माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने
काठमाडौँ ः सरकारले माघ २२ गतेबाट १६ लाख बालबालिकालाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी)खोप अभियान सुरु गर्ने भएको छ।
देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो।
स्वास्थ्य पत्रकार मञ्च, नेपाल र राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा एचपिभी खोप सम्बन्धी सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा यस्तो कुराको जानकारी दिइएको हो।
परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले विद्यालय जाने ६ देखि १० कक्षामा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई लगाउने डा. गौतमले जानकारी दिनुभयो।
यो भन्दा पहिले आर्थिक वर्ष २०७२/७३,७३/७४ मा गाभीको सहयोगमा दुई वर्ष चितवन र कास्की जिल्लामा परीक्षण कार्यक्रमको रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिएको थियो।
डा. गौतमका अनुसार यो खोप ह्युमन प्यापिलोमा भाइरबाट हुने पाठघेरको मुखको क्यान्सरबाट सुरक्षित गर्छ। डा. गौतमका अनुसार यो खोप एचपिभी प्रजाति १६ र १८ को कारणबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सरबाट हुनबाट सुरक्षित गर्दछ।
विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरयुक्त भन्दै प्रमाणित खोप मात्र नेपालमा खरिद आपूर्ति गरिन्छ र यो खोप नेपालमा प्रयोग गर्नको लागि औषधी व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको छ।
यो खोप ९८ देखि १०० सम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ। यो खोप १० देखि १४ वर्ष उमेरका किशोरीलाई १ मात्रा डोज दिए पुग्छ। यो खोप ०.५ एमएल पुग्ने डा. गौतम बताउनुहुन्छ। खोप सुइको माध्यमबाट बायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ।
यो खोप लक्षित समूहबाहेक अन्य व्यक्ति, गर्भवती, पहिला कुनै खोप लगाउँदा विगतमा गम्भीर एलर्जी प्रतिक्रिया भएको वा एनाफाइलेक्सिस प्रतिक्रिया भएको व्यक्ति, एचपिभी खोपमा भएका कुनै तत्त्वबाट गम्भीर एलर्जी भएको व्यक्तिले लगाउनु हुँदैन।
पाँच लाख पाठेघरको मुखको क्यान्सर
महिलामा पाठेघरको मुखको क्यान्सर चौथौ मुख्य क्यान्सर रहेको छ। ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुने सङ्ख्या न्युन आय भएका र मध्यम आय भएका देशमा देखिएको छ।
नेपालमा महिलामा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण हो। मृत्युको भने पहिलो कारण हो।
पाठेघरको मुखको क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलामा हुने गर्छ। यो सङ्ख्या सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ।
विश्वमा हरेक वर्ष तीन लाख ११ हजारको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गर्छ। यो सङ्ख्या सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ।
नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ। हरेक वर्ष एक हजार एक हजार ३१३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ जसअनुसार औसतमा प्रत्येक दिन चार जनामा पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ।
क्यान्सर रोग विशेष डा. सरिता घिमिरेका अनुसार पाठेघरमा भएका कोशिकाको अनियन्त्रित विकासले गर्दा क्यान्सर हुने गर्छ। यो एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्छ। सूर्तीजन्य वस्तु, खानपान, अत्याधिक चिल्लो खाना, नुन बढी भएको खाना, धुवाँमा सेकाएको मासु ढुसी परेको खानेकुरा ,बासी खानेकुरा, वंशाणुगत कारण विकीरण जीवाणुका कारणले गर्दा क्यान्सर हुने डा. घिमिरे बताउनुहुन्छ। स्रोत ः गोरखापत्र