बर्षात सुरु भयो कसरी चिन्न सकिन्छ त विषालु च्याउ र खान योग्य च्याउ !
धिरेन्द्र बस्नेत
परिचयनेपालको दुर्गम तथा पहाडी क्षेत्रमा विषालु च्याउ खाएर मर्नेको सख्या बर्षेनि बढ्दो रहेको छ । बर्षातको समयमा हरेक बर्ष ३० देखि ४० जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउछ । यो त अस्पतालमा आएको आकडा मात्र हो । कतिपय अवस्थामा त घरपरिवार नै सखाव भएको पाईएको छ । नेपालमा एक हजार भन्दा बढि प्रजातिका च्याउहरु पाईन्छन । जस मध्ये १४७ मात्र खानयोग्य र ७३ औषधिय गुण भएको पाईन्छ । करिव एक सय प्रजाति विषालु च्याउ भएको पाईन्छ । कतिपय च्याउहरु न त खान योग्य नत औषधिय गुण भएका कुनै काममा नआउने खालका रहेका छन । खानयोग्य च्याउ उम्रिएको ठाँउमा विषालु च्याउ पनि सगै उमे्रको हुन सक्ने भएकोले त्यस्तो च्याउ पनि विषाक्त रहेको हुन्छ ।विषालु च्याउ खाए सामान्यतया यस्ता लक्ष्यणहरु देखिन सक्छन ।
यसले शारिरीक आलस्यता बढाउने , गल्ने , पेट आमासय दुखाउने , वान्ता गराउने , पिसाव धेरै गराउने , रिङ्गटा लाग्ने , दिसा लगाउने , पसिना निकाल्ने , शाीरीक शुष्कता बढाउने, रक्त विकृत गर्ने , जिब्रो सुनिने , श्वास नलि बन्द गर्ने , शरिरको तापक्रम विस्तारै घटदै जाने , पेट दुख्ने , अन्ततः मुत्यु समेत गराउछ । च्याउको विषको असर खाएको मात्रा , उमेर ,एवम संनकलन गरेको स्थान आदिमा भर पर्छ । च्याउमा धेरै प्रकारका टक्सिनहरु पाईन्छन । जस्तै अमाटोटक्सिन , ओरेलिन , सिलीकोण आदि । विषालु च्याउ खाई सके पछि हाम्रो हरीरको कलेजोमा पुग्दछ र शरिरको पित्तसंग मिलेर नयाँ किसिमको तत्व निर्माण गर्दछ । जसले विस्तारै हाम्रो मृगौलाको काम गर्ने क्षमता कम गराउदै जान्छ र अन्तमा कलेजो तथा मृगौला फेल हुन्छ । र मानिसको मृत्यु हुन्छ । च्याउको विषाक्तताको असर सामान्य देखि अत्यन्त जटिल सम्म छ अर्थात ९५ प्रतिशतसम्म घातक हुन सक्छ। विषालु च्याउको असर बालबालिका तथा बृद्धबृद्धामा छिटो देखिन्छ भने बयस्क ब्यक्तिमा अलि कमै हुन्छ । च्याउ खाएको ६ घण्टा देखि २४ घण्टा पछि सम्म पनि यसको असर देखिन्छ ।
नेपालमा पाईने विषालु च्याउहरु
१)सेतो कत्ले च्याउ
यो च्याउ पुरै सेतो रङ्गको हुन्छ । यसको छाता ७ से.मि सम्म चौडा रहेको हुन्छ । छातामा कोण अथवा चुच्चो भएका कत्लाहरु हुन्छन । कत्लको टुप्पो केहि खैरौ रङ्गको देखिन्छ । यसको डाँड ३ सेमि सम्म लामो ०.४ से.मि सम्म चौडा र तलतिर फुकेको हुन्छ । डाँडमा सेता कत्लाहरु हुन्छन । यसको कचौरा डल्लो , सेतो र डाँडसँग जोडिएको हुन्छ । यस च्याउको मुख खुलेको हुदैन । यसको विउ उत्पादन हुने क्षेत्रहरुमा पत्रहरु सेता, घना र पातला हुन्छन । ्
यो च्याउ कटुस र गुराँस हुने स्थानहरुमा भूईमा उम्रेको पाईन्छ ।
२) खैरो कत्ले च्याउ
यो च्याउ छाता कैलो खैरो रङ्गको हुन्छ । छाता ८ से.मि चौडा हुन्छ । यसमा खैरो कालो रङ्गका कत्ला हुन्छ । यसको किनारामा मसिनो धर्साहरु हुन्छन । यसको डाँठ १२ से.मि सम्म लामो , फेदतिर मोटो भएको र सेतो ,कैलो ,खैरो रङ्गको हुन्छन । यसको कचौरा डाँडसँग जोडिएको हुन्छ । विउ उत्पादन हुने स्थानका पत्रहरु डाँठसंग जोडिएको हुदैनन । यि सेता , घना र पातला हुन्छन । विउ १२ माईका्रे मिटरसम्म चौडा र सेतो हुन्छ ।
यो च्याउ मिश्रित जंगल (सल्ला , कटुस , गुराँस) हुने जंगलमा पाईन्छ ।
३) सेतो कत्ले च्याउ
यो च्याउ सेतो रङ्गको हुन्छ । यसको छाता ८ से.मि सम्म चौडा हुन्छ । छातामा खैरो रातो रङ्गको त्रिकोण परेको चुच्चो भएको कत्लाहरु चारैतिर गोलाई जस्तो परेर रहेको हुन्छ । छाताको किनारमा मसिनो धर्साहरु रहेको हुन्छन । यसको डाँड १५ से.मि लामो सेतो , तलतिर फुकेको र माथितिर सुलुत्त परेको हुन्छ । डाँठमा सेता कत्लै कत्लाले बनेको हुन्छ । यसको मुख खुला हुदैन । विउ उत्पन्न हुने स्थानका पत्रहरु डाँडबाट छुटिएका , बाक्ला र पातला हुन्छन । यसका विउहरु ८ माइक्रो मिटरसम्म चौडा र सेता हुन्छन ।
यो कटुस , गुराँसको जंगलमा भूईमा उमे्रको अवस्थामा पाईन्छ ।
४ ) कालो कत्ले च्याउ
यो च्याउको छाताको ५ देखि ९ सेमि चौडा हुन्छ । यो खैरा कालो र चिप्लो हुन्छ । यसको छाता काला कत्ले कत्ला हुन्छ । यसको डाँठ ९ सेमि सम्म लामो र १— २ सेमि चौडा हुन्छ । यो तलतिर खेरौ —कालो र माथितिर सेतो रङ्गको हुन्छ । यसको डाँठ खैरौ कत्लाहरुले ढाकेको हुन्छ । औठि कुनैमा नहुन सक्छ । औठि हुनेमा डाँठा तलतिर सानो र खैरो रङ्गको औठि हुन्छ । कचौरा डाँठसँग जोडिएको हुन्छ । यसको मुख नखुलेको र माटो हुन्छ । वीउ बन्ने स्थानका पत्रहरु सेता, डाँठबाट छुटिएका , बाक्ला पातला हुन्छन । जिउ ६ माईक्रो मिटर चौडा र सेता हुन्छ ।
यो च्याउ सल्ला को जंगलमा पाईन्छ ।
५) खैरो भूत च्याउ
यस च्याउको छाता ६ देखि ८ सेमि सम्म चौडा र खैरो मुसाको रङ्गको हुन्छ । छाता जस्तो विचमा गाढा खैरो रङ्गको हुन्छ । छालाको किनारामा धर्साहरु परेका हुन्छन । यसको किनारा फुटेको हुन्छ । छालामा कत्ला हुदैन । यसको डाँठ १ सेमि लामो र २ मिमि छोटा हुन्छ । यो सुलुत्त परेको खैरो सेतो रङ्गको हुन्छ । यसको खैरो रङ्गको कत्ला भएको हुन्छ । यसको औठि सेतो र केडि खैरो रङ्गको कत्ला भएको हुन्छ । कचौरा घैला जस्तो मुख खुला भएको हुन्छ । यो सेतो र केहि खैरो रङ्गको हुन्छ । विउ बन्ने स्थानका पत्रहरु डाँडसँग नजोडिएका सेता र बाक्ला हुन्छन । यसका विउ सेता हुन्छन ।
६) मंग स्यामो भूत च्याउ
यसको छाता फुस्रो , कालो वा रातो खैरो रङ्गको हुन्छ । यसको छाता ८ सेमि सम्म चौडा हुन्छ । यो सेतो रङ्गको र कत्ला भएको हुन्छ । यसका किनारामा धर्साहरु हुन्छन । यसको डाँड सेतो ,११ से.मि लामो र तलतिर फुकेको हुन्छ । यसको औठि सेतो हुन्छ । कचौरा सेतो , कत्लो परेको र डाँडसंग जोडिएको हुन्छ । विउ बन्ने स्थानमा पत्रहरु डाँडबाट छुटिएर सेता ,घना र पातला हुन्छन ।विउ ९ देखि ११ माक्रो मिटर सम्म चौडा र सेतो हुन्छ ।
यो च्याउ प्राय ः मल्ल , कटुस , गुरासको जंगलमा भुईमा उम्रेको अवस्थामा पाईन्छ ।
७) मृत्यु छात्रिका भूत च्याउ
यसको छाता खैरो, पहेँलो . हरियो रङ्गको हुन्छ । छाता ८ सेमि चौडा र चिप्लो हुन्छ । छाता ८ से.मि चौडा र चिल्लो हुन्छ । यसमा कत्ला हुदैना । यसको डाँठ १० से.मि सम्म लामो ,सेतो र केहि खैरो हरियो रङ्गको हुन्छ । यसमा मसिना लामा धार्साहरु हुन्छन । यसको फेदतिर फुकेको हुन्छ । कचौराको मुख केहि खुलेको हुन्छ । विउ बन्ने स्थानका पत्रहरु डाँठबाट छुटिएका सेता , पातला र घना हुन्छन । विउ ८ देखि १० माईक्रो मिटरसम्मको हुन्छ । यो प्रायः कटुस गुराँसको जंगलमा उमे्रको अबस्थामा पाईन्छ ।
८) मृत्यु छत्रिका
यसको छाता ८ से.मि सम्म चौडा हुन्छ । यो खैरो , हल्का सेतो प्याजी रङ्गको हुन्छ । छातामा कत्ला हुदैन । यसको डाँठ १० से.मि सम्म लामो हुन्छ । यो सेतो , खैरो र मसिनो धर्साे भएको हुन्छ । यसको औठी छाताको रङ्गको जस्तो हुन्छ । विउ बन्ने स्थानका पत्रहरु डाँठबाट छुटिएका सेता बाक्ला र पातला हुन्छन । यसको वीउ ८ माईक्रो मिटर सम्म चौडा र सेता हुन्छन ।
९) मृत्यु छ्त्रिका
यो च्याउको ११ से.मि सम्म चौडा हुन्छ । यो खैरो रातो र विचमा गाढा रङ्गको हुन्छ । यसको किनारामा मसिना धर्साहरु हुन्छन । यसका किनारामा सेतो कत्ला झुण्डिएको पाईन्छ । यसको छाता चिप्लो हुन्छ । यो सेतो र केहि सेतो कत्ला भएको हुन्छ । यसको डाँठ १० से.मि अग्लो र ०.६ मी.मी चौडा हुन्छ । यो सेतो र केहि कत्ला भएको हुन्छ । यसको कचौरा सेतो र थैलो जस्तो हुन्छ । विउ बन्ने स्थानका पत्रहरु डाँठबाट छुटिएर सेता , घना र पातला हुन्छन । विउ १ माइक्रो मिटर चौडा र सेता हुन्छ ।
१०) रातो कत्ले च्याउ
यो सुन्तले रातो रङ्गको सानो च्याउ हो । यसको छाता २ देखि ३ से.मि सम्म चौडा हुन्छ । छाताको विचमा गाढा रातो रङ्ग हुन्छ । छाताको किनारामा धर्साहरु हुन्छन । छाता केहि चिल्लो हुन्छ । छातामा कत्ला भएको हुन्छ । डाँठ ४ से.मि लम्बाई र ०४ से.मि चौडाई र खोक्रो हुन्छ । कचौरा डाँठसँग जोडिएको , मुख नखुलेको , घुमेको खण्ड खण्ड परेको र रातो किनारा भएको हुन्छ । औठी तलतिर झोलिएको पातलो र घना हुन्छ । विउ बन्ने स्थानका पत्रहरु डाँठसंग नजोडिएको हल्का पहेंला, सेता पातला र घना हुन्छन । यसको विउ ७ माईक्रो मिटर सम्म चौडा र सेतो हुन्छ ।
यो च्याउ कटुस , गुराँसको जगंलमा भुईमा उमे्रेको अवस्थामा पाईन्छ ।
११) ठुलो कालो कत्ले च्याउ
यो च्याउको छाता १२ से.मि सम्म चौडा , पहेंलो , खैरो रङ्गको हुन्छ । यसको छातामा ठुला , काला कोण परेका चुच्चो भएका कत्लै कत्लाहरु हुन्छन । यसका किनारामा धर्सा हुदैनन् । यसको डाँठ १४ से.मि लामो र ३ से.मि मोटो , सेतो खैरो रङ्गको हुन्छ । कचौरा ५ से.मि सम्म चौडा र सेतो हुन्छ । यो डाँठसंग जोडिएको र मुख खोलेको हुदैन । यसको माथितिर कत्लै कत्ला जस्तो टुक्राहरुमा कालो रङ्गको धर्सा जस्तो हुन्छ । यसको औठी सेतो — खैरो र डाँठसंगै तलतिर झोलिएको लामो हुन्छ । विउ बन्ने स्थानहरुमा पत्रहहरु सेतो , डाँठबाट छुटिएका , घना र पातला हुन्छन । यो मिश्रित जंगलमा पाईन्छ ।
१२ ) सानो सेतो च्याउ
यो च्याउ पुरै सेतो रङ्गको हुन्छ । यसको छाता ७ से.मि सम्मको चौडा हुन्छ । यसको किनारा धर्सा हुदैन । यसका सेता कत्ला हुन्छन । यसका केहि कत्लाहरु झोलिएका हुन्छन । यसको डाँठ ७ से.मि लामो हुन्छ । यसमा सेता कत्ला हुन्छन । यसको डाँठ फेदतिर फुकेको हुन्छ । यसको औठि सानो सेतो हुन्छ । यसमा कचौरा स्पष्ट रुपमा हुदैन र कत्लाले बनेको हुन्छ । विउ स्थानका पत्रहरु सेतो घना , पातला र डाँठसंग केहि मात्रामा जोडिएको हुन्छ ।
यो सल्लाको जंगलमा भूईमा उमे्रको पाईन्छ ।
१३) सेतो भूत च्याउ
यो च्याउ पुरै सेतो रङ्गको हुन्छ । यसको छाता ५ से.मि सम्म चौडा , चिल्लो हुन्छ । छातामा कत्ला हुदैन । यसको डाँठ ५ से.मि सम्म अग्लो चिल्लो र केहि धर्सा भएको हुन्छ । यसको कचौरा थैला जस्तो हुन्छ । यसको औठि झोलिएको र सेतो , पातला र घना हुन्छ । यसको विउ १० माईक्रो मिटर सम्म चौडा र सेतो हुन्छ ।
यो च्याउ मिश्रित जंगल जस्तै ः कटुस , गुरासको भुईमा उमे्रको हुन्छ ।
१४) सेतो कत्ले च्याउ , लिङ्गे च्याउ
यो च्याउ पुरै सेतो रङ्गको हुन्छ । यसको छाता १५ से.मी सम्म चौडा हुन्छ । यो चिल्लो र चिप्लो हुन्छ ।छातामा सेतो केहि खैरो खालका कत्ला रहेका हुन्छन । डाँठ १२ से.मि सम्म लामो ३ से.मी सम्म चौडा र चिरिएर कत्लै कत्लाले बनेको जस्तो देखिन्छ । यसको कचौरा डाँठ नै जोडिएको र कत्लै कत्mाले बनेको जस्तो हुन्छ । यसको औठि सेतो र पातलो हुन्छ । विउ बन्ने स्थानमा पत्रहरु सेतो , पातला र घना हुन्छन ।
यो सल्लाको जंगलमा भईमा उमे्रको अबस्थामा पाईन्छ ।
१५) पुजु उर स्यागो च्याउ
यो च्याउ सियो जस्तो आकारको र एकै ठाँउमा झुप्पा निस्केको हुन्छ । यसमा छाता र डाँठ हुदैन । यसको रङ्ग पहेलो र १३ से.मी सम्म अग्लो हुन्छ । यसको विउ बन्ने स्थान टुप्पो तिर हुन्छ ।
यो कटुस , गुराँस , आदिको मिश्रीत जंगलमा भूईमा पाईन्छ ।
१६ ) काले इल्ले च्याउ
यो च्याउ डल्लो परेका र अत्यन्त साह्रो हुन्छ । यो ७ से.मी सम्मका्े गोलो हुन्छ । यो पहिले पहेलो खैरो गाढा रातो र पछि कालो हुन्छ । यसको बाहिरी सतहमा स—साना मसिना प्वालहरु हुन्छन । यसलाई काटि हेर्दा भित्र पट्टि गाढा प्याजि रङ्गको देखिन्छन र गोलो रेखाहरु पर्दछन । यसका विउहरु १२ —१६ र ५५ देखि ८५ माईक्रो मिटर सम्मको र काला हुन्छन । यी नै च्याउ बाहिरी सतहको प्वालबाट धुलो जस्तो गरी प्रसस्त निस्केका हुन्छन । यो च्याउ सडेगलेको रुखको ठुटा, हाँगाहरुमा जताततै उम्रेको हुन्छ ।
यस्तो किसिम च्याउहरु सबै विषालु हुन्छन ।
कस्ता मानिसले जंगली च्याउ खानु हुदैन ।
कलिला बालबालिका , बृद्धबृद्धा तथा विरामीहरुलाई जगंली च्याउ खान दिनु हुदैन किनकि उनिहरुमा प्रतिरोधात्मक क्षमता कम हुन्छ । कहिले काहि खान हुने स्वादिष्ट च्याउले पनि कुनै कुनै ब्यक्तिमा नकारात्मक प्रतिकिया देखाउछ ।
कस्तो किसिमको च्याउ खान योग्य हुदैन र कस्तो किसिमको च्याउ खान योग्य हुन्छन ।
साधारणतया कुनै प्रजातिको च्याउमा औठी र कचौरा देबै भएको ( तर ओठी वा कचौरा मध्ये कुनै एउटा भएको च्याउ भने खानयोग्य पनि हुन सक्छ ) छाता तथा डाँठमा आउटगा्रथ जस्तो देखिने वार्टहरु भएका , छाता तथा डाँठमा धेरै बुट्टाहरु ,कत्लाहरु भएका सुगन्धित , रङ्गिविरङ्गी देखिने , अकस्मात रङ्ग परिवर्तण हुने , छिप्पिदै जादा सेतो , रातो , पहेलो, निलो आदि देखिने ( साधारणतया चम्किलो नभईकन फुस्रो रङ्गका देखिने च्याउहर कम विषालु हुन्छन ) काला रङ्गका च्याउहरु रुख , गोवरमा , वासमा उम्रने च्याउहरु प्राय विषालु हुन्छन ।
विषालु च्याउलाई कलिा , खरायो , लोखर्के आदिले पनि साधारणतया नखाने हुदा त्यस्ता चोखा (केहिले पनि नखाएको ) च्याउलाई मानिसले पनि खानु हुदैन । कुनै कुनै जनावर वा किराले जस्तै ः चिप्ले किरा , खरायो आदिले अत्यन्त विषालु मानिने च्याउ समेत खाने हुनाले त्यस्तो जनावर किराले खाएको च्याउ पनि खान हुदैन ।
धेरै छिप्पिएका , सडन शुरु भई किरा लागेको र ओइलाएका जंगली च्याउ खान हुदैन । संनकलन गरी ल्याईएको खान योग्य च्याउ पनि बासि भएमा त्यसको रुपरङ्ग विग्रीएर बनावट नै भिन्न किसिमको देखिने भएकोले त्यसमा वाह्रय शूक्ष्म जिवहरु लगायतका ढुसिको संक्रमण हुन सक्ने हुदा कहिले पनि विग्रन शुरु गरेको वासि च्याउहरु खानु हुदैन । सकभर ताजा च्याउ मात्र सेवन गर्ने वानि बसाल्नु पर्छ ।
च्याउलाई काटदा कुनैमा दुध जस्तो सेतो रस आउने , छातामा मसि जस्तो थोपा देखिने च्याउहरु पनि खानु हुदैन । यस्तो विषालु मानिन्छ यद्यपि स्थानिय जेष्ठ नागरिहरुको अनुसार छाताको टुप्पोको भाग कालो देखिने कुनै कुनै च्याउहरु खान नहुने हुने गर्दछन ।
च्याउको विष लाग्न बच्न सकिने उपायहरु
खान योग्य नै हो भन्ने किटान नभएको च्याउ नखाने ।
जगंली गोब्रेच्याउ विषालु भए नभएको छुटयाउन नसकिने हुदा यस्ता च्याउ खानु हुदैन ।
जंङ्गली विषालु च्याउलाई किरा , कमिला , खरायो , लोखर्के आदिले पनि नखाने हुँदा त्यस्ता चोखा (केहिले पनि नखाएका ) च्याउलाई मानिसले पनि खान हुदैन ।
जनावर वा किराले खाएर छोडेको च्याउ पनि मानिसले खान हुदैन ।
धेरै छिप्पिएको , किराले खाएर छोडेको च्याउ पनि मानिसले खानु हुदैन ।
हेर्दा आकर्षक र सुगन्धित च्याउ विषालु हुन्छन । जस्तै अमानिता मस्कारिया राम्रो देखिन्छ थर विषालु हुन्छ ।
च्याउलाई काटदा दुध जस्तो सेतो रस आउने च्याउ पनि खान हुदैन ।
खान हुन्छ भनेर चिनिएको च्याउ पनि पहिलो पटक खाएको भए थोरै मात्र खानु पर्छ ।
च्याउमाथि विषालुको शंका भएमा त्यस्तो च्याउलाई नखाई कसैले नभेटन गरि पुरीदिनु पर्छ ।
विषालु च्याउले मानिसको ज्यान पनि लिन्छ ।
विषालु च्याउ लागेको थाहा भएमा वा विरामि होसमै छ भने चाडो भन्दा चाडो नुन पानि दिएर वान्ता वा पखाला लगाउनु पर्छ । जति सक्यो छिटो नजिकैको अस्पतालमा लैजानु बुद्धिमानि हुन्छ ।
कृषि प्राविधिक
कार्यरत कुशे गाउँपालिका कृषि विकास शाखा