अलपत्र छन् करोडौँ लगानीका भेरी कोरिडोर आयोजनाका लिफ्ट सिँचाइ
ओम शाही
सुर्खेत ः राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको भेरी कोरिडोर सिँचाइ विकास आयोजनामार्फत निर्माण गरिएका अधिकांश लिफ्ट सिँचाइ आयोजनाहरू प्रयोगमा नआई अलपत्र अवस्थामा छन् । भेरी बबई आयोजना कार्यान्वय गर्दा प्रभावित क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने र भेरी नदीको पानी बबई नदीमा स्थानान्तरण गर्दा उत्पन्न हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले भेरी कोरिडोरका विभिन्न क्षेत्रमा साना पूर्वाधार विकास गर्न आयोजनाहरूको स्थापना गरिएको थियो ।
तर, यो आयोजनामार्फत निर्माण भएका अधिकांश पूर्वाधारहरू प्रयोगविहीन बनेका छन् । नदी तथा खोलाले कटान गर्न सक्ने ठाउँमा लगाइएका तारजाली पनि तहसनहस अवस्थामा छन् । यसको ज्वलन्त उदाहरण बनेको छ, सुर्खेतको बराहताल गाउँपालिका– ४, तरंगामा रहेको भेरी लिफ्ट सिँचाइ अयोजना । सिँचाइका लागि बर्खाको भरपर्ने तरंगाका लागि अति नै महत्त्वपूर्ण मानिएको भेरी लिफ्ट सिँचाइ आयोजना सञ्चालनमै नआई अलपत्र परेको छ ।
उर्वर खेतीयोग्य जमिनलाई सिँचाइ गरेर कृषि उत्पादन बढाउने र झण्डै एक हजार घरपरिवारको गरिबी र आर्थिक पछौटेपनलाई कृषिको माध्यमबाट हटाउने उद्देश्यका साथ झण्डै ४ करोड खर्चेर लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको थियो ।
बेवारिसे अवस्थामा रहेको यो आयोजनाको वर्तमान अवस्था भने जीर्ण छ । आयोजनाको मुहान भेरी नदीको बालुवाले पुरिएको छ भने, पाइपलाइनमा खिया लागेको छ । बिजुलीका लागि प्रयोग गरिएका सौर्य प्यानलहरू पनि जीर्ण भई काम नगर्ने अवस्थामा पुगेका छन् ।
निर्माणको जिम्मा पाएको सूर्योदय ऊर्जा प्रालि काठमाडौंले बाँध नै गुणस्तरहीन बनाएकै कारण आयोजना सञ्चालनमा ल्याउन नसकिएको स्थानीयहरू बताउँछन् । आयोजना निर्माण भएर सञ्चालनमा भने नआएको होइन । सुरुमा आयोजनाको परीक्षण गर्दा खुसी भएका स्थानीयहरू भने त्यसयता आयोजना सञ्चालन हुनेमा विश्वस्त देखिँदैनन् ।
आयोजनाको सञ्चालन र मर्मतमा स्थानीय सरकारले ध्यान नदिँदा आयोजना सञ्चालन हुनेमा आफू विश्वस्त नरहेको स्थानीय खड्गबहादुर शाही बताउँछन् । यसमा अचम्मको कुरा त के छ भने, सञ्चालनमै नआउँदा पनि निर्माण सम्पन्न गरेको कागज देखाएर निर्माण कम्पनीले पूर्ण भुक्तानी लगिसकेको छ ।
निर्माण कम्पनी सूर्योदय ऊर्जा प्रालि काठमाडौंले २०७६/०७७ मा १ करोड ६२ लाख ५० हजार, २०७७/०७८ मा १ करोड ३४ लाख ५० हजार र २०७८/०७९ मा १ करोड ४० लाख रुपैयाँ भुक्तानी लिएको छ । त्यसयता निर्माण कम्पनी फर्किएर आएको छैन । कागजमा सम्पन्न भएको आयोजना सञ्चालनमा आउन नसकेपछि बराहताल गाउँपालिकाले थप ५० लाख रुपैयाँ पनि खर्च गर्यो । तर, थप गरिएको रकम पनि आयोजना सञ्चालनका लागि सही सदुपयोग हुन सकेन । उक्त रकम उपभोक्ता समितिमार्फत फजुलमा खर्च भएको छ ।
आयोजना निर्माण गर्दा बजेट अभाव भएपछि तत्कालीन समयमा १ करोड ६५ लाख रुपैयाँ अनुदान गाउँपालिकाले दिएको बराहताल गाउँपालिका वडा नम्बर ४ का पूर्वअध्यक्ष टेकबहादुर कठायत बताउँछन् । कठायतले आयोजना सम्पन्न भएपश्चात् सञ्चालनमा आउन नसकेपछि थप ५० लाख रकम अनुदान मागेर बाँधमा तारजाली र घेरबार गरेको बताए पनि उक्त रकमको सही सदुपयोग भने भएको देखिँदैन । उक्त रकम मुहानको संरक्षण गर्ने भन्दै तारजालीमा खर्च गरियो ।
५० लाख खर्च गरेर निर्माण गरिएको तारजालीले मुहानको संरक्षण गर्नुको साटो उल्टै मुहानकै लागि जोखिम बनेको छ । आयोजनाका लागि पानी तान्ने मोटर राख्नका लागि बनाइएको मुहानको डिजाइनअनुसार उक्त तारजाली आवश्यक नभए पनि बिचौलियाले व्यर्थमा खर्च गरेको नाम नबताउने सर्तमा एक प्राविधिकले बताए ।
आयोजना निर्माणमा तत्कालीन गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेत, इञ्जिनियरहरू यादव सापकोटा, गणेश भण्डारी र हरि बुढा, प्रमुख प्रशासकीय अधिकृत नेत्र गिरीलगायतले डिजाइनमै समस्या भएको र गुणस्तरहीन काम भइरहेको थाहा पाए पनि रोक्न कुनै चासो नदिँदा राज्यको करोडौँ रुपैयाँ लगाएर बनाएको आयोजना अलपत्र परेको स्थानीय बताउँछन् ।
बारीको छेउमा बगेको भेरी नदीको पानीले सिँचाइ सुविधा पाउने आशामा बसेका तरंगाका किसान अझै पनि आकाशे पानीमा निर्भर भइरहँदा आयोजनाले भने गिज्याइरहेको छ । आयोजना अलपत्र परेपछि चालु आर्थिक वर्षमा बराहताल गाउँपालिकाले आयोजना सञ्चालनका लागि ३० लाख बजेट विनियोजन गरेको बताइएको छ । यता आयोजना कार्यान्वयन गरिरहेको भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका प्रमुख सीडीई ईश्वरीप्रसाद तिवारीले आफू नयाँ भएकाले अध्ययन नगरी केही जवाफ दिन नसकिने बताए ।
आयोजनाले हालसम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकबेँसी नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका विभिन्न क्षेत्रमा भेरी नदीमा वारि र पारि जम्मा सातवटा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न गरेको र एक निर्माणको अन्तिम चरणमा रहेको भेरी बबई डाइभर्सनको वेबसाइटमा राखिएको छ ।
तर, यी आयोजनाहरूको वर्तमान अवस्थाका बारेमा भने कार्यालयले कुनै जानकारी राखेको छैन । निर्माण सम्पन्न भएका अधिकांश आयोजनाहरू सञ्चालनमै नआएर अलपत्र अवस्थामा छन् । पञ्चवर्षीय योजनासहित जम्मा १ सय ९५ वटा लिफ्ट प्रविधिका सिँचाइ योजना बनाउने लक्ष्य राखिएकोमा हाल २८ योजनामा ठेक्का लागिसकेको कार्यालयले जनाएको छ ।
सुरुमा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट कार्यान्वयन भएर भुक्तानी भएको र हाल आयोजनाको आफ्नै कार्यालय स्थापना भएकाले आवश्यक विवरणहरू केही समयमा उपलब्ध गराउने प्रमुख तिवारीले प्रतिबद्धता जाहेर गरे ।
के हो आयोजनाको उद्देश्य रु कति भयो प्रगति ?
सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको देवस्थलदेखि पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको घाटगाउँसम्मको १ सय ३५ किलोमिटर क्षेत्रमा सिँचाइ, कृषि सडक र ग्रामीण विद्युतीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७५/०७६ मा भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना स्थापना भएको थियो ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा उल्लेखित क्षेत्रमा दुई किलोमिटर दूरीमा १ सय ९५ लिफ्ट सिँचाइ र ४९ वटा कुलोको जीर्णोद्धार तथा नदी व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । जसको कुल लागत झण्डै ३ अर्ब ६१ करोड ११ लाख रहेकोमा हालसम्म १ अर्ब ५२ करोड ४५ लाख ८४ हजार खर्च भएको आयोजनाले जनाएको छ ।
भेरी कोरिडोरमा सतह, सौर्य तथा विद्युतीय लिफ्ट सिँचाइ प्रणालीको निर्माणका साथै केही क्षेत्रमा नदी व्यवस्थापनसमेतका लागि गुरुयोजना स्वीकृत भई समुदायमा आधारित विभिन्न पूर्वाधार निर्माणका कार्यहरू भइरहेको आयोजनाले जनाउँदै आएको छ ।
भेरी कोरिडोर गुरुयोजनामा सतह सिँचाइमार्फत ८ हजार ७ सय ६ हेक्टर जमिन लिफ्ट सिँचाइमार्फत ७ हजार २ सय ८४ हेक्टर क्षेत्रफलमा सिञ्चित गर्ने गुरुयोजनामा उल्लेख छ ।
हालसम्म सतह सिँचाइअन्तर्गत ३ सय १२ योजनामा १ सय तीन योजना सम्पन्न भएका छन् । लिफ्ट सिँचाइका १ सय ९५ योजनामा सातवटा निर्माण सम्पन्न भएका छन्, भने एक निर्माणको क्रममा र २८ वटामा ठेक्का लागिसकेको जनाइएको छ ।
आर्थिक वर्ष २०७८/०७९ सम्ममा जम्मा १ सय ४८ वटा सतह सिँचाइ, १८ वटा इन्टेक तथा सिञ्चित क्षेत्र बचावट कार्य ९नदी व्यवस्थापन० र ३१ वटा भूमिगत तथा लिफ्ट सिँचाइका योजनाहरू गरी जम्मा १ सय ९७ वटा योजनाहरू सम्पन्न भएको आयोजनाले जनाएको छ ।
त्यसैगरी, गत आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म आयोजनाअन्तर्गत क्रमागत ६६ वटा सतह सिँचाइ योजनाहरूमध्ये २० वटा सम्पन्न भई बाँकी ४६ वटा योजनाहरू निर्माणाधीन, १९ वटा लिफ्ट सिँचाइ योजनाहरूमध्ये ६ वटा सम्पन्न भई बाँकी १३ वटा योजनाहरू निर्माणाधीन अवस्थामा छन् ।
यस्तै, पाँचवटा नदी व्यवस्थापन योजनाहरूमध्ये चारवटा सम्पन्न भई बाँकी एक योजना निर्माणाधीन गरी जम्मा ६० वटा योजनाहरू निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जनाएको छ । यसरी यस आयोजनाअन्तर्गत हालसम्म जम्मा २ सय २७ वटा योजनाहरू सम्पन्न भएका छन् ।
यसरी राज्यको अर्बौं लगानीमा निर्माण गरिएका यी संरचनाहरू अधिकांश लथालिङ्ग अवस्थामा छन् । बजेटको सही सदुपयोग र प्रभावकारी कार्यान्वयनको लेखाजोखा गर्ने संयन्त्र राज्यसँग नहुँदा आयोजनाले निर्माण गरेका संरचनाका नाममा अर्बौं रकम भेरी नदीको पानीसँगै बगिरहेको छ । शिलापत्र