६ महिनाभित्र जगदुल्ला जलविद्युतको निर्माण सुरु गर्ने तयारी ः सडक र पुल निर्माणमा ढिलाइले समस्या
हेमन्त केसी
जाजरकोट ः जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले आगामी ६ महिनाभित्र भौतिक पूर्वाधार निर्माणको काम थाल्ने बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले ६ महिनाभित्र निर्माण कार्यमा जाने तयारी गरिएको जानकारी दिए । आयोजनाका लागि वित्तीय व्यवस्थापनको काम भइरहेको र अन्य प्राविधिक तयारीसमेत अन्तिम चरणमा रहेको सापकोटाको भनाइ छ ।
आयोजनाबाट वार्षिक रूपमा ६२३.४७ गिगावाट घण्टाबराबरको विद्युतीय ऊर्जा उत्पादन गर्ने लक्ष्य रहेको छ । सडक, पुल निर्माण गर्ने जिम्मेवारी निकायले ढिलासुस्ती गर्दा आयोजनाको गतिमा समस्य पार्ने देखिएको छ । आयोजना निर्माणका लागि करिब २३ अर्ब लाग्ने अनुमान छ । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नविल बैंकलगायतले लगानी गर्ने भएका छन् ।
कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ५ प्रतिशत सेयरको ३५ करोडमध्ये दुई चरणमा १७ करोड ७१ लाख ५० हजार भुक्तानी गरेको छ । विद्युत खरिद–बिक्री सम्झौता गरिसकेको आयोजनाले २०८६ साल असारभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्यका साथ कामको सुरुवात गरेको सापकोटाले बताए ।
आयोजना निर्माणका लागि ७० प्रतिशत अर्थात् १६ अर्ब ९२ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने योजना रहेको छ । ऋणबाहेकको ३० प्रतिशत रकम ७ अर्ब २५ करोड स्वपुँजी लगानी जुटाउने तयारी गरिएको उनले बताए । आयोजनाको प्रवर्द्धक कम्पनीमा विद्युत उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत प्राधिकरणको ९ प्रतिशतबराबरको सेयर स्वामित्व छ ।
मुड्केचुला र जगदुल्ला गाउँपालिकाले १ प्रतिशत सेयर स्वामित्व छ । बाँकी रहने ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गरिनेछ । आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ । कम्पनीले १ सय २० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ आयोजना पनि निर्माण गर्ने तयारी गरेको छ । विद्युत विकास विभागले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई १ सय २० मेगावाटमा आयोजना निर्माणअघि बढाउन सर्भे लाइसेन्स दिएको छ ।
भदौ १५ मा सचिवस्तरीय निर्णयबाट आयोजनाको क्षमता बढाइएको हो । कम्पनीले आयोजनाको ३८ मेगावाट क्षमता बढाउन विभागमा निवेदन दिएको थियो । कम्पनीका सिइओ सापकोटाले क्षमता बढाएर आयोजना अर्ध–जलाशय प्रकृतिको बनाउने बताए । आयोजना सुरुमा नदी प्रवाहका रूपमा अघि बढाउन लागिएको थियो ।
दानीपीपलमा ४०० केभीको सबस्टेसन बन्ने
नलगाड जलविद्युत आयोजना ४ सय १७, जगदुल्ला १ सय ६ मेगावाट र ताक्सुगाड जलविद्युत आयोजना ७ मेगावाट विद्युत उत्पादन गरी केन्द्रीय प्रसारणमा जोड्नका लागि जाजरकोट नलगाड नगरपालिका– ७ दानीपीपलमा ४ सय केभीको सबस्टेसन निर्माण गर्न पहल थालिएको छ ।
जग्गा अधिग्रहण काम सम्पन्न भइसकेकाले भेरी करिडोरको १ सय ५० किलोमिटरको प्रसारणलाइन निर्माण तथा सबस्टेसन निर्माण गर्न चालु आर्थिक वर्षमा ठेक्का गरेर काम थाल्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताए । दानीपीपलबाट १ सय ३२ केभीको लाइनमार्फत सुर्खेतको मैनतडामा लिएर मुख्य लाइनमा जोड्ने काम हुने उनले बताए । भारतीय बैंकले भेरी करिडोरको प्रसारणलाइन निर्माणमा सघाउने उनले बताए । जसका लागि १४ अर्ब रकम आवश्यक पर्ने डिपिआरमा उल्लेख छ ।
आयोजनाका लागि सडक र पुल बाधक
जगदुल्ला जलविद्युत आयोजनाले निर्माण गर्न लागेको त्रिवेणीस्थित पुल अझै निर्माण हुन सकेको छैन । पुल निर्माण गर्ने निर्माण व्यवसायी क्याराभानले अर्को निर्माण व्यवसायीलाई ठेक्का बिक्री गरेपछि निर्माणमा थप समस्या आएको हो । पुल समयमा निर्माण नभए आयोजना निर्माणस्थलमा जान र आउन मुस्किल हुनेछ । त्यस्तै त्रिवेणीबाट इल हुँदै भालुलेकसम्म जाने सडक निर्माणका लागि ठेक्का भएको लामो समय भए पनि निर्माण व्यवसायीले काम नगर्दा सडक निर्माणको गति निराशाजनक रहेको छ ।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, डोल्पाले ठेक्का लगाएको हो । उक्त ठेक्काको काम सन्तोषजनक नभएको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य बीरबहादुर शाहीले बताए । विस्फोटक पदार्थ विस्फोट गरेर सडक निर्माण गर्नुपर्ने भएकाले पनि काममा ढिला हुन गएको छ । विस्फोटन गरेर सडक निर्माण गर्नका लागि अघिल्लो वर्ष सबै प्रक्रिया पूरा भए पनि निर्माण व्यवसायीले ढिला गर्दा विद्युत आयोजना निर्माणदेखि दुई पालिकाको काममा समेत बाधा पुग्दै आएको छ ।
तत्कालीन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंह, पूर्वमन्त्री शाही, वन मन्त्रालयको टोलीसँगै आयोजनाका अधिकारीसँगको छलफलबाट विस्फोटको काम पूरा गर्न प्रक्रियागत विषय टुंगो लागेको थियो । ताक्सुगाड, झुर्मेखोला, नलगाड नदी, पिपेखोलालगायतका आधा दर्जन खोला तथा नदीमा पुल निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीले शक्तिकेन्द्रको आडमा काम नगर्दा यस क्षेत्रमा निर्माण हुने ठूला आयोजनाको कामलाई बाधा पुग्दै आएको छ ।
पुल निर्माणको लागि ठेक्का लागेको दुई वर्षसम्म काम हुन सकेको छैन । त्यस्तै तल्लुदेखि त्रिवेणीसम्मको भागमा रहेको सडक निर्माणका लागि अर्थमन्त्रालयले स्रोत सुनिश्चित नगर्दा ठेक्का लाग्न सकेको छैन । जाजरकोट सदरमुकामदेखि तल्लुसम्म ५६ किलोमिटरमा काम भइरहेको भए पनि बाँकी रुकुम पश्चिम र डोल्पाको भागमा अझै ठेक्का लाग्न सकेको छैन ।