तीन दशकको करियरपछि टेलिकमको टप पोजिसनमा संगीता, ‘नेतृत्व टेलिकमभित्रै फर्किएकोमा खुशी छौं’
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
काठमाडौं ः लगातार दुई पटकसम्म नेपाल दूरसंचार कम्पनी लिमिटेड अर्थात नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि भिडेकी संगीताका लागि यसपटक नसोचेको जस्तै अवसर आइदियो।
गत बुधबारसम्म टेलिकमको नायब प्रबन्ध निर्देशकका रुपमा कार्यरत संगीता पहाडीलाई मन्त्रीस्तरीय निर्णयले कम्पनीको निमित्त प्रबन्ध निर्देशक पदमा नियुक्त गर्यो।
बिहीबार पत्र बुझेर ढिला गरी कार्यालय पुग्दा टेलिकमको माहोल निकै उत्साहपूर्ण थियो। उनको कार्यकक्षमा कर्मचारीहरुको भीड थेगिनसक्नु थियो।
‘खासमा मेरो नियुक्ति भनेको म निमित्त प्रबन्ध निर्देशकको कुर्सीमा बस्नुमात्र होइन, नेतृत्व टेलिकमभित्रै फर्किनु महत्वपूर्ण हो। म अगाडि देखिए पनि समग्र संस्था र हाम्रो टिममाथि गरिएको विश्वास हो भन्ने लाग्छ।
म अघि भए पनि कामको नेतृत्व हामी सबैको हो। यही संस्थालाई कर्मथलो बनाएर संस्थाका लागि मरिमेटेका हामीहरुले लिडरसिप पाएको भन्ने हिसाबले नै हामी सम्पूर्ण कर्मचारीहरु निकै खुशी छौं,’ उनले भावुक हुँदै हामीसँग खुशी साँटिन्।
विज्ञताको कुनै जेन्डर हुँदैन। तर हामीले फरक कोणबाट हेर्दा महिला मन्त्रीले एक सक्षम महिलालाई अवसर दिनुभएको हो भन्न पनि सक्छौं।
आफू पदका लागि योग्य छु भन्ने लागेरै पटक पटक प्रबन्ध निर्देशक पदमा भिडेकी संगीतालाई यसपटक भने संचारमन्त्री रेखा शर्माले यो अवसर दिएकी हुन्।
यसअघि टेलिकमको प्रबन्ध निर्देशक पदमा रहेका सुनिल पौडेलको नियुक्ति सुरुवातदेखि नै विवादित थियो। सूचना प्रविधिका विभिन्न ठेक्का प्रक्रियाहरुमा अनियमितता गरेको आरोप लागेका पौडेल नेसनल पेमेन्ट गेटवे खरिदमा सवा २३ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परे। टेलिकम प्रबन्ध निर्देशकविहीन भएपछि मन्त्रीस्तरीय निर्णयबाट संगीता निमित्त प्रबन्ध निर्देशक बनेकी हुन्।
‘विज्ञताको कुनै जेन्डर हुँदैन। तर, हामीले फरक कोणबाट हेर्दा महिला मन्त्रीले एक सक्षम महिलालाई अवसर दिनुभएको हो भन्न पनि सक्छौं। खासमा उहाँको विश्वासका कारण नै म यस भूमिकामा स्थापित हुन पाएँ। यो साँच्चै गर्वको कुरा पनि हो,’ उनले भनिन्।
तीन दशक भयो संगीताले नेपाल टेलिकममा प्रवेश गरेको। इन्जिनियरका रुपमा सातौं तहबाट टेलिकममा प्रवेश गरेकी संगीताले लामो करियरमा आफूलाई अब्बल साबित गर्दै माथि उक्लिँदै आइन्। विशेषगरी टेलिकमको मोबाइल नेटवर्कतर्फको विज्ञका रुपमा उनलाई चिनिन्छ।
जतिबेला टेलिकमले मोबाइल सेवा सुरु गर्यो उनले सुरुवातदेखि नै मोबाइल सेवालाई स्थापित गर्न काम गरिन्। टुजी, थ्रीजी, फोरजी हुँदै हाल फाइभजीको परीक्षण भइरहँदा नेटवर्कको विज्ञ इन्जिनियरका रुपमा कार्यरत संगीताले अब भने व्यवस्थापकीय जिम्मेवारी सम्हालेर टेलिकमका महत्वपूर्ण ‘डिलहरु’ गर्नुपर्नेछ।
पुरानो बिलिङ प्रणालीका कारण पटक पटक घण्टौंसम्म सेवा अवरुद्ध भइरहेकाले नयाँ बिलिङ प्रणाली जडान गर्नुपर्ने दबाब टेलिकममाथि छ। सेवाको स्तर खस्किएकाले टेलिकमको नाफा निरन्तर घट्दो छ। सँगै प्रविधिमा आइरहेका अनेकन रुपान्तरणले टेलिकमको नाफामा प्रत्यक्ष प्रभाव पारिरहेको छ। उसले गत आर्थिक वर्ष ७ अर्ब ८० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षभन्दा ७।८६ प्रतिशत कम हो।
यस्तै फाइभजीको काम कसरी अगाडि बढ्छ भन्नेमा पनि उतिकै चासो छ। टेलिकमले अहिले उपभोक्ताले अनुभव नै नगर्ने गरी सुस्तरुपमा फाइभजीको परीक्षण गरिरहेको छ। अमेरिका र चीनको भूराजनीतिक स्वार्थका कारण परीक्षण नै प्रभावहीन बन्न पुगेको छ।
मैले आजसम्म जे जति काम गरेकी छु हाम्रो नियमकानुन अनुसार प्रक्रिया पूरा गरेरै गरेको छु। अब पनि जे काम गर्छु टेलिकमको सम्पूर्ण नियमकानुन फलो गरेर नै प्रक्रिया पूरा हुन्छ।
टेलिकमभित्रका यी मुद्दाहरु निकै पेचिला छन्। प्रबन्ध निर्देशकका रुपमा संगीताले अब ती प्रक्रियाहरुलाई समेत अघि बढाउने जिम्मेवारी आउनेछ। तर, आफू विवादमा पर्नेगरी कुनै पनि काम अघि नबढाउने संगीताले दाबी गरिन्।
‘दूरसंचारको हिस्ट्रीमा यहाँ कार्यरत कर्मचारीका कारण विवाद भएको छैन। यसअघिका प्रबन्ध निर्देशकको पनि केस दूरसंचारभित्रको कामको लागि नभई पहिलेको कार्यालयको मुद्दा हो। हामी सय वर्षको इतिहास बोकेको संस्था हौं। यहाँभित्र काम गर्नका लागि सरकारले निर्देश गरेअनुसारको निर्देशिका छ, कार्यालयको आफ्नै नियम कानुन विनियमावली छ। खरिद गर्दा सार्वजनिक खरिद नियमावली छ। हामीभित्र कुनै पनि यस्तो विवादित व्यक्ति छ जस्तो मलाई लाग्दैन,’( उनी भन्छिन्( ‘पहिलेका एमडी बाहिरी वातावरणबाट आउनुभयो। पहिलेको केस भए पनि टेलिकमको नाम आयो। तर मैले आजसम्म जे जति काम गरेकी छु हाम्रो नियमकानुन अनुसार प्रक्रिया पूरा गरेरै गरेको छु। अब पनि जे काम गर्छु टेलिकमको सम्पूर्ण नियमकानुन फलो गरेर नै प्रक्रिया पूरा हुन्छ।‘
नयाँ बानेश्वरमा जन्मिएकी संगीताले डिल्लीबजारस्थित पद्मकन्या माध्यामिक विद्यालयमा पढिन्। त्रिचन्द्र क्याम्पसबाट आइएस्सी सकेपछि भारतको मोतीलाल नेहरु रिजनल इन्जिनियरिङ कलेज इलाहबादबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् उनले।
उनी २०४९ मा तत्कालीन नेपाल दूरसंचार संस्थानमा इन्जिनियरका रुपमा प्रवेश गरेकी थिइन्। २०५१ सालमा उनले त्यहाँ स्थायी नियुक्ति पाएकी हुन्।
आफ्नो घरपरिवार र दाजुहरुको प्रेरणाले आफू क्वालिफाइड बनेको उनले बताइन्। उनका दुई दाजुहरु इन्जिनियर थिए। उनलाई पनि इन्जिनियरिङ नै पढ्न मन लाग्यो। त्यसो त उनको घरको माहोल नै विभेदरहित थियो त्यसैले संगीताले पनि सरासर पढेर इन्जिनियर बन्न सकिन्।
शिक्षाले मानिसहरुको चेतनास्तर उच्च बनाउन मद्दत पुग्छ। ज्ञान नभए त विवेकको दायरा पनि सानो हुन्छ। सबै सक्षम र दक्ष भएपछि विभेदको पाटो पनि मेटिने रहेछ। एकस्तरमा सबै समान भइने रहेछ। फेरि आफ्नो काममा लगनशील र लक्षित भयो भने त्यो पाटोहरु पनि गौण हुँदै जान्छ र तपाईंले त्यो देख्नुपनि हुन्न,’ उनले सुनाइन्।
संविधानविद् लक्ष्मण अर्यालकी छोरी संगीताले सानैदेखि न्यायिक चेत पनि पाइन्। घरभित्र हुने विभिन्न किसिमका बौद्धिक बहसहरु सुन्दै हुर्किएकी संगीतालाई त्यो वातावरणले आफूभित्र पनि असल भावहरु विकास गर्न मद्दत पुगेको महसुस हुन्छ। घरभित्र असाध्यै राम्रो बौद्धिक चेत हुनु, पढ्ने र आफूलाई अब्बल बनाउन परिवारको सहयोग मिल्नु अनि कार्यस्थलमा पनि साँघुरो सोच नहुनुले अघि बढ्न उनलाई सहयोग पुग्यो।
संगीता ५ दाजुभाई दिदीबहिनीमा सबैभन्दा कान्छी। उनी सबैभन्दा जुझारु थिइन्। बच्चादेखिको वातावरणले हुर्काइमा धेरै फरक पार्ने उनले अनुभूत गरेकी छिन्। उनी जन्मेलगत्तै बुवाले वरिष्ठ अधिवक्ताको लाइसेन्स पाए। न्यायिक विचारधाराको क्षेत्रमा कार्यरत बुवा बिहान क्याम्पस पढाउने दिउँसो ल प्राक्टिस गर्ने। सानैदेखि घरमा लजिकल बहसहरु हुने गर्थे। न्याय क्षेत्र उसै पनि उच्चस्तरको कार्यक्षेत्र भएकाले घरमा विविध क्षेत्रका विज्ञ र मानिसहरुको भिड लाग्थ्यो। उनले घरभित्रको वातावरणबाट सिकेर सानैदेखि दुई कुरा महत्वपूर्ण मानेर आत्मसाथ गरिन्। उनले सिकेको एक महत्वपूर्ण कुरा हो ‘लजिकल हुनुपर्छ’ दोस्रो चाहीँ ‘कसैलाई पनि अन्याय हुनुहुन्न’।
संगीताको विचारमा मानिसले एक लेभलसम्म मात्र आफूलाई कुनै आकारमा ढाल्न सक्छ। बाँकी परिवारको वातावरण र बच्चैदेखिको पालनपोषण र हुर्काइको प्रभाव मानिसमा सँधै रहिरहने रहेछ। उनीभित्रको न्यायिक चेत पारिवारिक पृष्ठभूमिका कारण आएको उनी महसुस गर्छिन्।
‘जसरी अभिमन्यूले गर्भभित्रै युद्धकला सिकेका थिए मैले पनि चेतनाको परिदृष्टि गर्भभित्र छँदै पाएजस्तो लाग्छ,’ उनले हाँस्दै सुनाइन्।
हामीकहाँ छलफलमा मात्र उठेका कुराहरुलाई पनि विभिन्न कोणबाट हेर्ने प्रवृत्ति छ। तर म कतैबाट आउने दबाब र प्रभावभन्दा पनि जे गर्दा जनता र संस्थालाई राम्रो हुन्छ त्यही नै गर्छु।
तीन दशक प्रविधि क्षेत्रमा विज्ञता हासिल गरेको अनुभवले टेलिकम जनताले विश्वास गरेको संस्था भएको संगीताले बुझेकी छिन्। तर समस्याहरु पनि उत्तिकै छन्। देखिएका समस्या समाधानमा ढिलाइ हुने गरेको गुनासो सबैभन्दा बढी आउने पनि उनलाई थाहा छ। त्यसैले पनि भएका प्रविधि र नेटवर्कलाई चुस्त दुरुस्त बनाउने योजना उनले बनाएकी छिन्।
‘जुन ठाउँमा हामी पुगेका छौं त्यहाँको गुणस्तर सुधार्ने, जहाँ पुग्न सकेका छैनौं त्यहाँ पुग्ने र अत्याधुनिक प्रविधि अनुसार अपग्रेड गर्दै प्रतिस्पर्धी बन्ने मेरो चाहाना हो। ग्राहक सन्तुष्ट बनाउन कर्मचारी उच्च मनोबलका साथ लाग्ने हो भने यो सबै काम हुन्छ। अनि नाफा त बढिहाल्छ नि१,’ उनी विश्वस्त सुनिइन्।
हाल टेलिकमले फाइभजी परीक्षण गरिरहेको छ। २६ सय फ्रिक्वेन्सीमा ५ ठाउँमा स्टेसन राखेर परीक्षण भइरहे पनि त्यो ‘फुल कभरेज’ नभएकाले पब्लिकसम्म जान नसकेको उनले बताइन्।
‘फाइभजी हाइ इन्डस्ट्रियल कन्ट्री, उच्च प्रविधि भएको ठाउँमा आइओटी डिभाइस युज गरेर प्रयोग गर्ने हो। तर, पूर्वाधारमा हामी कति विकसित छौं भन्ने कुराले धेरै अर्थ राख्दो रहेछ। हाम्रो उद्योगहरु कति उच्चस्तरका छन् त्यसले फाइभ जीको विस्तार डिराइभ गर्छ। भारतमा पनि फाइभ जीको विस्तार राम्रो छैन,’ उनी भन्छिन् ‘हामीले पनि कुन ठाउँमा यो बढी उपयोगी हुन्छ र हाम्रो लगानी सुनिश्चित हुन्छ भन्ने पनि हेर्नुपर्छ।’
हाल बिलिङ सिस्टममा आइरहेको अवरोध ‘माइनर हार्डवेयर इस्यु’ भएको उनले विज्ञको हिसाबले बताइन्। त्यो परिवर्तन गरेर नयाँ सिस्टम ल्याउनासाथ यो समस्या समाधान हुने उनको दाबी छ। तर कुनै पनि निर्णय गर्दा हालसम्मको आफ्नो विवादरहित छविलाई जोगाएर अघि बढ्न चाहन्छिन् संगीता।
उनी भन्छिन्, ‘कुनै पनि विषय अघि बढाउँदा छलफलमा त धेरै कुराहरु आउँछन्। हामीकहाँ छलफलमा मात्र उठेका कुराहरुलाई पनि विभिन्न कोणबाट हेर्ने प्रवृत्ति छ। तर, म कतैबाट आउने दबाब र प्रभावभन्दा पनि जे गर्दा जनता र संस्थालाई राम्रो हुन्छ त्यही नै गर्छु।’
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)