गेरुका मेलाको तयारी पूरा

जलेश्वर ः महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४, खुट्टा पिपराढीमा हरेक मलमास (पुरुषोत्तम मास) को अवसरमा लाग्ने गेरुका मेलाको तयारी पूरा भएको छ। मलमासलाई अधिकमास, पुरुषोत्तम मास पनि भनिन्छ।

गेरुका नदी संरक्षण समितिका सदस्य मनोज यादवका अनुसार साउन २ गतेदेखि सुरु हुने मलमासको अवसरमा गेरुका नदीमा स्नान गर्नेको भिड लाग्ने र ठुलो मेला लाग्ने गरेको छ। मेलामा आउने श्रद्धालुका लागि वस्त्र फेर्ने घर, स्वच्छ खानेपानी, शौचालय तथा मेला स्थलको तयारी भइसकेको छ। गेरुकामा रहेको गेरुका माई, रामजानकी मन्दिर, महादेव मन्दिरलाई सजाइएको छ। स्नान गर्ने घाटको सरसफाइ गरिएको छ।

स्थानीय ब्रजेशकुमार यादवका अनुसार मलमास अवधिभर गेरुका नदीमा स्नान गर्ने र गेरुका माईको पूजा गर्न आउने गरे पनि प्रत्येक आइतबार र मङ्गलबार विशेष चहलपहल र मेलामा भिड हुने गरेको छ। ‘मलमासको अवधिभर नेपाल र भारतका श्रद्धालुको एक महिनासम्म यहाँ ठुलै मेला र भिड लाग्ने गरेको छ।

बिग्ही र गेरुका नदीको सङ्गम स्थल गेरुकामा स्नान गरी पूजापाठ गर्नाले चर्म रोग निको हुने तथा पुत्र प्राप्ति हुने जनविश्वासको रहेको छ। हरेक तीन वर्षमा लाग्ने मलमासमा यहाँ भिड हुने गरेको छ। मलमास वा अधिकमासमा भगवान् नारायणको पूजा अर्चना गरिने गरिए पनि हिन्दु समुदायमा यस अवधिमा अन्य पूजा तथा विवाह, व्रतबन्धलगायतका शुभकार्य गरिँदैन।

मिथिला महात्म्यमा भएको वर्णन अनुसार मिथिला क्षेत्रका महत्त्वपूर्ण १५ नदीमध्येको एक गेरुका नदी पनि हो। पुरोहित देवचन्द्र झाका अनुसार मिथिलाको कोसी, कमला, विलुमती, जलाधी, यमुना, गेरुका, दुधमती, व्याघ्रवती, इच्छावती, विरजा, मण्डना, लक्ष्मणा, बागमती, गण्डकी र नारायणीलाई पुण्य र मोक्ष प्राप्तिका लागि फलदायी मानिँदै आएको छ। माता सीताको प्रिय सखीका स्वरूपमा रहेको यी नदीको पानीमा स्नान गर्नु फलदायी मानिने गरिएको छ। उहाँले भन्नुभयो, “यी दैविय आस्था बोकेको ऐतिहासिक, धार्मिक नदीमा स्नान गरेर नदीको तटमा जप, तप, दान, तपस्या गर्दा शुभादि फल प्राप्त हुने गरेको छ।”

लोहारपट्टीका प्रदीपकुमार दासले यसवर्ष जानकी मन्दिरका महन्थसहितको नेतृत्वमा गेरुका नदीमा शाही स्नान हुने कार्यक्रम रहेकोले महिना दिनदेखि नै गेरुका सरसफाइ हुँदै आएको बताउनुभयो। उहाँले ऐतिहासिक, धार्मिक गेरुका नदीको संरक्षण र प्रचारप्रसारका लागि नदीमा घाट निर्माण र सरसफाइ नियमित रूपमा हुने गरेको बताउनुभयो।

पुराणमा त्रेतायुगमा माता सीता गौ पूजन गरेर गेरुका नदीमा स्नान गर्दै विसर्जन गरेको उल्लेख गरिएको छ। त्यहीबेला माता सीताले गेरुका नदीलाई मलमासमा सबै देवीदेवताको जमघट भई गेरुका स्नान गर्ने वरदान दिएको बताइन्छ।





error: Content is protected !!