कुवाहरू सुके, धारामा हप्तामा मुस्किलले एक दिन पानी

वीरेन्द्रनगर — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जहिल्यै खानेपानीको अभाव हुने गरेको छ । बाह्रै महिना वीरेन्द्रनगरका स्थानीयले पानीको समस्या झेलिरहेका छन् । वैशाख महिना सुरु भएदेखि वीरेन्द्रनगरका घरघरमा जडान गरिएका धारामा अहिले ५ देखि ७ दिन बिराएर पानी आइरहेको छ ।
लामो समयको खडेरीका कारण स्थानीयले घरमा खनेका पानीका कुवाहरुमा पनि सिमित मात्र पानी आउँछ । अधिंकाश स्थानीयका पानीका कुवा त यो वर्ष सुकिसकेका छन् । १६ वडा भएको वीरेन्द्रनगरका सबै बस्ती अहिले काकाकुल छन् । ‘१ महिनाबाट घरको धारामा पानी आएको छैन,’ वीरेन्द्रनगर नगरपालिका(२ बांगेसीमलकी रमा भण्डारीले भनिन्, ‘धाराको पानीको विकल्पका रुपमा खनेको पानीको कुवा पनि यो वर्ष फागुन अन्तिमतिरबाटै सुकिसक्यो ।’ खानेपानी ल्याउनको लागि पनि आजभोलि आफन्तकै भरपर्नुपर्ने बाध्यता रहेको गुनासो उनले पोखिन् । खानेपानी मागेर काम चलाए पनि अन्य घरायसी काममा चाहिने पानीको जोहो गर्न सकिएको नसकिएको उनले बताइन् ।
कुवामा खान पुग्ने ५ लिटर मात्र पानी आउने गरेको वीरेन्द्रनगर नगरपालिका(२ कै स्थानीय पदमादेवी शाही बताउँछिन् । उनी भन्छिन् ,‘यो गर्मीमा नुहाउन पनि राम्रोसंग पाइएको छैन । गाईगोरुलाई पनि पेटभरि पानी दिन सकिएको छैन ।’ आकाशबाट पानी नपरेकोले घरमा खनेको कुवा सुक्नै लागेको उनले बताइन् । घरको धारामा १ महिनाबाट पानी नआएको दुःखेसो पोखिन् । वीरेन्द्रनगर नगरपालिका(३ कि सीता विकले पानीको समस्या भोगेको २ वर्ष बढी भयो । दैलेखबाट बसाइ सरेर वीरेन्द्रनगर पुगेबाटै उनले पानीको लागि दुःख गर्न परिरहेको छ । पानी लिनको लागि झण्डै आधा घण्टा हिँडेर घरबाट स्थानीय मूलपानी मुहानमा पुग्नुपरेको उनले बताइन् ।
हुनेखानेले बजारबाट किनेर पानीको व्यवस्थापन गर्ने भए पनि आफूहरुलाई ठूलो समस्या भएको वीरेन्द्रनगर नगरपालिका(७ चिसापानीकी डिलु सोनीले दुःखेको पोखिन् । ‘धारामा ६ दिनमा १ दिन पानी आउँछ । त्यो पनि २ घण्टा जति मात्र आउँदा सानो पानी आउने गरेकाले भाडा भर्नै समस्या हुने गरेको उनको भनाइ छ । घरको धारमा पानी आउन धेरै समय लाग्ने भएकोले १ घण्टा टाढा बुलबुले हिडेँर नुहाउन र कपडा धुनको लागि जानुपरेको वीरेन्द्रनगर नगरपालिका(७ की शान्ती बमले बताइन् । ‘त्यहाँ पनि निकै भीड हुन्छ,’ उनले भनिन्, ‘पालो पाउनै मुस्किल ।’
वीरेन्द्रनगरमा पानीको आपूर्ति कम र पानी उपभोग गर्नेहरूको संख्या बढी छ । पानीको स्रोतको कमी हुँदा स्थानीयले पानीको अभाव भोग्नुपरिरहेको वीरेन्द्रनगरमा पानी उपलब्ध गराइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बरबहादुर गौतमले पानीको उत्पादन कम हुँदा समस्या भएको बताए । उनका अनुसार वर्षायामभन्दा अहिले खडेरीले झण्डै ६० प्रतिशत पानीको उत्पादन घटेको छ।अहिले वीरेन्द्रनगरमा झुप्राखोला, खरीबोरीखोला , इत्रामखोला, खोर्केखोला र बुलबुलेको पानी प्रयोग भइरहेको छ । यी खोलाबाट प्रतिसेकेन्ड १ सय ३६ लिटर मात्र पानी उत्पान भइरहेको छ । माग भने प्रतिसेकेन्ड २ सय ७५ लिटर भएको उनको भनाइ छ । उनका अनुसार सस्थाले वीरेन्द्रनगरमा करिब २० हजार धारा वितरण गरेको छ । वीरेन्द्रनगर बजारभित्र झण्डै ३७ हजार घरधुरी रहेको राष्ट्रिय जनगणना–२०६८ को तथ्यांक छ । ३५ हजार घरधुरीमध्ये हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार यो वर्ष थप घरधुरीमा खानेपानीको लाइन वितरणपछि अझ पानी अभाव हुने देखिन्छ । अहिले प्रयोग भइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम हो ।
यता ३ दशक पछिको जनसंख्यालाई मध्यनजर गरी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न भनेर ‘भेरी पम्पिङ’ योजना अघि बढाइएको छ । ०७७ देखि आयोजनाका लागि बजेट विनियोजन हुँदै आएको हो । भेरीको पानी पम्पिङ गरेर वीरेन्दन्रनगर ल्याउन संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीयतहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लिपटिङप्रविधिमार्फत उपत्यकामा ल्याउने भनिएको छ । ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको विषयमा हालै नगरपालिकामा छलफल पनि भएको छ । वन क्षेत्र भएकाले इआईए गर्नुपर्ने भएपनि अहिले सम्म त्यो काम अघि बढेको छैन । दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरण अन्तर्गत ४ अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालका अनुसार खानेपानी सम्बन्धमा नगरपालिकाले ऐन ड्राप्ट गरेको छ । नगर सभाबाट पास भएपछि आयोजनाको टेन्डर प्रक्रियामा अघि बढ्ने उनले बताइन् । उनका अनुसार असार मसान्तसम्म आयोजनाको टेन्डर आव्हान हुनेछ । पहिलो चरणमा नदीबाट पानी पम्पिङ गर्ने, ट्यांकी बनाउनेदेखि पानी वितरणसम्मको काम हुनेछ । आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिका–११ अमृतडाँडामा पानी ल्याउने छ । पहिलो चरणमा भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, रिजर्भ ट्यांकी निर्माण र अमृतडाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्यपानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य छ । दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी चार सय मिटर उचाइमा प्रशोधन ट्याङ्की ९ट्रिटमेन्ट प्लान्ट० मा खसालिनेछ ।
त्यसपछि करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्यांकीमा पानी खसालिनेछ । ५ सय ५० मिलिमिटर क्षमताको पाइप अमृत डााडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने छ । अमृत डााडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । अबको ६ वर्ष भित्र भेरीको पानी वीरेन्ऽनगरमा आइपुग्ने लक्ष्य राखिएको छ । आयोजना डिजाइन कन्सल्टेन्सी प्रशान्त मल्लका अनुसार आर्थिक वर्ष २०८०र०८१ का लागि १ अर्ब ५० करोड बराबरको बजेट अनुमान गरिएको छ । त्यसमा संघीय सरकारको ८५ करोड, वीरेन्द्रनगर नगरपालिकाको ७ करोड ३५ लाख र प्रदेश सरकारबाट १३ करोड ६५ लाख बजेट विनियोजन गर्नुपर्ने हुन्छ ।



