डढुवा रोगले बेमौसमी तरकारी खेतीमा क्षति

सल्यान — जिल्लाको त्रिबेणी गाउँपालिका २ काभ्राका कर्णबहादुर थापाले दुई रोपनी जग्गामा १ हजार २ सय टमाटर बोट र डेढ रोपनी जग्गामा बन्दागोभी लगाएका थिए । लगातार परेको बर्षातका कारण फूल्ने समयमा टमाटरमा डढुवा रोग लागेर सुक्दै गएपछि उनले ९ सय बोट उखेलेर फाले ।

बन्दागोभी पनि रोगका कारण कुहिन थालेको छ । डढुवा रोगका कारण टमाटर र बन्दागोभी बारीमै सखाप भएपछि उनले १ लाख ५० हजार बराबरको क्षति ब्यहोर्नु परेको बताए । कपुरकोट गाउँपालिका ५ रिमस्थित हिमाली ताजा तरकारी उपभोक्ता कृषक समूहले ८ रोपनी जग्गामा टमाटर बन्दा, भेडेखुर्सानी, काउली, काँक्रो, बोडी, भिन्डी लगाएका थिए । टमाटर, काउली, बन्दा लगायतका तरकारी फल्दै गर्दा त केही फूलेका बेला डढुवा रोगले सखाप पारेपछि समूहमा आबद्ध १९ किसानले ८ लाख बराबरको क्षति ब्यहोर्नु परेको छ ।

यस्तै कपुरकोट गाउँपालिका ३ मुलपानीका किसान टेकबहादुर पुनले तीन रोपनी जग्गामा १ हजार ४ सय ५० बोट टमाटर लगाएका थिए । अहिले रोगका कारण उनले लगाएको सबै टमाटर सुक्दै गएका छन् । रोगका कारण फल समेत झर्दै गएका छन् । ‘रोगले फल उत्पादन हुने क्षमतामा ह्रास आएपछि २ लाख बराबरको क्षति भएको छ’ उनले भने ‘तरकारी बिक्री गरेर परिवार सहज रुपमा पाल्दै आएको थिएँ । वर्षमा दुईरतीन लाख नाफा हुने गरेको थियो । यसपालि लगानी समेत डुबेको छ ।’

यी तीन मात्र नभई कपुरकोट र त्रिबेणी गाउँपालिकाका दर्जनौं किसानले लगाएको २ करोड बढी रकमको बेमौसमी तरकारी डढुवा रोगले क्षति पुर्‍याएको छ । वर्षातको समयमा किसानले खेत तथा पाखोमा प्लास्टिक टनेल नबनाई खुल्ला रुपमा तरकारी लगाएको र रोग नियन्त्रणको विधि अपनाउन नसकेका कारण क्षति भएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले बताए ।

कपुरकोट गाउँपालिकाका किसानले एक हजार हेक्टरमा र त्रिबेणी गाउँपालिकाका किसानले दुई सय हेक्टरमा बेमौसमी तरकारी लगाउँदै आएका छन् । बेमौसमी तरकारी लगाएर दुई पालिकाका किसानले जीविकोपार्जन मात्र नभई वार्षिक २० करोड भन्दा बढी रकम भित्र्याउँदै आएका थिए ।

वर्षातका कारण बढी चिसो भएकाले रोग फैलिएको र पालिकाभर किसानको कुल लागत २५ लाख भन्दा बढी र २ करोड बढी रकमको तरकारी क्षति भएको भण्डारीले बताए । ‘कपुरकोट गाउँपालिकाभरका सबै किसान बेमौसमी तरकारीमा आत्मनिर्भर छन् । बेमौसमी तरकारी बेचेर मात्र वार्षिक २५ करोड बढी भित्र्याउँदै आएका छन्’ उनले भने ‘वर्षातको समयमा बेमौसमी तरकारी लगाउने गरेपनि किसानले रोग नियन्त्रणको विधि अपनाउन सकेका छैनन् ।’

कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख रेसमबहादुर बस्नेतले प्रत्येक वर्ष वर्षातको समयमा डढुवा रोगले कपुरकोट र त्रिबेणीका किसानले लगाएको बेमौसमी तरकारीमा क्षति पुग्ने गरेको बताए । डढुवा रोगबाट तरकारी बचाउन प्लास्टिक टनेलमा तरकारी खेती गर्नेतर्फ किसानलाई उत्साहित गर्दै आएको उनको भनाइ छ ।




सम्बन्धित समाचार


error: Content is protected !!