बर्थिङ्ग सेन्टरको सोलार वडाध्यक्षको घरमा

ओखलढुंगा ः ओखलढुंगाको सुनकोशी गाउँपालिका १ का वडाध्यक्ष दिपहरी राईले स्वास्थ्य चौकीको सोलार घरमा लगेर प्रयोग गरेका छन् । ईलाका स्वस्थ्य चौकी बलखुको बर्थिङ्ग सेन्टरको सोलार प्यानल वडाध्यक्षले निजी प्रयोगका लागि घर लगेका हुन् ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले स्वास्थ्य संस्थामा नयाँ सोलार जडान गरेपछि पुरानो सोलार वडाध्यक्षले घरमा लगेर प्रयोग गरेका हुन् ।

‘बर्थिङ्ग सेन्टरको मर्मतका क्रममा तार छुटाएर राखिएको सोलार जोड्न बाँकी थियो’, स्वास्थ्य चौकीका प्रमुख बरुण झाले भने, ‘स्वास्थ्य चौकीको छानोबाट निकालेर वडाध्यक्षले घर लानुभयो । नलानु पछि विरोध होला भन्दा मेरो कुरालाई सामान्य लिनुभयो ।’

उक्त सोलार विगत लामो समयदेखि चौकी र वर्थिङ सेन्टरमा वत्ति बाल्नका लागि प्रयोग गरिएको थियो ।

स्वास्थ्य चौकी अन्तर्गत सुरक्षित सुत्केरी केन्द्रमा प्रयोग गरिँदै आएको २ सय वाटको सोलार राईले करिब तीन महिना अघि आफ्नो घरमा लगेर प्रयोग गरेको स्वास्थ्य चौकीका एक कर्मचारीले बताए ।

स्वास्थ्य चौकीमा रहेको बर्थिङ्ग सेन्टरको सोलार आफुले लगेको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष दिपहरी राईले स्विकारेका छन् । घरमा रहेको सोलारको ब्याट्री ‘लो’ भएकोले चार्ज गर्न स्वास्थ्य चौकीको सोलार लगेको उनले बताए । ‘घरको सोलारको ब्याट्रि उठाउन ल्याएको हुँ, म फर्काउछु,’ उनले भने्, ‘फर्काउने गरि ल्याएको हुँ, फर्काउन ढिलो भएको मात्र हो ।’





error: Content is protected !!