फर्केर हेर्दा वर्ष २०७५ , यस्ता छन् सम्झनलायक १७ घटनाक्रम

काठमाडौं ः २०७५ साल समग्रमा मिश्रित वर्ष रह्यो । राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक क्षेत्रमा केही राम्रा काम भए पनि ती विवादरहित भने हुन सकेनन् ।

खासगरी लामो समयपछि नेपालमा बनेको स्थायी सरकारबाट जनताले राखेका आशा र अपेक्षा केही हदसम्म पूरा हुनेतर्फ गए पनि यतिमै सन्तोष मान्न सक्ने अवस्था भने छैन । २०७५ मा हाम्रो नजरमा परेका घटना, परिघटना, दुर्घटना, भ्रष्टाचार, विकासलगायतका विषयवस्तुलाई समेटेर पुनः स्मरण गराउने प्रयास गरेका छौँ ।

सीके मूलधारमा, विप्लव प्रतिबन्ध
२०७५ साल फागुन २४ गते सरकारले स्वतन्त्र मधेस गठबन्धनका सीके संयोजक राउतसँग ११ बुँदे सहमति गर्यो । स्वतन्त्र मधेसको मागसहित देश नै टुक्र्याउने अभियानमा लागेका राउतसँग भएको सो सहमतिसँगै उनको समूह मूलधारमा आएको घोषणा गरियो । राउतसँगको सहमति भएको चार दिनपछि सरकारले फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगायो ।
यी दुवै निर्णयको प्रतिपक्षी र सत्तापक्षबाटै पनि चर्को आलोचना भयो । सरकार र राउत समूहबीच ११ बुँदे सहमतिपछि राउत राजनीतिक मूलधारमा आएको सरकारी पक्षले दाबी गरे पनि सहमतिपछि पनि उनका गतिविधि शंकास्पद रहेको भन्दै केही दिन आलोचना भइरह्यो । देश टुक्र्याउने अभियानमा रहेका राउतलाई सहमतिमार्फत सरकारले नै वैधानिकता दिएको तथा राजनीतिक माग बोकेका विप्लवलाई प्रतिबन्ध लगाएर सरकारले नै द्वन्द्व निम्त्याएको भन्दै चिया पसलदेखि संसदसम्मै आलोचना भयो । विप्लवलाई प्रतिबन्ध लगाएपछि सरकारले उसका सयौँ नेता कार्यकर्ता पक्राउ गर्यो । प्रधानमन्त्री केपी ओलीले हतियार बुझाएर वार्तामा नआए चैतभरमा विप्लवलाई समेत पक्रने अभिव्यक्ति दिए । तर प्रधानमन्त्रीले दिएको समयसीमा पार हुन लाग्दासमेत विप्लव भने पक्राउ परेका छैनन् ।

दुई कम्युनिस्ट पार्टीको एकता घोषणा
२०७५ को सुरुवातमै नेपालका दुई ठूला कम्युनिस्ट घटक नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भयो । जेठ ३ गते पार्टी एकता घोषणासँगै एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राखियो । पुनर्गठित पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिस्ट पार्टी बन्यो । एसियामा चीन र भियतनामपछि ‘नेपाल कम्युनिस्ट पार्टी’ तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको छ ।

पुनर्गठित पार्टीको अध्यक्षमा महाधिवेशन नहुँदासम्म केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष रहने सहमतिअनुसार नेताहरु पार्टी एकता घोषणा गर्न सहमत भएका थिए । नेकपाको एकतासँगै सङ्घीय सरकार र ६ वटा प्रदेशका सरकार नेकपाको एकल बहुमतमा बन्यो । पुनर्गठित पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ रहने बताइयो ।

विवादमा तानिएपछि मन्त्री तामाङको राजीनामा
२०७५ सालमा केन्द्र सरकारका एक मन्त्री विवादमा तानिए । जसका कारण उनले पद नै छाड्नुपर्यो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बङ्गलादेशमा एमबीबीएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफ्नो शरीर अरुलाई सुम्पनुपर्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भयो । मन्त्री तामाङको सर्वत्र आलोचनापछि उनले साउन ८ गते पत्रकार सम्मेलन गरेर राजीनामा दिए ।

श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलन गरेका मन्त्री तामाङले आफूले महिला अधिकारका कुरा उठाएको तर त्यही कुराले आफूलाई लखेटेको राजीनामा दिने क्रममा बताएका थिए । तामाङको राजीनामापछि प्रधानमन्त्री केपी ओलीले कानुनमन्त्रीमा भानुभक्त ढकाललाई नियुुक्ति गरे ।

हेलिकप्टर दुर्घटना
२०७५ साल फागुन महिनामा नेपालले एक होनहार युवा नेता तथा मन्त्री गुमायो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले १५ फागुनमा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए । तेह्रथुमको चुहानडाँडामा विमानस्थल क्षेत्र अवलोकन गर्न पुगेको यो टोली बीचमै पाथिभरा ओर्लिएर उड्ने क्रममा यो दुखद् घटना हुन पुग्यो । भ्रमण वर्ष मनाइरहेको नेपालमा विभागीय मन्त्री नै हवाई दुर्घटनामा परेपछि अन्तर्राष्ट्रिय जगतमा त्यसको गलत सन्देश प्रवाह भयो ।

उक्त दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरेन्द्रप्रसाद श्रेष्ठ, धु्रव भोछिभया, उपसचिव युवराज दाहाल, मन्त्रीका पीएसओ जमदार अर्जुन घिमिरे र हेलिकप्टर पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत
न्यायाधीश दीपकराज जोशी न्यायालयको इतिहासमा संवैधानिक परिषद्बाट सिफारिस भएर पनि प्रधानन्यायाधीश हुन पाएनन् । संसदीय सुनुवाइ समितिले १८ साउनमा उनको प्रधानन्यायाधीश हुन अस्वीकृत गर्यो । जोशीलाई प्रधानन्यायाधीश जस्तो गरिमामय पदको जिम्मेवारी दिन उपयुक्त हुने कुनै पनि आधार नपाएको भन्दै समितिले जोशीको नाम अस्वीकृत गरेको हो ।

समितिले न्यायालयको नेतृत्वका लागि ठोस कार्ययोजना प्रस्तुत गर्न नसकेको र शैक्षिक प्रमाणपत्र सन्देहात्मक रहनुका साथै जन्ममितिसमेत फरक फरक भेटिएको भन्दै सत्तारुढ दलको दुई तिहाइ बहुमत जोशीको विपक्षमा उभिएको थियो ।

सरकारको सम्बन्धमा उत्तरचढाव
देश सङ्घीयताको बाटोमा अघि बढ्दै गर्दा २०७५ वर्ष सङ्घ र केन्द्र सरकारबीच त्यति सौहार्दपूर्ण वातावरण बन्न सकेन । मुख्यमन्त्रीहरुले भेला नै बोलाएर केन्द्र सरकारले आफूहरुलाई समयमा ऐन र अधिकार नदिएको भन्दै आलोचना गरे । यो अन्तरद्वन्द्वको अग्रभागमा रहे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत राउतले सिंहदरबारदेखि बालुवाटारसम्म पुगेर पटक–पटक अधिकारको केन्द्रीकरणविरुद्ध मुख खोले । यतिसम्मकी राउतले २८ वैशाख ०७५ मा जनकपुरको बाह्रबिघा मैदानमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित कार्यक्रममा ‘राज्य र संविधानको विभेदकारी नीतिका कारण मधेस पछाडि परेको’ बताए ।

वाइडबडी प्रकरण स् सत्तारुढदेखि प्रतिपक्षसम्म भूकम्प
नेपाल वायुसेवा निगमले किनेका दुईवटा वाइडबडी जहाज खरिद र त्यसमा भएको भ्रष्टाचार प्रकरण २०७५ मा निकै चर्चा पायो । सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएकोे निष्कर्षसहितको प्रतिवेदन पुस १८ मा आएपछि यसको चर्चा र आलोचना भएको हो । वाइडबडी जहाज खरिदमा बहालबाला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समेत दोषी ठहर गर्दै कारबाहीको सिफारिस गर्यो । तर यो घटनामा संलग्नलाई कारबाही भने अझै भएको छैन । यद्यपि अख्तियारले यसबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

कर्मचारी समायोजन औपचारिकता
सङ्घीयताको कार्यान्वयन गर्न आवाश्यक कर्मचारी खटाउन सरकारलाई निकै सकस भयो । अन्ततः विवादै विवादका बीच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया औपचारिकरुपमा टुङ्गिएको घोषणा गर्यो । मन्त्रालयले चैत १४ गते पत्रकार सम्मेलन गरेर एक लाख ३१ हजार कर्मचारी समायोजन गरेको घोषणा गरेको हो । मन्त्रालयले १३ महिना लगाएर कर्मचारी समायोजन सकेको जनाए पनि तीनवटै सरकारमा ठूलो सङ्ख्यामा कर्मचारीहरू खालि छन् । सरकारको घोषणा अनुसार केन्द्र सरकारमा ४८ हजार ४०९ दरबन्दी रहे पनि ४० हजार ७६९ जना मात्रै समायोजन भएका छन् । केन्द्रमै ७ हजार ६४० जना कर्मचारी नियुक्त गर्न बाँकी छ ।

त्यस्तै प्रदेशमा पनि ७ हजार ६३८ जना कर्मचारी खाली छ । प्रदेशमा २२ हजार २९७ कर्मचारी दरबन्दी भए पनि समायोजनबाट जम्मा १४ हजार ६५९ कर्मचारी मात्रै प्रदेश गएका छन् ।
स्थानीय तहमा ५० हजार ७९० कर्मचारी समायोजन भए पनि स्थानीय तहमा झण्डै १७ हजार जना कर्मचारी सङ्ख्या खालि छ । स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दी स्वीकृत भएको थियो ।

मोदीको नेपाल भ्रमण
धार्मिक भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए । वैशाख २८ गते शुक्रबार बिहान एयर इन्डियाको विमानमार्फत उनी सीधै जनकपुर आएका थिए । जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । त्यसपछि मोदीले जानकी मन्दिरमा पूजा गरेका थिए । उनलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए भने काठमाडौँ विमानस्थलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले । जानकी मन्दिरबाट दुवै देशका प्रधानमन्त्रीले जनकपुर अयोध्या बस सेवाको शुभारम्भ गर्नुका साथै रामायण सर्किटको उद्घाटन गरेका थिए । जनकपुरमा मोदीलाई अभिनन्दन गरिएको थियो । नागरिक अभिनन्दनपछि जनकपुरमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध त्रेतायुगदेखिको भएको बताएका थिए ।

नाकाबन्दीपछि पहिलोपल्ट मोदी २०७५ वैशाखमा नेपाल आएका हुन् । मोदीले प्रदेश नम्बर २ का लागि १ सय करोडको सहायता घोषणा गरेका थिए । नेपाल भ्रमणका क्रममा मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँगको भेटवार्तापछि होटल द्वारिकाजमा प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच एक्लाएक्लै वार्ता भएको थियो ।

लुट्नसके लुट कान्छा।।।
सामाजिक विसङ्गति, संस्कार र राजनीतिक जालझेलप्रति कटाक्ष गर्दै लोकगायक पशुपति शर्माले फागुन पहिलो साता ‘लुट्न सके लुट।।।’ गीत सार्वजनिक गरे । जुन गीतले वर्तमान शासकलाई प्रहार गरेको थियो । जुन तन्त्र आए पनि देश विकास नभएको नियतिप्रति रोष पोख्दै सार्वजनिक भएको उक्त गीतप्रति सरकारको असन्तुष्टि बढ्यो र औपचारिक अनौपचारिक दबबा बढेपछि गायक शर्माले युट्युबबाट हटाए । सरकारले औपचारिक रूपमा केही नभने पनि सत्तासीन नेकपा सम्बद्ध सङ्घसंस्थाले विज्ञप्ति नै निकालेरै गीत र पशुपतिलाई बहिष्कार गर्न आह्वान गरे । त्यस घटनापछि अभिव्यक्ति स्वतन्तत्रतामाथि अङ्कुश लगाएको भन्दै सरकारको आलोचना र शर्माको एकाएक चर्चा चुलियो ।

अख्तियारकै आयुक्त घुष प्रकरणमा मुछिए
भ्रष्टाचारीमाथि निगरानी गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्त नै घुस लिएको भिडियो सार्वजनिक भयो । आयुक्त राजनारायण पाठकले आफूले २ किस्ता गरेर ७८ लाख र भाइमार्फत १५ लाख गरी ९३ लाख रुपैयाँ घुस लिएको तथ्य सार्वजनिक भयो । यो घटनापछि पाठकले राजीनामा दिए । उनको राजीनामापछि अनुसन्धान भए पनि मुद्दा गुपचुपमै राखियो । पाठकमाथिको कारबाही के हुँदैछ भन्ने हालसम्म बाहिर आइसकेको छैन ।

लगानी सम्मेलन
चैत १५ र १६ मा नेपालमा दास्रो लगानी सम्मेलन सम्पन्न भयो । जसमा सरकार र निजी क्षेत्रले प्रस्तुत गरेका ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ । सम्मेलनमा १५ वटा परियोजनामा समझदारीसमेत भएको छ । सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ वटा गरी ७७ परियोजना ‘सोकेस’मा राखिएको थियो । २१ अप्रिलसम्म आवेदन दिने समय छुट्याइएको छ । ४० देशका करिब ७ सय लगानीकर्ता सम्मेलनमा सहभागी भए । नेपालको आर्थिक विकासमा कोसेढुङ्गा मानिएको लगानी सम्मेलन सरकारले अपेक्षा गरेअनुसार लगानीको प्रतिबद्धता भने नआएको टिप्पणी भयो ।

विवादमा एसिया प्यासिफिक सम्मेलन
मङ्सिर दोस्रो साता नेपालमा भएको ‘एसिया प्यासिफिक समिट, २०१८’ सम्पन्न नहुँदै विवादमा तानियो । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको समिटलाई ‘धर्म प्रचार’ गर्ने माध्यम भन्दै चर्को आलोचना भयो । अन्तर्रा्िष्ट्रय गैर सरकारी संस्था ९आईएनजीओ० युनिभर्सल पिस फेडरेसन–नेपाल ९यूपीएफ–नेपाल० मुख्य आयोजक रहेको यो समिटमा विश्वका ४५ देशबाट १ हजार ५ सयभन्दा बढी पाहुना सहभागी भएका थिए । समिटमा सहभागी हुन ७ देशका राष्ट्र तथा सरकार प्रमुख र ५ सयभन्दा बढी मन्त्री तथा सांसदहरु काठमाडौं आएका थिए ।

‘विवादास्पद आईएनजीओ’को निमन्त्रणामा आएका विदेशी पाहुनालाई सरकारले स्वागत सत्कार गरेपछि र आईएनजीओले नेपाल सरकारलाई सह–आयोजकको दर्जा प्रदान गरेपछि यो समिट थप विवादमा तानियो र यसको उद्देश्यमाथि पनि प्रश्न उठ्यो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम
सरकारले फागुन १ गते ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । रोजगारीको खोजीमा विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रयासस्वरुप सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएको हो । सरकारले ‘हाम्रो भविष्य, हाम्रो सरकार’ नारा दिएर बेरोजगारी सरकारको मुख्य चुनौती रहेको र यसविरुद्धको एक ऐतिहासिक घोषणा प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको जनाएको छ ।
कार्यक्रमको उद्देश्य पूरा भए अब मुलुकमा कोही पनि बेरोजगार नबस्ने सरकारी दाबी छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले काम खोज्ने र कामदार खोज्नलाई सूचीकृत गराउने प्रकृया अघि बढाइसकेको छ । जसअन्तर्गत स्थानीय तहमा रोजगार संयोजकको नियुक्तिसमेत सरकारले गरेको छ ।

रहस्यकै गर्भमा २ चर्चित प्रसङ्ग
वर्ष २०७५ भर अत्यधिक चर्चामा रहेका घटना हुन्– निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुन तस्करी प्रकरण । तर यी दुवै घटनाको चुरो अझै पनि पत्ता लागेको छैन । कञ्चनपुरकी निर्मला पन्तका हत्यारा र ३३ किलो सुनकाण्डका अभियुक्त को हुन् रु भन्ने विषयमा वर्षभरीको अनुसन्धानबाट पनि खुल्न नसकेपछि दुवै घटना रहस्यकै गर्भमा छन् । दुवै घटनामा सरकारी स्तरबाट गरिएका अनुसन्धान र छानविनले पूर्णता नपाएपछि आम मानिसमा सरकारप्रति संशय पैदा भएको छ । ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या २०७४ कै घटना भए पनि २०७५ मा यसबारे व्यापक अनुसन्धान र खोजबिन भएको थियो । त्यस्तै कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या भयो । हत्याराको पहिचान र कडा कारबाहीको माग गर्दै सडकदेखि सदनसम्म आन्दोलन भयो । उक्त घटनापछि निर्मलाका बाबुआमा महिनौँसम्म अनसन बसे । घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारी र अन्य गरी झण्डै एक दर्जन छानविन समितिहरु बने । कतिपयको जागिर नै गयो । तर पनि घटना अझै रहस्यमय नै छ ।

चर्चित व्यक्ति जो २०७५ मा रहेनन्
वर्ष २०७५ मा केही प्रतिष्ठित व्यक्तिहरूको मृत्यु भयो । जसमा बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री, वरिष्ठ सर्जन, पञ्चायतका सूत्रधारसमेत रहेका छन् । फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बहालवाला मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गयो । त्यसैगरी वृद्धभत्ताका सूत्राधार मानिने नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका भरतमोहन अधिकारीको फागुन १८ गते निधन भयो । २०५१ सालको कम्युनिस्ट सरकारका अर्थमन्त्री रहेका अधिकारी आफ्नो गाउँ आफै बनाउँ लगायत लोकप्रिय कार्यक्रमका योजनाकार थिए ।

यसअघि पुस ३ गते पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा। तुलसी गिरीको निधन भयो । लामो समयदेखि कलेजोसम्बन्धी रोगका कारण कमजोर बनेका गिरीको ९३ वर्षको उमेरमा निधन भएको हो ।

०१७ सालमा पञ्चायती व्यवस्था स्थापना गर्नुपूर्व नेपाली काँग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रूपमा चिनिन्थे । ०५९ सालमा पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गिरी मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए । वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटाको पनि असार ४ गते निधन भयो । पूर्वस्वास्थ्य मन्त्री समेत रहेका देवकोटाले नेपालमा जटिल खालका अप्रेसन गरेका थिए ।

नेकपामा प्रदेश सांसद उत्तरकुमार वलीको फागुन १० गते निधन भयो । माघ २४ गते कार दुर्घटनामा घाइते भएका सांसद वलीको फागुन १० गते निधन भएको थियो । भक्तपुर १ ९क० बाट निर्वाचित प्रदेश नम्बर ३ का नेकपा सांसद हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा निधन भयो । मस्तिष्कघातका कारण काठमाडौँको केएमसी अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो । यस्तै गण्डकी प्रदेश सांसद बागलुङ २ ९ख०का प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत मङ्सिर २७ मा निधन भयो । राष्ट्रिय जनमोर्चाका तर्फबाट उनी प्रत्यक्ष निर्वाचित सांसद थिए ।

करिब छ वर्षअघिदेखि अर्धचेत अवस्थामा रहेका काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको असोजमा बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भयो । मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको कात्तिक १८ गते मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा निधन भयो । पहिलो संविधानसभा सदस्य एवं उद्योगपति दिवाकर गोल्छा र गुल्मीका पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीको पनि चैतमा निधन भयो । यस्तै फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झाको २०७५को भदौ ४ गते काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भयो । सुतिरहेको ठाउँमा मृत फेला परेपछि अनुसन्धान गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले झाकै घरमा सुरक्षा गार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालिको काम गर्ने आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई नियन्त्रणमा लियो । तर, अनुसन्धानको क्रममा तिनैजनाको संलग्नता पुष्टि हुन नसकेपछि उनीहरु छुटे । महानगरीय अपराध महाशाखाले २४ दिन हिरासतमा राखेर सानुकान्छा, आइतसिंह र जय बहादुरबारे अनुसन्धान गरेको थियो ।

वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको फागुन १२ गते विराटनगरमा निधन भयो । पोखरेलले १ सय ३० भन्दा बढी पुस्तक लेखेका छन् ।

नेपालमै पहिलो स्याटेलाइट
भूउपग्रह वैज्ञानिकद्वय आभास मास्के र हरिराम श्रेष्ठले नेपालमा पहिलो स्याटेलाइट बनाए । जापानमा नेपाली आर्थिक स्रोत र जनशक्ति परिचालन गरी उनीहरुले नेपाललाई पहिलो भूउपग्रह नेपालीस्याट १ दिएपछि मास्के र श्रेष्ठको चर्चा चुलियो ।

नेपाल सरकारका तर्फबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी क्युटेक बीच सम्झौता भई करिब १ वर्ष ६ महिनामा नेपालीस्याट १ बर्ड्स९३० परियोजनाअन्तर्गत बनाइएको यो स्याटेलाइटले भविष्यमा उन्नत किसिमको तस्बिर आफै खिच्न सक्नेछ । निर्माण तथा परीक्षणपछि सञ्चालन तयारीमा रहेको नेपालीस्याटको प्रक्षेपण भने ०७६ वैशाख ४ गते हुँदैछ , रातोपाटी  ।





error: Content is protected !!