जगदुल्ला जलविद्युत आयोजनामा जुट्यो रु १६ अर्ब लगानी,ऋण सम्झौतामा हस्ताक्षरः

काठमाडौँ ः उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आज यहाँ आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र आयोजनाकातर्फबाट जलदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हस्ताक्षर गरे ।

आयोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । नबिल बैंकले रु चार अर्ब ४० करोड लगानी गर्नेछ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंकले लगानी गर्नेछन् । यस्तै एचआइडिसिएलले रु चार अर्ब लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले रु चार अर्ब, लक्ष्मी सनराइज बैंकले रु दुई अर्ब र एभरेष्ट बैंकले रु एक अर्ब ५० करोड लगानी गर्नेछन् । यो आयोजना निर्माणका लागि रु २३ अर्ब लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब रु १६ अर्ब ऋण र रु सात अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ ।

कर्णाली प्रदेशको डोल्पास्थित मुडकेचुला र जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला नदीमा बन्न लागेको यो परियोजना नेपालको पानी जनताको लगानी अवधारणामा नेपाली जनताको लगानीमा पहिलोपटक बन्न लागेको हो । ऋण सम्झौता सम्पन्न भएसँगै चालू आर्थिक वर्षदेखि नै आयोजना निर्माणको काम अघि बढ्ने र आगामी ५ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । बुधवार ऋण सम्झौता कार्यक्रममा बोल्दै आयोजनाका कार्यकारी अधिकृत सञ्जय सापकोटाले यो आयोजना कर्णाली प्रदेशका लागि ऊर्जा विकासको मेरूदण्ड हुने विश्वास व्यक्त गरे । आगामी ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएकाले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कूल १ सय ६ मेगावाट क्षमताको सो आयोजनाको आवश्यक तयारीको काम पूरा भइसकेको छ । विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्रसमेत पाइसकेको छ । परामर्शदाता र निर्माण व्यवसायी छनोटका लागि विश्वव्यापीरुपमा बोलपत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए ।

ऋण सम्झौताका लागि आयोजित समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना तोकिएको समयमा पूरा गर्न सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराखिने बताए । उनले कर्णाली प्रदेशको विकासका लागि आयोजना असाध्यै महत्वपूर्ण रहेकाले यसमा कुनै पनि समस्या आउन नदिने बताए । उनले क्यास्केड आयोजनाका रुपमा रहेको जगदुल्ला ‘ए’ कोसमेत आगामी असारभित्र विस्तृत अध्ययन प्रतिवेदन तयार हुने जानकारी दिँदै वित्तीय व्यवस्थापनका लागि आवश्यक तयारी भएको उल्लेख गरे ।

सहरी विकासमन्त्री धनबहादुर बुढाले आयोजनालाई समयमै पूरा गराउनका लागि डोल्पावासी र स्थानीय जनप्रतिनिधिकोतर्फबाट शतप्रतिशत सहयोग रहने बताए । सरकारले जगदुल्लालाइ उच्च प्राथिकतामा राखेर नीति तथा कार्यक्रममा समावेश गर्न सहयोग गर्ने सबैलाइ धन्यवाद समेत दिए।

कार्यक्रममा पूर्वअर्थमन्त्री रहनुभएका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफु उर्जा मन्त्रीहुदा नेपालको पानी जनताको लगानी भन्ने कार्यक्रम अन्तर्गत आयोजनाको शूरूवात गरेको बताउँदै निर्माणमा कुनै पनि कमि कमजोरी शैह्य नहुने बताए। आयोजना स्वदेशी लगानी र सरकारी स्वामित्वमा नै निर्माणका लागि आफूले सक्दो पहल गरेको बताए ।

कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री शेरबहादुर बुढाले जगदुल्ला हाइड्रो जिल्लाको मात्रै नभएर कर्णाली प्रदेशकै गौँरवको योजना भएको र राज्यलाइ पनि टेवा पुग्ने विश्वास व्यत्त गर्दै आयोजना निमार्णका लागि भेरी करिडोरको बाटो र पुलहरू मुख्य समस्या भएको बताए। उनले थपे तल्लुबगरको पुल देखि अन्य ४(५ वटा पुल निर्माणमा ढिलाइ भएको भन्दै संघिय सरकारको गम्भीर ध्यानाकर्षण गराए। पुल निर्माण भए आयोजना निर्माण सस्तो हुने र डोल्पाको अन्य विकासमा पनि टेवा पुग्ने भएकाले सबैको ध्यानजान जरूरी रहेको बताए।

कार्यक्रममा सङ्घीय सांसद ज्ञानबहादुर शाही, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा,नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले आयोजनाको समग्र अवस्थाबारे धारणा राखेका थिए ।

भौतिक पूर्वाधार विकासले पछाडि परेको कर्णाली प्रदेशको डोल्पा जिल्लामा सो आयोजनाका कारण विकास पुगेको छ । सडक सञ्जाल बिस्तार भएको छ । दूरसञ्चारको पहुँचबाट टाढा रहेको स्थानमा नेपाल टेलिकमको सेवा बिस्तार भएको छ । केन्द्रीय प्रसारण लाइनको बिजुलीसमेत पुगेको छ । आयोजनाका कारण स्थानीय उत्पादनको बिक्रीवितरण बढ्दो क्रममा छ । रोजगारीको खोजीका काला पहाड चहार्नुपर्ने डोल्पालीले थोरैमात्रामा भए पनि घर आँगनमा नै रोजगारीको अवसर पाउने छन् ।
वित्तीय व्यवस्थापन भएसँगै आयोजना निर्माणको बाँकी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । कुनै एउटा परियोजना कुन हदसम्म महत्वपूर्ण हुन्छ भन्ने उदाहरणसमेत बन्न लागेको छ कर्णाली प्रदेशका लागि जगदुल्ला । प्राकृतिक साधन र स्रोतले सम्पन्न भए पनि लगानीको अभावका पछाडि परेको सो प्रदेशमा दर्जनौँ जलविद्युत् आयोजना पहिचान भएका छन् । निर्माणमा भने कुनै पनि आयोजना अगाडि बढ्न सकेको छैन ।सरकारको अध्ययनअनुसार कर्णाली प्रदेशको कूल ऊर्जा उत्पादन क्षमता कर्णाली, भेरी, तिलालगायतका नदी करिडोरमा-१८ हजार मेगावाट बराबर छ । हाल आठ दशमलव ५५ मेगावाट बिजुली दैलेखमा उत्पादन भएको छ । सबैभन्दा कम डोल्पा र जुम्लाबाट समान शुन्य दशमलव २० मेगावाट मात्रै उत्पादन भएको छ । दैलेखको पदम खोला र द्वारी खोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।





error: Content is protected !!