गाभरको किन बढदैछ महत्व ?

शान्ति सुनार
कोहलपुर ः स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले होमस्टे स्थापना गरिएको बाँकेको गाभर क्षेत्रमा पर्यटक बढ्दै जाँदा होटल व्यवसायमा लगानी थपिंदै गएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको छेउमा रहेको गाभर भ्याली निकै रमणीय रहेको तथा त्यहाँबाट बाघलगायतका दुर्लभ जनावरसमेत देख्न सकिने हुँदा गाभरमा जाने पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

सोही कारणले त्यहाँ पर्यटन व्यवसायीले विभिन्न होटल, होमस्टे र अन्य पर्यटकीय क्षेत्रमा लगानी थपिरहेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बताए ।

उनका अनुसार गाभर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्षित गरी यहाँ सञ्चालित सामुदायिक घरबासले पनि धमाधम स्तरोन्नति गर्न थालेका छन् । यहाँ सुविधासम्पन्न रिसोर्ट पनि थपिएका छन् ।

पर्यटकलाई स्तरीय सेवा दिन लगानी थप गरी यहाँका होमस्टे र होटलको स्तरोन्नति भइरहेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष चौधरीले बताए । आन्तरिक पर्यटकलाई अधिकतम सुविधा दिँदै बाह्य पर्यटकलाई समेत लक्षित गरी होमस्टेमा लगानी थप भइरहेको उनको भनाइ छ ।

बिशषगरी भारतका पर्यटकलाई लक्षित गरेर गाभर भ्यालीमा पछिल्लो पटक १२ करोड रुपियाँको लगानीमा सुविधा सम्पन्न बिसौनी ग्रिनरी रिसोर्ट सञ्चालनमा ल्याइएको छ ।

गाभरमा स्थानीय स्वाद, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रिसोर्ट सञ्चालन गरिएको रिसोर्टका महाप्रबन्धक केशवप्रसाद चालिसेले बताए ।

अर्गानिक माछा मासु तथा तरकारीका लागि पाँच बिघा क्षेत्रफलको जमिनमा होटलले आफ्नै अष्ट्रिज, हाँस, लोकल कुखुराको फार्म, माछापोखरी पनि सञ्चालन गर्दैआएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित बिसौनी रिसोर्टले पर्यटन प्रवर्धनका लागि पदयात्रा, गाडी, घोडा र साइकल चढेर जङ्गल सफारीको व्यवस्था गरेको महाप्रबन्धक चालिसेले बताए ।

रत्न राजमार्गदेखि करिब ७०० मिटरभित्र मिनी गाभरक्षेत्रमा रहेको बिसौनी ग्रिनरी रिसोर्टमा मार्सी चामलको भात, थारु समुदायका परिकार, घोँगीसमेत पाहुनालाई उपलब्ध गराउने गरेको रिसोर्ट सञ्चालकको भनाइ छ ।

होटलका आकर्षक भवन संरचना प्रवेशद्वारमै रहेको झरना लगायतको हरियाली वातावरणले पाहुनालाई आकर्षित गर्ने गरेको छ । होटलका प्रबन्ध निर्देशक उपेन्द्रकुमार शाहीले हालसम्म १२ करोड रुपियाँ लगानी भइसकेको र अझै धेरै संरचना निर्माणका क्रममा रहेकाले लगानी थपिंदै जाने बताए ।

गाभरमा बिसौनी रिसोर्ट सञ्चालनमा आएपछि अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । बर्दिया, सुर्खेत, नेपालगन्ज, र कोहलपुरलगायत छिमेकी भारतका नजिकका ठाउँबाट दैनिक रुपमा घुम्न र बस्न आउने पाहुनाको सङ्ख्या पनि बढ्दै गएको छ ।

के छ गाभरको महत्व ?
गाभर भ्याली पर्यटकीय क्षेत्रका रूपमा उदाएको धेरै भएको छैन । ७–८ वर्ष अघिसम्म गुमनामजस्तै थियो । पिछडिएको ठाउँको रूपमा हेरिन्थ्यो । बाँच्ने आधार खेतीपाती । गाभर भ्यालीका केही बासिन्दालाई विगतमा मेलापातकै भरमा जीवन चलाउन गाह्रो–गाह्रो थियो । डाँडामा गोलाकार बस्ती । बीच खाल्डोमा खेतीयोग्य जमिन । एकान्त ठाउँ, स्वच्छ र रमणीय वातावरण लिएर बसेको गाभर भ्यालीले त्यहाँ पुग्ने जो कोहीको पनि तनाव दूर गरिदिन्छ । बाँकेस्थित गाभर भ्याली पुग्न रत्न राजमार्गबाट झण्डै डेढ किलोमिटर जंगल छिचोल्नुपर्छ । यहाँ पुग्ने पर्यटकहरूले प्रकृतिसँग साक्षात्कार गर्ने अवसर पाउँछन् ।

झन् चराहरूको चिरबिर आवाजले मन्त्रमुग्ध बनाउँछ । केही दूरीमै जंगली जनावरहरू देख्न पाइन्छ । रातमा जंगली जनावरहरू बस्ती नजिक पनि आउने गरेका छन् । यहाँ पुग्ने पर्यटकहरू प्रकृतिसँग रमाउन पाउने हुँदा तनाव भुल्ने गर्छन् । अहिले ग्रामीण पर्यटकीय गाउँको रुपमा परिचित छ, गाभर भ्याली । होमस्टे सञ्चालन भएसँगै गाउँको मुहार मात्र फेरिएकै छैन, स्थानीयको आर्थिक स्तरसमेत माथि उकासिएको छ । गाउँमा होमस्टे चलेसँगै स्थानीयको जीवनस्तर पहिले हेरी अहिले उकासिएको महसुस भएको गाभर भ्यालीमा होमस्टे चलाउँदै आएका बाबुराम चौधरी बताउँछन् ।

‘गाउँमा आवश्यक विकासका पूर्वाधारसमेत थिएनन् । पहिले खेतीपाती र मेलापातको भरमा जीवन धान्न अलिक गाह्रो थियो । गाउँमा होमस्टे चलेपछि अहिले आय–आर्जनको बाटो खुलेको छ । स्थानीयको जीवनस्तर उकासिएको छ,’ उनी भन्छन्, ‘गाभर भ्याली अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठाउँमा परिचित छ । गाभर भ्यालीको नामबाट आफूहरु चिनिन पाउँदा खुशी लाग्छ ।’ गाभर भ्यालीमा अहिले दैनिक उल्लेख्य संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु पुगिरहन्छन् । पहिले खेतीपाती गरेर जीवन गुजार्ने स्थानीयले अहिले होमस्टे व्यवसायबाटै सजिलैसँग जीवन चलाएका छन् ।

यहाँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि भारत एवम् तेस्रो मुलुक जाने गर्थे । गाउँमा रोजगारीको माध्यम नहुँदा जीविकोपार्जनको बाध्यता थियो वैदेशिक रोजगारी । जंगलले घेरिएको गाभर भ्यालीमा एक घरदेखि अर्को घरसम्मको दूरी निकै टाढा छ । त्यसैले त सुगम जिल्लाको दुर्गम ठाउँजस्तो बनेको थियो गाभर । अझ रोचक त के भने हिमाल, पहाड र तराईका समुदायको मिश्रित बस्ती छ यहाँ । चालचलननै फरक । त्यो गाउँमा पुग्नै कठिन । न सडक थियो न त आवश्यक परेका बेला एम्बुलेन्स नै जान सक्थ्यो । तर, अहिले भने गाभरको रूप फेरिएको छ । गाभरमा कायापलट ल्याउने प्रमुख माध्यम हो, होमस्टे ।

गाभर भ्यालीका स्थानीयले पहिले खेतीपाती गर्थे । उत्पादनले तीन चार महिना पनि थेग्थेन । अहिले होमस्टे चलाएपछि गाभर भ्यालीमा विभिन्न ठाउँबाट पाहुना ओइरिन्छन् । होमस्टे सञ्चालन गरेसँगै स्थानीयको जीवनस्तर उकासिएको छ । ‘पहिले त गाह्रो थियो । अहिले होमस्टे चलाएपछि त जीवन चलाउन निकै सहज भएको छ,’ बाबुरामले भने । गाभर भ्यालीमा दैनिक ४०–५० आन्तरिक पर्यटक आउने उनी बताउँछन् । ‘कहिले एकदमै धेरै पर्यटक आउनुहुन्छ । दिनमा कम्तीमा पनि ४०–५० जना पर्यटक त आउनुहुन्छ,’ उनले थपे, ‘पर्यटकको चाप बढेको समयमा त महिनामा ५०–६० हजारसम्म आम्दानी हुन्छ ।’ गाभर भ्याली सामुदायिक होमस्टे २०७१ बाट सञ्चालनमा आएको हो ।

होमस्टेकै कारण आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुने गर्छ । हिमालदेखि तराईसम्मका भेषभूषा, त्यस्तै परिकारको स्वाद र सांस्कृतिक रहनसहन रहेकाले पनि पर्यटकको संख्या बढ्दै गएको हो । हिजो फुर्सदमा दिन विताइरहेका गाभरका महिलाहरू अहिले घरधन्दाबाटै कमाउन थालेका छन् । पुरुषहरू वैदेशिक रोजगारीमा जाने र महिला घरकै कामकाज सकेपछि फुर्सदिला हुन्थे । होमस्टे सञ्चालकलाई मात्रै होइन, गाउँका अन्य स्थानीयलाई पनि यसले फाइदा पुर्याएको छ । गाउँमा फलाएका तरकारी बिक्रीका लागि बजार लैजानु परेको छैन । होमस्टेमा नै तरकारी, कुखुरा, दुनाटपरी बिक्री हुने गर्छ । यसबाट स्थानीयले गाउँमै आर्थिक उपार्जन गर्न सफल भएका छन् । होमस्टेको शुुरुआत भएसँगै यहाँ पुग्नका लागि सडक निर्माण भयो ।





error: Content is protected !!