एक करोड ३३ लाखको खाजामा अनियमितताको शंका

जाजरकोट ः भेरी नगरपालिकाभित्रका ५५ विद्यालयका सात हजार ८७२ विद्यार्थीले आर्थिक वर्ष २०७९/०८० मा दिवा खाजावापतको एक करोड ३३ लाख भुक्तानी भएको पाइएको छ । गतवर्ष मात्र भेरी नगरपालिकामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट एक करोड ६५ लाख रकम दिवा खाजा कार्यक्रमको रकम सशर्त अनुदानका रूपमा निकासा आएको थियो ।

कुल रकमध्ये दिवाखाजा व्यवस्थापनका लागि संघीय सरकारले पठाएको मध्ये एक करोड ३३ लाख रकम खाजाको नाममा खर्च भएको हो । विद्यालयले भरपाई र विद्यार्थीको हाजिरी ल्याएकोले रकम भुक्तानी हुने गरेको शिक्षा शाखा प्रमुख अमृत पुनले बताए । जिल्लामा दैनिक १५ रुपैयाँ प्रतिविद्यार्थीलाई उपलब्ध हुने गरेको छ । वर्षमा एकजना विद्यार्थीलाई १८० दिन बराबरको रकम विद्यालयमा आउने गर्छ । विद्यार्थीको आकर्षण बढाउन विद्यालय स्तरमा कार्यक्रम लागू छ । दिवाखाजा गत वर्षदेखि विद्यालयस्तरमा हस्तान्तरण भएको छ ।

विद्यालयमा विद्यार्थी आकर्षित गर्न प्रारम्भिक बालविकासदेखि कक्षा ६ कक्षासम्म सरकारले दिवाखाजा कार्यक्रम लागू गरेको छ । तर, व्यवहारमा अधिकांश विद्यालयका विद्यार्थीले दिवाखाजा पाएका छैनन् । दिवाखाजाको सट्टा अभिभावकलाई नगद पनि वितरण गर्ने गरिएको छ । सो रकम पनि दुरूपयोग भएको आशंका छ । कतिपय विद्यालयमा फर्जी विद्यार्थीको हाजिरी तयार पारेर रकम निकासा गरेकोसमेत स्थानीयको आशंका छ । कतिपय विद्यालयले जनप्रतिनिधि तथा स्थानीयको नाममा रकम भुक्तानी दिँदा अनियमितता भएको आशंका गरिएको हो ।

भेरी नगरपालिका–२ मा रहेको जनता प्राथमिक विद्यालयले पछिल्लो दुई वर्षदेखि नै खाजा रकम व्यवस्थापन समितिका सदस्य तथा भेरी नगरपालिका कार्यपालिका सदस्यको नाममा भुक्तानी दिँदै आएको छ । जनप्रतिनिनिलाई विद्यालयले २०७९ माघ १२ गते ८३ हजार र २०७९ चैत्र २८ गते एक लाख २४ हजार रुपैयाँँ बुझाएको छ । २०७९ चैत्र १९ गते बागेश्वरी आधारभूत विद्यालयले ६ जना स्थानीयको नाममा भरपाइ गरेको थियो । स्थानीय ६ जनाले विद्यालयमा तीन महिना खाजा खुवाएको भन्दै उनीहरुको नाममा ७७ हजार रुपैयाँ भुक्तानी दिएको थियो ।

विद्यालयले २०७० माघ २१ गते सोही ६ जनाले विद्यालयमा चामल, दूध, केरा, चिनी, चना र अण्डा खुवाएको भरपाइ गरेको छ । उक्त मितिमा ६३ हजार ६ सय भुक्तानी दिएको छ । त्यस्तै भेरी नगरपालिका–४ को रामजानकी प्राविले पनि खाजा खर्चको रकम स्थानीयको नाममा भुक्तानी दिँदै आएको छ । यो विद्यालयले साउनदेखि असारसम्म २१ किलो ४ सय ग्राम तोरीको साग खाएको भरपाइ गराएको छ । जसमध्ये साग खाएवापत विद्यालयले २०७९ असोज ६ गते ८६५ रुपैयाँ स्थानीय शान्तबहादुर शर्माले बुझेका छन् ।

विद्यालयहरूले नक्कली हाजिरी बनाउँदै लाखौ रकम निकासा गर्दै आएका छन् । खाजाका लागि आवश्यक खाद्यान्न विद्यालयले स्थानीयबाट खरिद गर्दछन् । तर खाद्यान्न बिक्रीकर्तासँग कानुनी रुपमा दर्तावाल पसल छैन । जसले गर्दा विद्यालयले खाद्यान्नवापतको रकम सिधै स्थानीयकै नाममा रकम भुक्तानी दिँदै आएको छ । भेरी नगरपालिका विद्यालयमा दिवाखाजा खुवाउने विद्यालयमध्ये धेरैले खाजाको रूपमा चाउचाउ, बिस्कुटजस्ता जंकफुड खुवाउने गरेको पाइएको छ ।





error: Content is protected !!