कोशी नदी ः कसैको उठिबास, कसैको आयस्रोत
वराहक्षेत्र ः कोशी कसैका लागि त्रास बनेको छ भने कसैका लागि जीविकाको आधार। वर्षायामको चार महिना कोशीमा आउने बाढीका कारण कोशी कोरिडोर आसपासका बासिन्दा त्रासले निदाउँदैनन्। कोशीबाट दाउरा निकालेर जीविका चलाउँदै आएका भने कोशीको बाढीसँगै बगेर आउने दाउरा, काठ निकाल्ने चटारोले निदाउँदैनन्।
बेलुका अबेर सुत्ने गरेका वराहक्षेत्र–८ का ७१ वर्षीय बचिलाल मण्डललाई बिहान कहिले हुन्छ भन्ने लागिरहन्छ। वर्षाको चार महिना (जेठ, असार, साउन, भदौ) उहाँ राम्रोसँग निदाउनुहुन्न । पानी परेर कोशीमा बाढी आएको दिन त उहाँलाई निद्रै पर्दैन। कोशीको भेलबाटै दाउरा निकालेर जीविका चलाउँदै आउनुभएका बचिलाल प्रतिनिधि पात्र हुनुहुन्छ।
कोशी कोरिडोर आसपास क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकाहरूले काठ, दाउरा निकालेर छ महिनासम्मको जोहो गर्दै आएका छन्। डुङ्गाको सहारामा उनीहरूले कोशीबाट दाउरा निकाल्दै आएका छन्। वराहक्षेत्रको सिसौलीघाट, शुक्रबारे, राजाबास, धरहरा टपनको कोशी किनारको क्षेत्रबाट प्रत्येक वर्ष लाखौँ रुपियाँ बराबरको काठ, दाउरा निकाल्ने गरिएको छ। पूर्वी पहाडी क्षेत्रबाट बाढीपहिरोले बगाएर ल्याउने घरगोठलगायत वनजङ्गलका उत्तिस, खयर, साल, चिलाउने आदिका काठ, दाउरा कोशीमा बगेर आउने गरेको छ। कोशीमा बगेर आउने काठ, दाउरा (दहत्तर, बहत्तर) निकालेर सयौँ परिवार वर्षको छ महिना पालिँदै आएका छन्।
वर्षामा कोशीको भेलसँगै आउने दाउरा निकाल्न त्यति सजिलो छैन। परिवार पाल्नका लागि उनीहरू कोशीको भँगालोमा ज्यानै जोखिममा राखेर दाउरा निकाल्छन्। ४५ वर्षीय शिवकुमार मण्डल भन्नुहुन्छ, “कोशी किनारमा भेला पारेको दाउरा देख्दा सजिलै पैसा कमाए जस्तो सोच्छन् तर दाउरा किनारसम्म ल्याउँदाको दुःख हामीलाई मात्र थाहा छ।”
मण्डलसहितको समूह बिहान सबेरै खाना खाएर डुङ्गा लिएर कोशीको भेलतिर लाग्नु उनीहरूको दैनिकी हो। डुङ्गा नभरुन्जेल कोशीमा डुब्दै दाउरा खोज्छन्। बेलुकी घाम नअस्ताउन्जेल खोज्दा कहिले त दाउरा हात पनि लाग्दैन। उनीहरू भोकै र रित्तै फर्किनु पनि पर्छ। “भेटिएको दिन त भोकै भए पनि खुसी अनुहार लिएर फर्किन्छौँ तर नभेटिएको दिन गलेको शरीर, निराश अनुहार, भोको पेट र रित्तो हात लिएर फर्किनु पर्छ,” गोल्छु सिंहले भन्नुभयो।
कोशीको भेलबाट दाउरा झिक्ने आआफ्नो समूह छ। एक समूहमा छदेखि १० जनासम्म हुन्छन्। उनीहरूले दिनभरि कोशीबाट निकालेको दाउरा बेलुका कोशी किनारमा थुपार्छन्। प्रतिट्याक्टरका दरले बेचेर आएको पैसा एकआपसमा बाँड्नुहुन्छ। उनीहरू १२ जनाको दुई वटा डुङ्गा छ। डुङ्गामा सवार भएर दाउरा खोज्न जाने गरेकामध्ये कोही डुङ्गा ठेल्छन् त कोही डुबेर दाउरा खोज्छन्। वर्षायाममा बिहान खाएर गएको खानाकै भरमा साँझसम्म दाउरा खोज्नु उनीहरूको दैनिकी हो। बचिलाल भन्नुहुन्छ, “कोशी महारानीको कृपा भयो भने डुङ्गाभरि काठ, दाउरा निकालेर ल्याउँछौँ। कहिलेकाहीँ आधा डुङ्गा मात्रै त कहिले रित्तै नि फर्किनु पर्छ।”
कोशीबाट निकालिएका काठ, दाउरा एक ट्याक्टरको १५ देखि २५ हजार रुपियाँसम्म बिक्री गर्ने गरेको वर्ष ३१ का विन्देश्वर मुखियाले बताउनुभयो। वराहक्षेत्र–८ का मुखियाले दाउरा निकालेरै चार जनाको परिवार पाल्दै आउनुभएको छ। उहाँ भन्नुहुन्छ, “अहिले गरेको दुःखले छ महिनासम्म खानलाई दुःख हुँदैन। ठुलो टुना काठ भेटियो भने त एकै दिनको मेहनतले महिनौँसम्म घर चलाउन सकिन्छ। यसपालि असारमा बाढी नआएकाले भने जस्तो दाउरा बेलैदेखि निकाल्न सकिएन। साउन अन्तिम र भदौ पहिलो साता आएको बाढीले केही खुसी ल्याएको छ।”
कोशीको पानीमा दिनभरि डुबेर दाउरा निकाल्नु उनीहरूको रहर नभई बाध्यता हो। जग्गाजमिन र रोजगारी नहुँदा घरको गर्जो टार्नै जोखिम मोलेर कोशीको दाउरा निकाल्नु पर्छ। वर्षौंदेखि कोशीबाट दाउरा झिकेर जीविका चलाउँदै आएका शिवकुमार भन्नुहुन्छ, “केही नहुने हामी जस्ताका लागि कोशी एउटा स्रोत बनेको छ। हाम्रो रोजगारी भनेकै यही हो। बर्खामा कोशीबाट झिकेको दाउराले तीनदेखि छ महिनासम्म परिवार पाल्न पुग्छ। त्यसपछि कोशी प्रोजेक्ट तटबन्धको काम खुलाएपछि तार, जाली बुन्ने बोरा भर्नेलगायतका काम गरेर जीविका चलाउँछौँ।”