घर जलेपछि पीडितको बिचल्ली

कालीकोट ः तिलागुफा नगरपालिका–६ जुविथाकी ४८ वर्षीया लक्ष्मी शाही गत बुधबार बिहान घाँस काट्न मेला (खर पाखो्र) गएकी थिइन् । उनीसँगै छोरा र दुई छोरी पनि थिए । एक्कासि गाउँमा आगो लागेको खबर छिमेकीले सुनाए । उनी आइपुगुञ्जेल घर जलेर खरानी भइसकेको थियो ।
ज्याला मजदुरीका लागि भारत गएका पति नरेन्द्रको दुई वर्षअघि मृत्यु भएपछि एक छोरा र दुई छोरीको लालनपालन र शिक्षाको जिम्मा उनैको काँधमा छ ।
‘मेरो त सहारा पनि छैनन्,’ लक्ष्मीले गुनासो पोखिन्, ‘घरमा भएको केही पनि रहेन, सबै जलेर खरानी भयो । दुःखमाथि दुःख थपियो ।’ आगलागीमा अन्नपात, लुगाफाटो, छोरोछोरीका किताबकापी सबै जलेको उनले बताइन् ।
स्थानीय सत्यदेवी माविमा १० कक्षामा पढ्ने छोरा दिनेशले लगाएको पाइन्ट र टिर्सटबाहेक केही बाँकी नरहेको बताए । यस वर्ष एसईईको तयारी गरिरहेका दिनेशलाई किताबकापी र हालसम्म बनाएका नोट जलेकोमा बढी चिन्ता छ । उनीहरू छिमेकीको घरमा बसिरहेका छन् ।
आगलागीमा घर जलेपछि तेजबहादुर शाहीको ४ जनाको परिवारको पनि बिचल्ली छ । उनका २ र ५ वर्षका छोरा छन् । उनीहरूले बुधबारको साँझ छिमेकी सागर शाहीको घरमा रात काटे भने बिहीबार जिल्ला प्रशासनको अगुवाइमा संघसंस्थाले दिएको पाल टाँगेर रात काटे ।
‘दुई ब्ल्याकेट दिएका थिए । त्यही ओडेर सुत्यौं,’ तेजबहादुरले भने, ‘घरविहीन हुँदा आपत् पर्यो ।’ छिमकी दाजुभाइले एकसरो भाँडाकुँडा र खाने अन्न दिएको उनले बताए ।
घर जलेर पूर्ण क्षति भएका ४४ वर्षीय कृष्णबहादुर शाहीको ८ जनाको परिवार पनि पालको भरमा बसेको छ । आगोले लत्ताकपडा सबै जलेपछि उनकी ८२ वर्षीया वृद्धा आमा मिमकोशा, पत्नी राजकौरा, ३ छोरी र दुई छोरालाई जाडोबाट बचाउन मुस्किल छ । ‘न खाने चारो, नबस्ने बास, बाँच्नै मुस्किल पर्ने भयो,’ कृष्णबहादुरले भने, ‘पालको भरमा जुविथाको चिसो थेग्न सकिने अवस्था छैन ।’
बुधबार दिउँसो जुविथा गाउँमा भएको आगलागीबाट ३ घरमा बसिरहेका २६ परिवारको लक्ष्मी, तेजबहादुर र कृष्णबहादुरको जस्तै अवस्था छ ।
जिल्ला प्रशासन र संघसंस्थाहरूले एक त्रिपाल र दुई कम्बल दिए पनि पर्याप्त नभएको पीडित मनराज शाहीले बताए । ‘खानेकुरा त जेनतेन गाउँका दाजुभाइले थोरै भए पनि सहयोग गरी हाल्लान् । बस्ने बासकै पिरलो छ,’ उनले भने, ‘आगोले नजलेका घरमा पनि बस्ने ठाउँ नहुँदा समस्या परेको छ । चिसोमा त्रिपालमा कसरी बस्ने हो रु’
विद्युत् लाइन सर्ट भएर आगलागी भएको हो । सबै परिवारका सदस्य कोही धान र खर काट्न गएका बेला आगलागी भएकाले मानवीय क्षति जोगिएको थियो । यहाँ उब्जाउ जमिन नमास्ने र धेरै पुस्तासम्म मिलेर बस्ने भएकाले एउटै छानाभित्र धेरै घरपरिवार बस्ने चलन छ ।
घर छाडेर सुर्खेत, नेपालगन्ज, महेन्द्रनगर, काठमाडौं गएकाहरूले पनि पुरानो घर भत्किएपछि सबै मिलेर नयाँ बनाउने चलन रहेको स्थानीय बताउँछन् ।
अग्निपीडितलाई जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार राहत वितरण गरिएको सहायक प्रजिअ मुक्तिनन्द रावलले बताए । जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई क्षतिको मुचुल्का आएपछि ५ जनासम्म सदस्य भएका परिवारलाई १५ हजार र ५ भन्दा बढी परिवार भएको घरलाई २० हजार नगद राहत उपलब्ध गराउने जनाएको छ ।



