वेतन कर्णाली ः लगानी जुटाउन पहल

सुर्खेत ः सुर्खेत र अछामको सिमानामा निर्माण हुने वेतन कर्णाली जलविद्युत् आयोजनाका लागि लगानी जुटाउन पहल भइरहेको छ। लगानी सुनिश्चितता नहुँदा निर्माणले तीव्रता पाउन सकेको छैन।

विस्तृत परियोजना प्रतिवेदन डिपिआर० तयार भइसकेको छ। ४३९ मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न ८८ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ तर हालसम्म लगानीको स्रोत सुनिश्चितता भइसकेको छैन। कर्मचारी सञ्चय कोषले लगानी गर्ने सात अर्ब बजेट मात्रै सुनिश्चित भएको छ। बाँकी रकम आयोजना सुरु हुनुअघि नै सुनिश्चितता गर्नुपर्ने हुन्छ। त्यसैले अहिले प्रवर्धक कम्पनीले आयोजनाका लागि रकम सुनिश्चितताको पहल सुरु गरेको हो। लगानी सुनिश्चितताका लागि विभिन्न बैङ्कसँग छलफल अघि बढाइएको छ।

लगानी जुटाउनका लागि विभिन्न क्षेत्रसँग छलफल र भेटघाटलाई तीव्र बनाइएको वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका आयोजना प्रमुख उपेन्द्र न्यौपानेले बताउनुभयो। उहाँका अनुसार विभिन्न विकास बैङ्कसँग आयोजनाले छलफल गरिरहेको छ। फरक फरक क्षेत्रसँग छलफल र पहल भइरहेको आयोजना प्रमुख न्यौपानेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “आयोजना निर्माणका लागि ८८ अर्ब बजेट लाग्ने छ। अहिले विभिन्न कमर्सियल बैङ्कसँग लगानी जुटाउने विषयमा पहल गरिरहेका छौँ।”

यो आयोजना कर्णालीसँग जोडिएको अर्को ठुलो जलविद्युत् आयोजना हो। निर्माणपूर्वको तयारी भने अन्तिम चरणमा छ। आयोजनाको मुख्य काम गर्नुअघि गर्नुपर्ने तयारी र पूर्वाधार विकासका काम सञ्चालन भइरहेका छन्। बर्सात लागेपछि भने पूर्वाधार निर्माणका काम पनि प्रभावित हुन पुगेका छन्। बाटो निर्माणका काम रोकिएका छन्। बर्सातले बाटो निर्माण, पुल निर्माण, विद्युत् विस्तारका काम प्रभावित भएका हुन्। आयोजनास्थलसम्म पुग्न अछामतर्फबाट १८ किमी पहुँच सडक निर्माण कार्य पूरा भएको छ। सुर्खेत खण्डमा १४ किमीमध्ये १० किमी पूरा भएको छ। पहुँच सडक निर्माणपछि कर्णाली नदीमा बेलिब्रिज निर्माण गरिने छ। कैलालीको सुगरखालदेखि करिब ३० किमी दुरीमा ३३ केभी प्रसारण लाइन ल्याउने प्रक्रिया अघि बढिसकेको छ। हाल आयोजना निर्माण अन्तर्गत नियमित काम भइरहेको प्रमुख न्यौपानले जानकारी दिनुभयो।

आर्थिक वर्ष २०८०र८१ देखि मुख्य आयोजनाको काम सुरु हुने जनाइएको छ। आयोजनाको कार्य अघि बढाउन लगानी जुटाउने काम थालिएको हो। लगानीको सुनिश्चितता गरेपछि आयोजनाको ड्याम निर्माण, सुरुङ निर्माण र पावर हाउस निर्माणलगायतका काम अघि बढाइने छ। यो आयोजना सञ्चालन गर्न सन् २०१७ अक्टोबरदेखि नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन सुरु गरेको थियो। आयोजनास्थल, अतिक्रमित हुने क्षेत्र र लागत अनुमान पनि टुङ्गो लागेको छ।

आयोजनाका लागि कर्णाली नदीमा १४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत विद्युत् गृहमा पानी पुर्याइने छ। यस जलाशयमा एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ। यसरी जम्मा भएको पानी ६।६ किलोमिटर लामो हेडरेस टनेल र ३४५ मिटर लामो पेनस्टल पाइपबाट टर्वाइनमा खसालिने छ। आयोजनाको डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ तथा विद्युत् गृह, बेस क्याम्प हाउस, हेड टनेललगायतका मुख्य संरचना अछामको ढकारी गाउँपालिका–६ मा निर्माण हुने बताइन्छ। बाँधस्थल दुवै गाउँपालिकाको सीमामा पर्दछ। ९० मिटर अग्लो बाँध निर्माणपश्चात् २१ किलोमिटर लामो जलाशय क्षेत्र बन्ने छ। आयोजना २०८० मा सुरु भई पाँच वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको जनाइएको छ।





error: Content is protected !!