भेरी–बबई डाइभर्सन निर्माणमा किन भइरहेको छ विलम्ब ?
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
तोकिएको समयअगावै सुरुङ निर्माण भएर चर्चा कमाएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणले अपेक्षित गति लिन सकेको छैन । ३ वैशाख २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेतको भेरीगङ्गा– ११ स्थित चिप्लेमा १२ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ गरेका थिए । अत्याधुनिक प्रविधिको प्रयोगमार्फत तोकिएको मितिभन्दा एक वर्षअगावै सुरुङको ब्रेक थ्रु भएर चर्चा कमाएको आयोजनाको दोस्रो चरणको काम भने धिमा गतिमा चलिरहेको छ ।
२० कात्तिक २०७४ देखि सुरु भएको सुरुङ निर्माणको काम १५ चैत २०७६ मा सक्ने सम्झौता थियो । यद्यपि, नेपालमा पहिलोपटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेसिन टीबीएम को सहायताले एक वर्षअगावै सुरुङ निर्माण सम्पन्न भएको थियो । सुरुङ निर्माणको गतिले आर्थिक वर्ष २०७७/०७८ मै सम्पन्न हुने भनेर चर्चा पाएको आयोजनाले हालसम्म जम्मा ६५.९ प्रतिशत भौतिक प्रगति प्राप्त गरेको छ । हाल आयोजनाको टनेल निर्माण कार्य शतप्रतिशत सम्पन्न भएको छ भने सिभिल निर्माणको कार्य ५५ प्रतिशत, हाइड्रोमेकानिकल ३९ प्रतिशत, इलेक्ट्रोमेकानिकल ३० प्रतिशत र प्रसारण लाइन निर्माणमा ५ प्रतिशत भौतिक प्रगति भएको छ । पहिलो चरणको कामले गति लिएको आयोजनाको निर्माणमा विलम्ब हुँदा समयसँगै लागत बढ्ने देखिएको छ ।
आयोजना अघि बढाउँदा कुल ३३ अर्ब नेपाली रुपैयाँ लागत लाग्ने अनुमान गरिएको भए पनि निर्माणमा विलम्ब हुँदा निर्माण सम्पन्न हुँदासम्म आयोजनाको कुल लागत ४५ अर्बभन्दा बढी पुग्न सक्ने आकलन गरिएको छ, जसमा सुरुङ निर्माणका लागि करिब १० अर्ब, सिँचाइ संरचनाका लागि करिब ३० अर्ब, ४८ मेगावाट जलविद्युत् उत्पादनका लागि ५ अर्बभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । यो आयोजना नेपालका ठूला सिँचाइ परियोजनामध्ये एक हो, जसले भेरी नदीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको झण्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइसँगै ४६ मेगावाट बिजुली निकाल्ने लक्ष्य राखेको छ ।
किन भइरहेको छ आयोजना निर्माणमा विलम्ब
आर्थिक वर्ष २०६८र०६९ बाट सुरु भएको भेरी–बबई बहुउद्देश्यीय आयोजना आर्थिक वर्ष २०७७र०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, उक्त सम्झौताअनुसार काम सम्पन्न नभएपछि आयोजनालाई आर्थिक वर्ष २०७९र०८० सम्म म्याद थप गरिएको थियो । म्याद थप भएको उक्त समयमा पनि काम सम्पन्न नभएपछि हाल आयोजनाले २०८४र०८५ सम्म थप म्याद पाएको छ । यद्यपि यो मितिमा पनि परियोजना सम्पन्न हुनेमा आशङ्का छ । आयोजना समयमै पूरा नहुनुको पहिलो कारण आयोजना निर्माण प्रक्रिया नै ढिलो गरी सुरु हुनु हो । दोस्रो कारण सुरुङपछि मात्र बाँध बनाउन थाल्नुले भेरी–बबई डाइभर्सन आयोजना लम्बिनुको अर्को कारण हो ।
यस्तै, आयोजना लम्बिनुको तेस्रो कारण कोरोना महामारीले निर्माण कार्यमा असर पुग्नु हो । आयोजना लम्बिनुको चौथो कारण यसमा काम गरिरहेको विदेशी कम्पनी कालो सूचीमा पर्नु हो । २०७० बाटै सुरु भइसक्नुपर्ने आयोजना दुई वर्ष ढिला गरी २०७२ मा कार्यान्वयनको तहमा गएको थियो । त्यसपछि पनि झण्डै एक वर्ष सुरुङ खन्ने काम नै सुरु हुन सकेन । सुरुङ निर्माणमा संलग्न चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप लिमिटेड ९कोभेक० लाई ठेक्का पर्नुअघि अनुभव नभएकोे भन्दै विरोध भएपछि समयमै सम्झौता हुन नसक्दा आयोजना थप लम्बिएको हो । सुरुमा विरोध भए पनि अन्तिममा २०७२ मा सरकारले कोभेकसँगै सम्झौता गरेको थियो । तोकिएकै समयमा आयोजना कार्यान्वयनको तहमा गएको भए २०७५ को मध्यसम्म सुरुङ बनिसकेको हुने थियो ।
यस्तै, कोरोना महामारीका कारण सिर्जित लकडाउनले आयोजना थप दुई वर्ष पछि धकेलिएको थियो । कोरोनाअघि बाँधलगायतका काम गर्ने गरी ग्वाङडोङ युयानटियान रमण जेभी र आयोजनाबीच सम्झौता भएको थियो । ३० साउन २०७६ मा चार वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तर, कोरोना महामारीका कारण निर्माण कार्यमा प्रभाव परेपछि दुई वर्ष म्याद थप भएको थियो । पछिल्लोपटक थपिएको म्यादमा १ असोज २०८२ भित्र काम पूरा गरिसक्नुपर्ने थियो । यद्यपि उक्त समयमा पनि आयोजनाले पूर्णता पाउन सकेन ।
आयोजनामा परामर्शदाताका रूपमा काम गरिरहेको विदेशी कम्पनी कालो सूचीमा पर्नुले पनि आयोजनामा प्रभाव परेको थियो । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा तीन वर्षदेखि परामर्शदाताका रूपमा काम गरिरहेको इरानी कम्पनी कालो सूचीमा परेपछि आयोजना लम्बिन पुगेको हो । २०७६ असोजमा इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इञ्जिनियरिङ ९एमजीसीई० सँगको सम्झौता २०७९ माघमा रद्द भएको थियो । तत्कालीन समयमा अमेरिकाले इरानलाई आतंकवादको सूचीमा राख्दै आफ्नो कोष विभागअन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालयमार्फत एमजीसीईलाई कालो सूचीमा राखेपछिको प्रभाव आयोजनामा परेको थियो ।
भेरी–बबई डाइभर्सन आयोजनाका प्रमुख रणबहादुर बम कोरोना महामारी तथा अन्य प्रशासनिक प्रक्रियाका कारणले आयोजना लम्बिन पुगेको बताउँछन् । आयोजना लम्बिएसँगै थप आर्थिक व्ययभार थपिने बताउँदै उनले हाल बाँधतर्फ बनाउनुपर्ने ६ वटा ढोकामध्ये दुईवटाको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख बमले बताए । ‘दुईवटा ढोकाको काम पूरा भएपछि अन्य चारवटा ढोकाको काम सुरु हुन्छ,’ उनले भने, ‘बाढीले बाँध भत्काएका कारणले पनि निर्माणमा ढिलाइसँगै लागत बढेको हो ।’ त्यस्तै, चिप्लेमा बाँधको कामसँगै बबईतर्फको हात्तीखालमा विद्युत्गृहको जग खन्ने काम भइरहेको आयोजना प्रमुख बमले बताए ।
यस्तो छ भौतिक प्रगति
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कुल लागत ३३ अर्ब १९ करोड ९६ लाख ६४ हजारबराबरको लागत लाग्ने अनुमान गरिएको छ । आयोजनाले हालसम्म १६ अर्ब ५८ करोड ३९ लाख खर्च भएको छ । यो कुल बजेटको ४९.९६ प्रतिशत वित्तीय प्रगति हो । हालसम्म आयोजनाले ६५.९ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्षमा आयोजनाका लागि १ अर्ब ८० करोड १९ लाख ९८ हजार रुपैयाँबराबरको बजेट विनियोजन भएको छ, जसमा असोज मसान्तसम्म १० करोड ३५ लाख रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ५.७५ प्रतिशत वित्तीय प्रगति हो भने, यस अवधिमा १५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)