भेरी अस्पतालमा भूकम्पका ५३ घाइते ः बल्ल तल्ल बाँचियो, बाँकी जीवन कसरी चलाउने !

बाँके ः नलगाड नगरपालिका–५, जाजरकोटका २५ वर्षीय हेमराज चनारा गएको शुक्रबार मध्यराति ११ः४७ मा आफ्नी श्रीमती र ३ महिने छोरा सोनामसहित गहिरो निन्द्रामा थिए । भूकम्पले थर्रर्र पार्दै घर हल्लाउन थालेपछि दुवै जना ब्यूँझिए ।

बच्चाको ज्यान जोगाउन सोनामलाई लिएर उनकी आमा बाहिर दौडिन थालिन् । हेमराज पनि अन्धकारमा पछिपछि हिँडिरहेका थिए । ढोकाबाट कट्न नपाइ घरको छत खसिहाल्यो । ६.४ रेक्टर स्केल भूकम्पबाट जसलाई जोगाउन हातमा च्यापेर निस्किएकी थिइन्, उहीमाथि नै ढुंगा खसिहाल्यो ।

बच्चा ग्वाँ.. ग्वाँ‘रुन थालिहाल्यो, के गर्ने कसो गर्ने भयो’, बुबा हेमराजले सम्झिए, ‘त्यतिबेला कसरी आँगनसम्म आइपुगेँ भन्ने पनि थाहा छैन ।’ उनका अनुसार, निस्किँदा निस्किँदै झट्काले दुवै जनालाई बाहिर हुत्याइदिएको थियो ।

त्यसक्रममा शिशुको खुट्टा, हात र ढाडमा चोट लागेको थियो । लगत्तै उनीहरुले नजिकैको स्वास्थ्य चौकीमा शिशुलाई पुर्‍याएका थिए । ‘त्यहाँ धेरै उपचार हुन्नथ्यो, त्यसैले एम्बुलेन्स खोजेर नेपालगञ्ज ल्यायौं’, हेमराजले भने ।

अहिले छोरालाई चिकित्सकहरुले खतरामुक्त भनेर अस्पतालको ‘ग्रिन रुम’मा सारेका छन् । यसपछि बल्ल उनलाई घरविहीन बनेको चिन्ताले सताउन थालेको छ । भन्छन्, ‘हिजोसम्म दिमागमा केही थिएन, अहिले अब कसरी जिन्दगी चलाउने होला भन्ने मनमा खेलिरहन्छ ।’

****

जाजरकोटको भेरी नगरपालिका–१, रिम्नाकी १५ वर्षीया अनामिका शाहीको दाहिने आँखामा रगत जमेजस्तो देखिन्छ । अनुहारको दाहिनेपट्टी चोट छ । हात, खुट्टा र पेटमा खतै खत छ ।

१८ कात्तिकमा विमानमार्फत उद्दार गरेर भेरी अस्पतालमा ल्याउँदा उनको अवस्था गम्भीर थियो । तर, अहिले अवस्था खतरामुक्त भएपछि अस्पताल भर्ना भएकामध्ये अनमिकासहित ४३ जना ‘ग्रिन रुम’मा छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पवन डा. रायमाझीका अनुसार, विपद्मा उपचारका लागि प्राथमिकता छुट्टयाउन सकियोस् भनेर चार वटा रंगमा किरामीलाई वर्गीकरण गरेर राखिएको छ ।

‘स्वास्थ्य अवस्था सामान्य भएकालाई पहेँलो कलर दिएर ग्रिन रुममा राखेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘८ जना गम्भीर घाइतेलाई रेड कलर दिएर उपचार दिइराखेका छौं ।’

अनामिकालाई चिकित्सकहरुले फेरि शल्यक्रिया गर्नुपर्ने भनेका छन् । तर, अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

‘घरको छत नै ममाथि खस्यो, घाउ नभएको ठाउँ नै छैन’, उनले अनलाइनखबरसँग भनिन्, ‘घरमा चार जना थियौं, बुबा डिस्चार्ज हुनुभयो । आमालाई केही भएको छैन ।’

दाइ भने रातिसम्म मोबाइलमा गेम खेलेर बस्ने गरेकाले जोगिएको उनले बताइन् । ‘थाहा पाउनेबित्तिकै ऊ दौडिइहालेछ’, शाहीले भनिन्, ‘अलिअलि याद छ, मलाई अंकल, दाइ, भाउजु र बुबाले निकाल्नुभएको थियो ।’

सुरुमा उनलाई सिम्लीको प्राथमिक उपचार केन्द्रमा लगिएको थियो । त्यसपछि रुकुम पश्चिम सदरमुकाम लगेपनि त्यहाँबाट पनि चिकित्सकहरुले रेफर गरिदिएका थिए । ‘शनिबार बिहान १० जति बज्दा म नेपालगञ्जमा भर्ना भइसकेको थिएँ’, उनले भनिन् ।

अनामिका रिम्नाको स्थानीय स्कुलमा कक्षा १० मा पढ्दै छिन् । उनका अनुसार, विद्यालयको कक्षा ९ मा पढ्ने अर्की साथी पनि घाइते छिन् । भन्छिन्, ‘गाउँमा धेरै बितेका छन्, म जोगिएँ ।’

****

रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिकाकी २६ वर्षीया नविता खड्का शुक्रबार भूकम्प जाँदा आफ्ना दुई छोरा लिएर सुतेकी थिइन् । मध्यराति एक्कासी घर हल्लाउन थाल्यो ।

घोप्टो परेर ४ वर्षीया छोरा लविस खड्कालाई ढाकिन् । अर्का छोरा ८ वर्षीय निर्जल खड्का अलि पर्तिर थिए ।

‘लविसलाई आमाले ढाकेर बचाइन्, आफू घाइते भइन्’, भेरी अस्पतालमा भेटिएका नविताका श्रीमान् रामबहादुर खड्का भन्छन्, ‘अर्को छोरालाई चाहिँ घरले किचेछ ।’

छरछिमेक उद्दार गर्न पुगुञ्जेलमा निर्जल बितिसकेका थिए । ‘श्रीमतीलाई छाती र देब्रे हातमा समस्या छ’, उनले भने, ‘अहिले अवस्था खतरामुक्त छ ।’

बुबा रामबहादुर भने त्यो दिन रातिको ड्यूटी परेर एक घण्टाको दूरीमा रहेको लक्ष्मी सनसराइज बैंकमा पुगेका थिए ।

‘मैले बैंकमा गार्डको काम गर्छु, दिउँसोको ड्यूटी हुँदा निर्जल र मसँगै सुत्थ्यौं’, उनले भने, ‘मेरो रातिको ड्यूटी परेको २र३ दिन भएको थियो, त्यही बेला छोरालाई भूकम्पले लग्यो ।’

****

सानीभेरी गाउँपालिका–२, रुकुम पश्चिमका ५ वर्षीय सुशान्त पुन मगरलाई बिहीबार दिउँसो २ बजेतिर अस्पतालको ‘ग्रिन रुम’मा बुबाले मःमः खुवाउँदै थिए ।

‘बच्चाले जे पायो त्यहीं खानै मान्दैन’, आमा पुष्पा महतरा पुन भन्छिन्, ‘अहिले अलि सहज मान्न थालेको छ, त्यसैले बाहिरबाट खानेकुरा ल्याउन लगाएँ ।’

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। रायमाझीका अनुसार, भूकम्पमा परेर घाइते भएकाहरुका लागि खाना र उपचार निःशुल्क गरिएको छ ।

‘केही सीमित जाँचहरु यहाँ हुँदैनन्, त्यसमा पनि हामीले तोकेको ठाउँ जाँदा पैसा लाग्दैन’, रायमाझी भने, ‘स्रोत अभाव भएपनि तत्काललाई व्यवस्थापन गरिरहेका छौं ।’

अस्पतालमा उपचाररत सुशान्तकी आमा पुष्पाका अनुसार, बच्चालाई एम्बुलेन्समा राखेर अस्पताल ल्याउनबाहेक उनीहरुको खर्च भएको छैन ।

‘भएको जति सबै भूकम्पले लगिहाल्यो, मजदुरी गरेर बाँच्ने मान्छेले कहाँबाट ल्याउनु पैसा ?’, उनले भनिन्, ‘उपचारको पैसा नलागेपछि आफन्तले दिएको अलिअलि पैसाले बच्चालाई खान मन लागेको कुरा ल्याइदिँदैछौं ।’

पुष्पाका अनुसार, भूकम्प जाँदा उनी, बुबा र सुशान्त एउटै खाटमा थिए । ‘भूकम्पले हुत्याएर बाहिर ल्यायो, हामी तल पछारियौं’, उनले अनलाइनखबरसँग भनिन्, ‘छोरालाई चाहिँ टिनले च्याप्यो ।’

****

भेरी अस्पतालका अनुसार, हालसम्म अस्पतालमा जटिल स्वास्थ्य समस्या भएका ५३ जना बिरामी भर्ना भएका छन् ।

तीमध्ये ५ वर्षमुनिका मात्रै ७ जना, ५ देखि १५ वर्षसम्मका ५, १५ देखि १८ वर्षसम्मका ५, १८ देखि ६० वर्षका ३३ र ६० वर्ष नाघेका ६ जना गरेर ५६ जना छन् ।

‘तीन जनालाई चाहिँ आज (बिहीबार) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज रेफर गरेका छौं’, डा. रायमाझीले भने, ‘बाहिरबाट देखिने चोटहरु धेरै नभएपनि भित्री समस्या भएकाले रेफर गरेका हौं ।’

उनका अनुसार, अस्पतालमा ल्याइएका बिरामीमध्ये १० जनाको शल्यक्रिया गर्नुपरेको छ । उपचारका लागि ल्याएकामध्ये एक जना आमाको पेटमा रहेको बच्चाको पनि मृत्यु भएको छ ।

भूकम्पले श्रीमान् बिते, सुत्केरी श्रीमती मात्र जोगिएकी थिइन् । तर, पेटमा गम्भीर चोट लागेका कारण बच्चाको पनि मृत्यु भएको चिकित्सकहरु बताउँछन् । घाइतेमध्ये एक जनालाई रगत सम्बन्धी हेमोफिलियाको बिरामी रहेको उपचारमा संलग्नहरु बताउँछन् ।

उनीहरुका अनुसार, गम्भीरमध्ये ३ जनाको अवस्था सुधारोन्मुख छ भने अस्पताल ल्याइएकामध्ये १ जना घाइतेको मात्रै मृत्यु भएको छ ।

‘भेरी अस्पताल आएका अरुलाई जोगाउन सफल भयौं’, डा। रायमाझीले भने, ‘बुधबारसम्म ३ जना बिरामी डिस्चार्ज हुनुभएको छ ।’ अनलाईनखबर





error: Content is protected !!