक सयभन्दा बढी लोकदोहोरी गीत गाएकी छु । कतिपय दर्शकलाई मैले लोकदोहोरी गाउँछु भन्ने थाहा छैन । भर्खर २३ वर्षमा हिँड्दै गरेकी युवतीलाई ७० वर्षकी बुढी बनाउन सजिलो छैन । मेकअपबाटै म ७० वर्षकी बन्ने हुँ । हतारका बेला बुढी बन्न मलाई करिब २० मिनेट लाग्छ । सुटिङका समयमा भने अरूले नै मेकअप गरिदिनुहुन्छ । त्यस्तो बेलामा मेकअप पूरा गर्न एक घन्टा नै लाग्छ ।










