ठूलो क्षतिबाट जोगिएको भूकम्पको केन्द्रविन्दु रामीडाँडा

जाजरकोट ः जाजरकोट भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा सिर्पाचौर बस्तीका ५१ वर्षीय भूमिलाल घर्ती शुक्रबार मध्यरातको मिठो निद्रामा थिए । त्यही राति ११ः४७ मा रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको ६.४ रेक्टर स्केलको भूकम्पको झट्काले भूमिलालसँगै सिंगो बस्तीको निद्रा बिथोलियो ।

भूकम्पको कम्पन नसकिँदै भूमिलाल सिरानी हालेको आफ्नो पुरानो कोट समातेर ज्यान जोगाउन दौडिए । परिवारका सदस्य पनि ब्यूँझिए र उनीसँगै पछि लागे । उनी जोगिए, उनको परिवार जोगियो । तर बर्षौंदेखि बसिआएको पुर्ख्यौली घरका भित्ताहरू भूकम्पले चिरा पार्‍यो । अहिले भूमिलालको अगाडि हेर्दा ठडिएको घर छ, तर त्यही घरमा फर्किने उनको सपना ढलिसकेको छ ।

अब यही घरमा फर्किएर बस्ने कसरी रु हाम्रो ६ जनाको परिवार छ । कसैलाई केही भएको छैन, तर घरभित्र बस्ने ठाउँ छैन’, भूमिलालले भने, ‘हामी त जोगियौं । अब अनाज पानी कसरी निकाल्ने भन्ने चिन्ता छ । गाइवस्तु कहाँ राख्ने भन्ने चिन्ता छ । हामी त बाहिरै पाल हालेर बसेका छौँ । त्यही पनि हावा चल्यो भने उडाइहाल्छ । डोरी बाटेर अड्काउनुपर्नेछ ।’

भूकम्पको केन्द्रविन्दु रामीडाँडा क्षेत्रका अधिकांश बासिन्दाको अवस्था भूमिलालको जस्तै छ । केन्द्रविन्दु भएर पनि मानवीय क्षति भएको छैन । भौतिक क्षति पनि जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठबिसकोटको भन्दा कम छ ।

बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा केन्द्रविन्दु भनिएको ठाउँमा कम क्षति भएको बताउँछन् ।

‘केन्द्रविन्दु नजिकैको बस्ती सिर्पाचौरमा भूकम्पबाट ७ जना घाइते भएका छन् । त्यसमध्ये अवस्था गम्भीर भएका ३ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । बाँकीको स्थानीय स्वास्थ्य चौकीमा नै उपचार भइरहेको छ’, अध्यक्ष गिरीले भने, ‘घर ढलेका छैनन् भनेर हेर्ने हो भने क्षति कम छ । तर कुनै पनि घर बस्नलायक छैनन् । अहिले यहाँ करिब १००० घर परिवार विस्थापित भएका छन् । उनीहरूको व्यवस्थापन मुख्य चुनौती हो ।’

उनले करिब १०० वटा घर पूर्ण रुपमा भत्केका र ४०० भन्दा बढी घरहरू चर्किएका बताए । ‘यसरी हेर्दा क्षतिभन्दा जोखिम धेरै छ’, अध्यक्ष गिरी भन्छन्, ‘घरहरू उभिएका मात्रै छन् । चर्किएका घरहरु भत्किएका छैनन् भन्ने मात्रै हो ।’

भूकम्पले घरमा चिरा पारेपछि बारीको कान्लामा टालेको पुरानो पाल टांगेर रात कटाइरहेकी ५३ वर्षीया सुशीला घर्तीलाई आफ्नोभन्दा बढी चिन्ता गाईवस्तुको लाग्न थालेको छ । शुक्रबार राति भूकम्प आएपछि गोठमा बाँधेका गाईवस्तुको बन्धन फुकाएर जंगलतिर धपाएकी उनले बाख्रा भने आफूसँगै पालको वरिपरि बाँधेकी छन् ।

आफैंलाई चर्किएको घरभित्र जान डर लागेपछि उनलाई वस्तुभाउको पनि माया लागेको छ । उनले भत्किनै लागेको घरमा बाँधेर उनीहरुको जीवन जोखिममा पार्नुभन्दा दाम्लो फुकाएर जंगल धपाउनु उपयुक्त ठानिन् । उनलाई अहिले पनि आफूसँगै रहेका दुई छोरा र एक छोरीको जस्तै गाईबस्तुको चिन्ता छ ।

‘हामीलाई त्रिपालको समस्या छ । गाई राति नै वनतिर धपाइदियौँ । अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ’, सुशीला भन्छिन्, ‘आफू त पाल टांगेर बसौँला । गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने ? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको छ ।’

सुशीलाजस्तै सिर्पाचौरका अधिकांश बासिन्दाले आफ्ना गाईवस्तुलाई जंगलतिर धपाएका छन् । खुला चौर र बारीको कान्लामा टांगेको पालभित्र खाना बनाएर खान्छन् र त्यहीँभित्र निदाउँछन् ।

बारम्बार भूकम्प आइराख्ने हुँदा घरभित्र छिर्ने अवस्था छैन । उद्धारकर्मीले क्षतिको प्रारम्भिक विवरण संकलन गरिसकेका छन् । तर जाजरकोटकै नलगाड र रुकुम पशिचमको आठबिसकोटलगायत क्षेत्रमा क्षति धेरै भएकाले उद्धारकर्मीहरू त्यतै केन्द्रित भएका छन् । मानवीय क्षति कम भएपनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका रामीडाँडाका प्रभावितहरू अहिले राहत र पुनर्स्थापनाको प्रतिक्षामा छन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंह यस क्षेत्रको मुख्य समस्या बस्ने घरको रहेको बताउँछन् ।

‘घरभित्र बस्ने स्थिति छैन । यहाँको मूल समस्या बस्ने बासको हो । साथै, पशुवस्तुलाई कहाँ राख्ने भन्ने समस्या छ’, उनी भन्छन्, ‘त्रासका कारण मान्छेहरू घर बाहिर बस्नुभएको छ । पालको व्यवस्था नभएर खुला ठाउँमा बसिरहनु भएको छ । यसको समाधान तत्काल गर्नुपर्ने अवस्था छ ।’

सिर्पाचौरकै खुमप्रसाद पुन र कमलदेव घर्ती तत्कालका लागि रात काट्ने त्रिपाल भए पनि व्यवस्था गरिदिन आग्रह गर्छन् ।

‘भूकम्पपछि पाल र टर्नेलमा रात बिताइरहेका छौं । हिजो बिहान पालिका अध्यक्ष र प्रहरी इन्सपेक्टर आउनुभएको थियो । चिउरा, बिस्कुट ल्याइदिनुभयो’, उनीहरू भन्छन्, ‘पालको व्यवस्था गर्छौँ भन्नुभएको थियो । ल्याउनु होला भन्ने आशा छ ।’

पालिका अध्यक्ष गिरी आइतबार रातिसम्म नेपालगञ्जबाट मगाइएका पाल आइपुग्ने सम्भावना रहेको बताउँछन् ।

‘घरको नाममा घर मात्रै छन् । सबै बाहिर बसिरहनुभएको छ । आफूसँग भएका लत्ताकपडाले काम चलाइराख्नुभएको छ’, अध्यक्ष गिरीले भने, ‘हामीले पाल र कम्मल नेपालगञ्जबाट अर्डर गरेका छौँ । आउन समय लाग्ने भएकाले राति मात्रै त्यहाँ पुर्‍याउन सकिने भयो ।’





error: Content is protected !!