दशैँको लागि प्रदेश राजधानीमा पुगे हिमाली भेगका भेडा

सुर्खेत ः बडा दसैँ र तिहार लगायतका चाड पर्वलाई लक्षित गरेर कर्णालीको राजधानी वीरेन्द्रनगरमा भेडा भित्रिएका छन् । पछिल्लो समय वीरेन्द्रनगरमा कर्णालीका माथिल्ला जिल्लाहरुमा पालिने भेडा–च्याङ्ग्राको माग बढ्न थालेपछि भेडापालक कृषक तथा मासु व्यवसायीले भेडा भित्र्याएका हुन् ।
केही दिनअघि कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका ललितजंग बोहोराले झण्डै ३५ लाख मूल्य बराबरका एक सय ५० वटा भेडा वीरेन्द्रनगर ल्याएका छन् । बोहोराले मंगलबारबाट भेडा बेच्नसमेत सुरु गरिसकेका छन् । बोहोराले ल्याएका भेडाको अधिकतम् तौल ३० देखि ४० केजिसम्मका रहेका छन् ।
बोहोराले बर्सेनि यही परिणाममा भेडा वीरेन्द्रनगर ल्याएर जिउँदो बेच्ने गरेको बताए । उनले गत दसँैमा २० लाख बराबरका एक सय ३० भेडा ल्याएर वीरेन्द्रनगरमा विक्री गरेको बताए ।
हिमाली तथा पहाडी क्षेत्रका जडिबुटी पाइने पाटनमा चर्ने भएकाले भेडाको मासु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिने र बजारमा माग पनि बढ्न थालेकाले आफू भेडापालनतर्फ आकर्षित भएको बोहोरा बताउँछन् ।
बोहोराको परिवारले वर्षांैदेखि परम्परागतरुपमा भेडापालन गर्दै आएको छ । बोहोराले मात्रै होइन वीरेन्द्रनगर–४, मा रहेको मास्की मासु पसलले पनि झण्डै तीस लाख बराबर मूल्यका एक सय ३० भेडा भित्र्याएको छ ।
चाड पर्व विशेष गरी दसैँ तिहारमा भेडाको मासुको माग अत्यधिक हुन थालेपछि विगत केही वर्ष यता ठूलो परिणाममा भेडा आयात गर्न थालेको पसलका सञ्चालक यामबहादुर मास्की मगरले बताए ।
यामबहादुरले कालीकोटको रास्कोट नगरपालिकाबाट भेडा खरिद गरेर ल्याएका हुन् । भेडा काटेर मासु विक्री गर्दै आएका मास्कीले बजारमा कुनै समस्या नहुने बताए । चाडपर्वका समयमा खसीको भन्दा पनि भेडाको मासुको बढी माग हुने गरेको उनी बताउँछन् ।
उनका अनुसार जिउँदो भेडाको ६ सयदेखि हेरेर सात सय र काटेको मासुको प्रति किलोग्राम एक हजार मूल्य रहेको छ । वीरेन्द्रनगरमा कालीकोट, जुम्ला, मुगु, बाजुरा, अछाम, दैलेख तथा जाजरकोट, सल्यान लगायतका जिल्लाबाट मासुका लागि भेडा, खसी आयात हुने गर्छ ।
अन्य समय खसीको मासुमा निर्भर रहँदै आएको प्रदेश राजधानी सुर्खेतमा चाडपर्वका समयमा भेडाको माग बढी हुने गरेको मासु व्यवसायी संघ सुर्खेतका अध्यक्ष टोपबहादुर शाही बताउँछन् ।
चाड पर्वका समयमा घर–घरमा खशी काटिने हुँदा यो बेला कति मासु उपोग हुन्छ भन्ने यकिन तथ्यांक आफूसँग नभएको बताउँदै अन्य समयमा वीरेन्द्रनगरमा दैनिक ३० देखि ३५ वटा खसी खपत हुने गरेको शाहीले बताए ।
पछिल्लो समय कर्णाली मासुमा आत्मनिर्भर बनेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा कर्णालीबाट भण्डै चार अर्ब सात करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरका पशुपक्षी निर्यात भएका छन् । कर्णालीबाट निर्यात हुने पशुपक्षीहरु नेपागञ्ज, बुटवल, चितवन, काठमाडौं, टीकापुर, पोखरा, वीरगञ्ज, धनगढी र रुकुम पूर्व लगायतका जिल्ला पुग्ने गरेको छन् ।



