स्वर्गकी अप्सरादेखि सिंजा सभ्यतासम्म

सुर्खेत ः कर्णाली नेपालको मात्रै नभएर विश्वको मानचित्रमा विकट छ, यहाँ अभाव र गरिबी व्याप्त छ भन्ने भनाइ स्थापित छ । तर, भौगोलिक रूपमा कर्णाली जति विकट छ प्राकृतिक सौन्दर्यका हिसाबले त्यति नै धनी पनि छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका हिसाबले विशिष्ट मात्रै होइन नेपाली भाषा, संस्कृति र इतिहासको खुला संग्रहालय हो कर्णाली । भुगोलको दृष्टिले कर्णालीलाई भेरी र कर्णाली नदी र यसका सहायक नदीहरूले सिँचाइ र जलविद्युतको भण्डारको रूपमा समेटेको छ ।

        

आर्थिक, धार्मिक र सांस्कृतिका दृष्टिकोणबाट हेर्ने हो भने उत्तर र दक्षिण व्यापार तथा सांस्कृतिक मार्गका रूपमा कर्णाली भएर मानसरोवर एवम् मध्य एसिया पुग्ने प्राचिन कर्णाली शिल्क रोडलाई प्रतिनिधित्व कर्णालीले गर्दछ । यहाँ रहेका मन्दिर, विहार, पत्थरनाउली, ज्वाला र पञ्चकोशी, थामहरू, मालिका, ऐतिहासिक गुम्बा, कीर्तिखम्ब र पञ्चदेवल, सिंजा र दुल्लू जस्ता गृष्मकालीन र शीतकालीन ऐतिहासिक धरोहरले कर्णालीको सभ्यता र इतिहास झल्काइरहेका छन् ।


कर्णालीमा धर्तीमै ‘स्वर्ग’ देख्न पाइन्छ । स्वर्गकी अप्सरा उपनामले चिनिने देशकै ठूलो रारा ताल पर्यटकको पहिलो रोजाइमा पर्ने स्थान हो । यति मात्रै होइन नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा, भगवान शिवको बासस्थान कैलाश मानसरोवरको दर्शनसमेत कर्णालीबाटै गर्न सकिन्छ । जीवनमा एकपटक कैलाश मानसरोवरको दर्शन गरेको खण्डमा सबै प्रकारका पापबाट मुक्त भई मृत्युपश्चात स्वर्ग पुगिने धार्मिक विश्वासका साथ बर्सेनि हजारौँको संख्यामा नेपाल, भारत तथा तेस्रो मुलुकबाट तिर्थ यात्रीहरू यहाँ पुग्ने गर्दछन् ।

नेपाल एकीकरणपूर्व कर्णालीको शीतकालीन राज्य जुम्ला र यसको प्रशासनिक केन्द्र दैलेखको दुल्लू रहेको इतिहास पाइन्छ । दैलेखको पञ्चकोशी अर्थात् शिरस्थान र नाभिस्थान जहाँ सदियौँदेखि निरन्तर पानीमाथि आगोको ज्वाला बलिरहेका छन् । जसले यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय महत्व दर्शाइरहेका छन् । ऐतिहासिक क्षेत्र दुल्लू बाइसे चौबिसे शासनकालमा छुट्टै राज्य थियो । दुल्लू दरबारको भग्नावेश, पटाङ्गिनी, कीर्तिखम्ब, नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख, धर्मगद्धी, बालेश्वर यहाँका मुख्य आकर्षण हुन् । पञ्चकोशीको दर्शन गरे जीवनमा पुण्य मिल्छ भन्ने जनविश्वासका कारण कोटिला, शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका क्षेत्रमा तिर्थ जाने चलन छ ।

कर्णाली प्रदेशमै ऐतिहासिक सुर्खेतका काँक्रेविहार, देउती बज्यै, बुलबुले, दैलेखको पञ्चकोशी, ज्वाला क्षेत्र, महावु गाथ, भुर्तिका २५ देवल, दक्षिण एसियाको दोश्रो अग्लो मानिने कालीकोटको पचाल झरना, खाडाचक्र पञ्चदेवल, जुम्लाको चन्दननाथ, डुडुल चैत्य, मुगुको छाँयानाथ, हुम्लाका लिमी भ्याली, बाह्रदेउ र खार्पुनाथ, माथिल्लो डोल्पा र त्रिपुरा सुन्दरी, सल्यानको कुभिण्डे दह, डोल्पाको जगदुल्ला ताल, रुकुमको स्यार्पु दह, जाजरकोटको खलंगा दरवार, चित्रीपाटन, हिमालयन ग्रेट ट्रेल प्रमुख पर्यटकीय गन्तव्यले कर्णालीको विविधतालाई देखाउँछन् ।

यीनै अथाह सौन्दर्य र इतिहास बोकेको कर्णालीलाई नजिकबाट नियाल्न दसैँ–तिहार बिदाको सदुपयोग गर्न सकिन्छ । रमणीय दृश्य, मौलिक संस्कृति, ऐतिहासिक धरोहरको अवलोकन मात्रै नभई खोज तथा अनुसन्धानका माध्ययमबाट आफ्नो पहिचान देशमा मात्रै होइन विदेशमा समेत फैलाउन कर्णालीले निम्ता दिइरहेको छ ।

सुर्खेतको देउती बज्यै, बुलबुले र काँक्रेविहार

कर्णाली भित्रने मुख्य मार्ग भनेको सडक हो । यसका अलवा संघीय राजधानी काठमाडौं र नेपालगञ्जबाट सुर्खेत लगायत कर्णालीका माथिल्ला जिल्लाहरू हुम्ला, डोल्पा, मुगु र जुम्लामा हवाई मार्गमार्फत पनि पुग्न सकिन्छ ।

दसैँ बिदामा कर्णालीको यात्रामा निस्किँदा बाँकेको कोहलपुरबाट रत्नराजमार्गको बाटो हुँदै सुरु भए पनि कर्णाली प्रवेश भने सुर्खेत–बर्दिया सीमा क्षेत्र बबईबाट हुन्छ । कोहलपुरबाट झण्डै तीन घण्टाको यात्रापश्चात् सुर्खेत पुगिन्छ । सुर्खेत पुगेपछि कर्णालीका सबै जिल्लामा यात्रा तय गर्न सकिन्छ । यहाँ बास बस्नका लागि सुविधा सम्पन्न होटेलहरूको व्यवस्था रहेको छ । प्रदेश राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा काँक्रेविहार, बुलबुले ताल, घण्टाघर, शहीद पार्क लगायतका पर्यटकीय स्थल रहेका छन् । बिहानीपख देउती बज्यै मन्दिरमा दर्शनार्थीको भीड लाग्दछ ।

देउती बज्यै प्रदेशकै मुख्य धार्मिक शक्तिपीठमध्ये एक हो । दोस्रो लुम्बिनीका नामले चिनिने काँक्रेविहारको ढुङ्गैढुङ्गाको अनौँठो कलात्मक शैलीले पर्यटकलाई मुग्ध पार्दछ । दैलेख, कालीकोट, जुम्ला हुँदै रारा र हुम्ला, डोल्पा जाने जाने पर्यटकका लागि सुर्खेतका यी स्थान रोजाइँमा पर्दछन् ।

यस्तै सुर्खेतमा मदन–आश्रित पार्क, गिद्धेडाँडा, जाजुरा दह, गुप्ती मादले गुफा र शिव गुफा नयाँ पर्यटकीय स्थल रहेका छन् । दोस्रो लुम्बिनीका नामले चिनिने काँक्रेविहार वीरेन्द्रनगरदेखि करिब दुई किलोमिटर टाढा रहेको छ । त्यस्तै वीरेन्द्रनगरको प्रवेशद्वार नजिकै देउती बज्यैको मन्दिर छ । अन्य क्षेत्र भने पश्चिम क्षेत्रमा पर्दछन् ।

दैलेखको पञ्चकोशी क्षेत्र

धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका हिसाबले दैलेख महत्वपूर्ण जिल्ला हो । यहाँ ज्वाला क्षेत्र अन्तर्गत एक सय ८ शक्तिपीठ पर्दछन् । भैरवी, मालिका, स्वामी कार्तिक्य, बिन्ध्यावासीनी, लामाद्धाला आदि चर्चित छन् । पञ्चकोशी ज्वाला क्षेत्र हिन्दु धर्मावलम्वीको लागि मात्र नभएर बौद्ध धर्मावलम्बीको लागि पनि उत्तिकै महत्वपूर्ण मनिन्छ । पश्चिम नेपालका हिन्दु धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पितृकर्म लगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन् । पञ्चकोशी दर्शनले पितृ उद्धार, मनोकांक्षा पूरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ ।

श्रीस्वस्थानी व्रत कथासँग जोडिएका पाँचवटा पवित्र तीर्थ दैलेखमा छन् । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा शिर पतन भएको ठाउँ शिरस्थान, नाभि पतन भएको ठाउँ नाभिस्थान, धुलो पतन भएको ठाउँ धुलेश्वर, पादुका पतन भएको ठाउँ पादुका र कट्टी पतन भएको ठाउँ कोटिलालाई पञ्चकोशी भनिन्छ । शिरस्थान र नाभिस्थानमा अखण्ड ज्वाला छन् । तिनलाई ज्वाला माईका रूपमा पूजिन्छ ।

सुर्खेतबाट बस यात्रामा साढे तीन घन्टामा दैलखेको रानीमत्ता गुराँसेलेक हुँदै सदरमुकाम पुग्न सकिन्छ । दैलेख बजार पुगेपछि कोतगढी–पञ्चदेवल–बेलासपुर–महाबु र पञ्चकोसी धार्मिक पर्यटन विकास ९पञ्चकोसी ज्वाला क्षेत्र० छनौट गर्न सकिन्छ । पञ्चकोशी क्षेत्रको भ्रमण एकै दिनमा गर्न सकिन्छ । नेपाली भाषाको उत्पत्ती स्थान जुम्लाको सिंजालाई मानिए पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको दुल्लूमा रहेको छ । अहिलेसम्मको अध्ययन अनुसार सबैभन्दा पुरानो मानिएको दामुपाल, अढईपालद्वारा शाक्य ९ सय तिन तदानुशार विक्रमसंवत १ हजार ३८ को शिलालेख यसै क्षेत्रमा रहेको छ ।

यसका साथै विक्रम संवत १४१४ को पृथ्वी मल्लले बनाएको ७ हात लामो कीर्ति स्तम्भ पनि यसै क्षेत्रमा रहेको छ । यसका साथै पादुकामा रहेको अशोक चल्लको स्तम्भ शिरस्थानमा रहेको अभिलेखका साथै बाटोभरि जताततै गाडिएका वीर खम्बाहरूमा भएका अभिलेखहरूले नेपाली भाषा तथा पश्चिम नेपालको इतिहास केलाउनमा धेरै महत्व राख्दछन् । तसर्थ यो क्षेत्रलाई नेपालकै ऐतिहासिक महत्व बोकेको स्थानको रूपमा लिइन्छ ।

कालीकोटको पचाल झरना

कालीकोटको पचाल झरना गाउँपालिकाको खार्दुमा रहेको ‘पचाल झरना’ उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्यमा अन्तर्गत पर्दछ । तीन सय ८१ मिटर उचाईबाट खस्ने यो एसियाकै दोस्रो र नेपालकै सबैभन्दा अग्लो झरनाको रूपमा परिचित छ । जिल्लाको सदरमुकाम मान्मादेखि १८ कोस उत्तर–पूर्वमा यो झरना रहेको छ ।

घना जंगलको बीचमा पर्ने पचाल झरना कर्णाली प्रदेशको चर्चित धार्मिकस्थल पुग्न मालिकाबाट बग्ने पानीको मूल एकै ठाउँमा मिसिएपछि बनेको छ । यसका अलवा खाडाचक्र पञ्चदेवल, पिलीमा रहेको युद्ध स्मारकको अवलोकन गर्न सकिन्छ ।

जुम्लाको सिंजा सभ्यता

सिंजा उपत्यका नेपालकै एक ऐतिहासिक र महत्त्वपूर्ण पर्यटकीय स्थल हो । सिंजा सभ्यता नेपाली भाषाको उद्गमस्थल र सिंजा राज्यले समेत परिचित क्षेत्र हो । बाइसे र चौबिसे राज्यको समयमा सिंजा एक बलियो राज्यका रूपमा रहेको थियो । सदरमुकाम खलङ्गादेखि करिब दुई घण्टाको यात्रा पश्चात सिञ्जा क्षेत्र पुग्न सकिन्छ ।

रारा

रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । प्रदेशको राजधानी सुर्खेतबाट करिब डेढ दिनको यात्रामा रारा पुग्न सकिन्छ । रारा यात्राका लागि साना चार पाङ्ग्रे र मोटरसाइकल सहज मानिन्छन् । सुर्खेत, दैलेख, कालीकोट, जुम्लाहुँदै मुगुको रारा पुग्न सकिन्छ ।

रारा प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक एवम् नेपालकै सबैभन्दा ठूलो ताल हो । १० दशमलव ८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारा राष्ट्रिय निकुञ्जभित्र रहेको राराको गहिराई एक सय ६७ मिटर छ भने, समुद्री सतहबाट १० हजार फिट उचाइमा पर्दछ । सफा पानीमा स्नो ट्राउट माछा, हाँस, जलेवाजस्ता चरा डुबुल्की मारेको दृश्यले राराको वातावरण अनुपम देखिन्छ । ताल वरिपरिका विभिन्न फूलको मगमग बासना र सौन्दर्यले जोकोहीलाई पनि मोहित तुल्याउनेछ । दिनभर तालको किनार–किनारै घुमेर साँझपख भुलबुलेमा बास बस्ने गरी राराबाट फर्कन सकिन्छ ।

डोल्पाको शे–फोक्सुन्डो

डोल्पा जिल्ला बाह्रै महिना घुम्नका लागि उपयुक्त स्थान हो । डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने शे–फोक्सुन्डो ताल राराबाट सीधै पुग्न सकिन्छ । यसका अलवा नेपालगञ्जबाट सोझै जहाजमार्फत पनि डोल्पा पुग्न सकिन्छ । शे–फोक्सुण्डो कर्णालीकै दोस्रो महत्वपूर्ण पर्यटकीय स्थलसमेत हो । समुद्री सतहबाट ११ हजार ८ सय फिट उचाइमा रहेको शे–फोक्सुन्डो नेपालको सबैभन्दा गहिरो ताल हो । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने यसको गहिराइ ६ सय ५० मटिर छ ।

डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ । शेफोक्सेन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवा देख्न सकिन्छ । शे–फोक्सेन्डोबाट रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ । माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगलापास क्षेत्र अति रमणीय छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्दछ ।

हुम्लाको लिमी उपत्यका

हुम्ला अझै पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको जिल्ला हो । नेपालगञ्जबाट हवाई मार्गहुँदै जिल्ला सदरमुकाम सिमिकोटबाट करिब एक हप्ताको पैदल यात्रापछि लिमी उपत्यका पुग्न सकिन्छ । ११ औँ शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका सानाठूला गुम्बा यहाँका मुख्य आकर्षणका केन्द्रबिन्दु हुन् ।

खस साम्राज्यको आधार खण्ड र तिब्बती संस्कृति यहाँका अन्य आकर्षण हुन् । लिमी उपत्यका प्राचीनकालका बहुमूल्य मूर्ति र गुम्बा नै गुम्बाको उपत्यका हो । महँगा मूर्ति, पौराणिक वास्तुकला त्यहाँका थप विशेषता हुन् । पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिक कलाकृतिलगायतका वस्तु अति नै लोभ लाग्दा छन् । मुगु र हुम्लाको सीमानामा चङ्खेली हिमाल छ । जुन हिमालको चित्र एक रूपैयाँको नोटमा राखिएको छ । हिन्दु, बौद्धहरूको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ ।

सल्यानको कुपिन्डे दह

सल्यानको पश्चिम क्षेत्रमा रहेको कुपिन्डे दह प्रदेश राजधानी सुर्खेतसँग जोडिएको छ । सुर्खेतदेखि करिब तीन घन्टा गाडीको यात्रापछि दहमा पुग्न सकिन्छ । छोटो दूरी, प्रकृतिको अनुपम सुन्दरता र कम खर्चिलो भएका कारण कुपिन्डे दह धेरैको पहिलो रोजाइ बन्ने गरेको छ ।

जिल्ला सदरमुकाम खलंगादेखि करिब २४ किमि पश्चिममा पर्ने यो दह निकै मनोरम र आकर्षक छ । पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिन्डे दहले सबैलाई मोहित पार्दछ । २३ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको दहको लम्बाइ ८ सय ३४, चौडाइ ५ सय ३, गहिराइ ३४ मिटर छ । समुद्री सतहबाट १ हजार १ सय २० मिटर उचाइमा अवस्थित दहमा ५४ लाख ८२ हजार ५ सय ७४ घनमिटर पानी छ ।

जाजरकोट दरबार

जाजरकोटको खलंगा दरबार क्षेत्र अर्को पर्यटकीय स्थल हो । दुई सय ५० वर्ष पहिले बनेको जाजरकोट दरबारले निकै कलात्मक एवम् ऐतिहासिक महत्वको बोकेको छ । कला, संस्कृति तथा ऐतिहासिक दृष्टिकोणले यो दरबार महत्वपूर्ण मानिन्छ । विसं १४०० मा रजौटा राज्यको अस्तित्वमा आएको दरबार तत्कालीन राजा गजेन्द्रनारायण शाहले निर्माण गरेका थिए । जिल्ला सदरमुकाम खलंगाको आडैमा जाजरकोट दरबार क्षेत्र अवस्थित छ ।





error: Content is protected !!