पूर्वराष्ट्रपति भण्डारीको ‘वार्मअप’ र ओलीको बेचैनी

काठमाडौं ः गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा निरन्तर दुई कार्यकाल पूरा गरेर ‘रिटायर्ड’ भएकी विद्यादेवी भण्डारी यतिबेला राजनीतिक चर्चाको केन्द्रमा छिन्। चर्चा चुलिनुको प्रमुख कारण हो–शीतलनिवासबाट बिदा भएयता उनले देखाएको राजनीतिक सक्रियता।

नेकपा एमालेका पूर्व-उपाध्यक्षसमेत रहेकी भण्डारीले सक्रिय राजनीतिमा फर्कने गरी देखाएको सक्रियतालाई खासगरी दुई कोणबाट चर्चा गर्ने गरिएको छ। पहिलो ः देशकै सर्वोच्च पदमा रहिसकेको व्यक्ति पार्टी राजनीतिमा ओर्लिन खोज्नु र दोस्रो ः उनको राजनीतिक चर्चाबीच एमालेमा देखिएका र भविष्यमा देखिन सक्ने परिदृश्य।

राष्ट्रपति जस्तो देशकै सर्वोच्च पदमा रहिसकेको व्यक्ति पार्टी राजनीतिमा आउन नहुने एकथरी मत छ। संवैधानिक नैतिकताको प्रश्न उठाउँदै प्रबुद्ध वर्गको एउटा पंक्ति पूर्वराष्ट्रपति पार्टी राजनीतिमा ओर्लिन नहुने पक्षमा छ।

पदमा नरहँदा पनि राष्ट्र र संविधानको संरक्षकको अहम् दायित्व हुने हुँदा सक्रिय राजीतिमा नफर्किँदा नै राम्रो हुने उनीहरूको तर्क छ। संविधानविद्, कानुन व्यवसायी, दलकै कतिपय नेता, लेखक तथा विश्लेषक एवं नागरिक अगुवाले पनि पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनुलाई स्वाभाविक मानेका छैनन्।

तर, पूर्वराष्ट्रपति वा उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन कुनै कानुनी बन्देज भने छैन। त्यसैले अर्का थरीले भने सामान्य रूपमा लिएका छन्।

२०७२ कार्तिक ११ गते देशको प्रथम महिला राष्ट्रपति बनेर इतिहास रचेकी भण्डारी २९ फागुन ०७९ मा दोस्रो कार्यकाल पूरा गरेर बिदा भएर सरकारी सुविधा नलिई निजी तवरले बसेकी छन्।

पूर्वराष्ट्रपतिका रुपमा राज्यबाट पाउने आधा सेवासुविधा नलिएर सक्रिय राजनीतिमा फर्कने संकेत पहिल्यै गरेकी उनले एमालेको सदस्यतासमेत नवीकरण गराइसकेकी छन्। पार्टीकै ब्यानरमा हुने कार्यक्रमदेखि व्यक्तिगत भेटवार्ता तथा छलफल त उनका लागि सामान्य भइसकेका छन्।

पूर्वराष्ट्रपति भण्डारीको यही सक्रियताले एमालेमा देखिएको र भविष्यमा देखिन सक्ने परिदृश्यको विश्लेषण अर्को रोचक पक्ष हो। यो विषयलाई लिएर एमाले पंक्ति दुई खण्डमा विभाजित छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भण्डारीको राजनीतिक सक्रियताले बेचैन बनेका छन्।

ओली ११औँ महाधिवेशनमा फेरि अध्यक्ष बन्न चाहन्छन्। उनले तेस्रो कार्यकालका लागि अध्यक्ष दोहोरिने गरी आफूअनुकूल विधान संशोधन गरिसकेका छन्। सार्वजनिक रूपमै पनि ओलीले अरूलाई ‘आस नगर्न’ भन्दै आएका छन्। २३ चैत ०८० मा कास्की पुगेर उनले अझै २० वर्ष आफूले नेतृत्व लिने र अरू कसैले आशा नगरे पनि हुने बताएका थिए।

तर, एमालेमा पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन एउटा ठूलै पंक्ति सक्रिय रहको बताइन्छ। इतर पक्षका मात्र नभई विगतमा ओलीका कट्टर समर्थक मानिएकै कतिपय नेताहरू भण्डारीलाई एमालेमा फर्काउन प्रयासरत छन्।

ओलीले भण्डारी स्वयंलाई ‘धारे हात’ त लाएकै छन्, उनलाई पार्टीमा फर्काउन सक्रिय एमाले पंक्तिलाई समेत बेलाबखत चेतावनी दिन पछि परेका छैनन्।

गएको मंसिर अन्तिम साता स्थानीय तहमा पार्टी कामका समस्या समाधान विषयक राष्ट्रिय कार्यशाला बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘पूर्वराष्ट्रपतिकोमा गएर मानिसहरूले किन गल लगाउनुपर्‍यो ? किन उचालिराख्नुपर्‍यो ररु तपाईं आइदिनुपर्‍यो भनेर भन्नै परेन नि ! पार्टीमा आउने हो भने पनि सल्लाह गरेरै आउने हो। उहाँले बुझिहाल्नुहुन्छ नि।’

तर, पार्टीमा रचनात्मक मत राख्ने, बहस र तर्क गर्ने नेताहरूलाई किनारा लगाउने, अनि आफू जहिल्यै सर्वसम्मत देखिन खोज्ने प्रवृत्ति एमालेमा धेरैलाई मन परेको छैन। विवादित व्यापारिक घरानाबाट (मीनबहादुरबाट) अर्बौंको सहयोग लिन नहुने मत राखेकै भरमा पूर्वउपाध्यक्ष डा. भीम रावल, स्थायी समिति सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनामाथि कारबाहीको डण्डा बर्साउनुले त्यसमा ‘घ्यु थप्ने’ काम गरेको छ।

झन्डै पचास प्रतिशत सचिवालय सदस्यहरूको विमतिकैबीच रावललाई निष्कासन गरेका ओलीले पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेका हुन्। जसलाई ‘बिरालो कुटेर बुहारी तर्साउन खोजेको’ ओली रणनीतिका रूपमा अर्थ्याइएको छ। अर्थात् आफ्नो नीति र नेतृत्व स्वीकार नगर्नेलाई ठाउँ छैन भन्ने सन्देश दिन खोजेको आमबुझाइ छ।

एउटा प्रत्यासी (भीम रावल)लाई पन्छाए पनि पूर्वराष्ट्रपति भण्डारी ओलीको बाटो तगारो बन्ने निश्चितप्रायः छ। पार्टीमा ओलीविरोधी मत बढेको मात्रै छैन, उनी अल्पमतमा समेत परिसकको विश्लेषण हुँदै आएको छ। यद्यपि, यसबारे एमालेका दुवै पक्षीय नेताहरू खुलेका छैनन्।

तर, केन्द्रीय कमिटी बैठकमा एमालेभित्र उकुसमुकुस भएर बसेको विषय विस्फोट हुने सम्भवाना छ। भण्डारीको सक्रियतासँगै बैठकमा यी विषयमा उठ्न सक्ने देखेपछि बिहीबार ओलीले भण्डारीसँग अर्थपूर्ण भेट गरे।

पार्टीको सचिवालय बैठकबाट हतारिएर निस्केका अध्यक्ष ओली स्वयं भण्डारीलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए। करिब दुई घण्टा लामो भेटमा ओली र भण्डारीबीच के कुराकानी भयोरु भन्ने विषय दुवै पक्षले बाहिर ल्याउन चोहका छैनन्। यसबारे प्रश्न गर्दा उनीहरूको जवाफ आउँछ– सामसामयिक विषयमा कुराकानी भएको हो। अरू केही होइन।

नेताहरूले सामान्य भने तापनि उनीहरूबीचको भेटवार्ताको मुख्य विषय भण्डारीको सक्रियताकै विषयमा केन्द्रित थियो भनेर सहजै अनुमान लगाउन सकिन्छ। प्रधानमन्त्री जस्तो सबैभन्दा व्यस्त व्यक्तिले एउटा भेटवार्तामा घण्टौँ बिताउनुले पनि यही पुष्टि गर्छ।

पार्टीमा विरोधी मत बढिरहेका बेला २१ पुसदेखि बस्ने केन्द्रीय कमिटीमा भण्डारीको सक्रियतासहित पछिल्लो घटनाक्रमबारे एउटा निष्कर्षमा पुग्नुपर्ने दबाब ओलीमा छ। त्यसअघि नै एउटा समझदारी बनाउने प्रयासस्वरूप ओली भण्डारी निवास पुगेको देखिन्छ। थाहाखबर





error: Content is protected !!