जाजरकोटमा दशैँ सम्म जडीबुटी प्रशोधनको सुरु हुँदै
जाजरकोट / कर्णालीकै पहिलो जडीवुटी प्रशोधन केन्द्र जाजरकोटमा निर्माण कार्य पुरा भएपछि प्रशोधनका काम गर्न उपकरण जडानको काम सुरु भएको छ । करिव ८ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वरका उपप्रवन्धक धर्मलाल नेपालले जानकारी दिए । दशै भित्र प्रशोधनका काम सुरु गर्न लागिएको छ ।
भेरी नगरपालिका –१ र ३ को टाट्केमा पहिलो चरणमा टिमुरको प्रशोधनको काम सुरु गरिन लागेको उनले बताए । २०७८ भदौ ९ गते तत्कालिन वन मन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त केन्द्रले दशै अघि नै प्रशोधनको काम सुरु गर्न लागेको हो । केन्द्रमा १ वर्षमा १० करोड बराबरको कारोबार हुर्ने उदेश्य रहेको छ । २०७९ जेठ ११ गते भित्र भवन निर्माण कार्य सम्पन्न गर्ने भन्दै ज्ञानज्योती बिल्र्डस प्रालि कोठेश्वर– १३ काठमाडौँले निर्माणको जिम्मा लिएको थियो । भवनको काम पुरा भएर अहिले प्रशोधनका मेसिनहरु व्यवस्थापनको काम भइरहेको छ ।
जाजरकोट मध्यपहाडी लोकमार्ग , छिन्चु जाजरकोट हुँदै डोल्पा जोड्ने त्रिदेशीय सडक र लुम्विनी रारा सडकको समेत बीच भागमा जाजरकोट पर्ने भएकाले यहाँ जडीवुटीको प्रशोधनको कामले गती लिने प्रतिनिधिसभा सदस्य तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताए । जाजरकोट सबै कुराको सम्भावनाको भण्डार रहेको भन्दै बिस्तारै सबै कुराको विकास हुने जानकारी दिए ।
सामाजिक–आर्थिक हिसाबले महत्वपूर्ण र औषधीय गुणले भरिपूर्ण विभिन्न जडीबुटीे कर्णाली क्षेत्र निकै धनी रहेको छ । उचित ज्ञान र बजारको अभाव, प्रशोधन क्षमताको अभावले गर्दा ती जडीबुटी मुल्य अभिवृद्धि नगरीकन नै विक्रीवितरण तथा निर्यात हुँदा बर्षेनी भारी रकम बाहिरिएको छ । जसको कारणले गर्दा देशले ठूलो आम्दानीको स्रोत गुमाइरहेको छ । ठूलो मात्रामा कच्चा अवस्थामा रहेका जडीबुटी निर्यात गर्दा पनि थोरै मात्र आम्दानी हुने अवस्था विद्यमान छ ।
विश्व बजारमा जडीबुटीजन्य उत्पादनका माग दिनानुदिन बढ्दै गइरहेको छ, त्यसमा पनि उच्च भू–भागमा पाइने जडीबुटीहरुको माग अतुलनीय र विशेष रहेको छ । कर्णालीका उच्च भू–भाग पाइने बहुमूल्य जडीबुटीले त्यहाँको गरिबी उन्मूलन तथा आयआर्जनको मुख्य स्रोत भएपनि उचित व्यवस्थापन नहुँदा अर्थतन्त्रमा भारी क्षेती हुँदै आएको छ । जाजरकोटमा निर्माण हुन लागेको प्रशोधन केनद्रले त्यो डोव पुरा गर्ने अपेक्षा लिइएको छ ।
कर्णालीको लगभग ९०% बहुमूल्य जडीबुटी बिना प्रशोधन कच्चा रुपमा नै विदेश निकासी हुँदै आइरहेको छ जसले यस क्षेत्रमा आश्रित मानिसहरु ले सही मूल्य तथा अवसर गुमाइरहेका छन् । कर्णालीमा सामाजिक–आर्थिक हिसाबले उन्नतिको सम्भावना बोकेको जडीबुटीजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापनाले त्यस क्षेत्रमा गरिबी उन्मुलन गर्न सहयोग मिल्ने अपेक्षा लिइएको छ ।