कर्णालीको मह विदेशमा
सुर्खेत ः २ वर्षअघि जाजरकोटको नलगाड नगरपालिका– १ कलपतमा पुगे मौरीविज्ञ बेलायती नागरिक ७३ वर्षीय रुडी रेप्का । कल्पतमा महको राम्रो उत्पादन हुन्छ भन्ने थाहा पाएर त्यहाँ पुगेका उनले झन्डै एक महिना गाउँमा बसेर स्थानीय किसानलाई मौरीपालनका विभिन्न उपाय र सीपबारे जानकारी दिए ।
अहिले उनले नेपालको महलाई विश्व बजारमा पुर्याइरहेका छन् । उनकी पत्नी लिडिया अनियला रेप्काले पनि नेपालको महलाई बेलायतमा बजारीकरण गरिरहेकी छिन् ।
जाजरकोटकै नलगाड नगरपालिका–४ सिलालका धर्मराज रावलले गत ३५ वटा घारमा मौरी उत्पादन गरिरहेका छन् । गत वर्ष उनको मौरीपालन फार्मबाट एक सय ५० किलो उत्पादन भएको थियो । उनले त्यो सबै उनका भाइ हरिबहादुर सञ्चालक रहेको काठमाडौंको कीर्तिपुरस्थित कर्णाली एग्रो स्टेसनमा पठाए । सबै मह विदेशमा गएछ, उनले भने, अब त चिनो, कागुनो, फापर, मार्सीसँगै कर्णालीको महले पनि विदेशी बजार पायो, बर्सेनि मूल्यसँग बजार पनि बढ्दै गएको छ ।
उनका अनुसार नलगाड नगरपालिकामा मात्रै दुई सय ५० जना व्यावसायिक मौरीपालक किसान छन् । तर वन विनास, अतिक्रमण बढ्नु, जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मौरीपालनमा समस्या आएको उनले बताए । अर्गानिक महका लागि मौरीको सबैभन्दा उत्तम आहारा चिउरी मानिन्छ । पानी कम पर्दा मह उत्पादन बढ्ने गरेको उनको भनाइ छ ।
कर्णालीमा सेराना, कठ्यौरी, पुतुका र भीर मौरीको बासस्थान छ । अहिले नलागड नगरपालिकाले समेत मौरीपालनमा किसानलाई थप व्यवसायिक बनाउन विभिन्न योजना अघि सारेको छ । नगरप्रमुख रत्नबहादुर खड्काले नगरका अधिकांश गाउँलाई मौरीपालनको पकेट क्षेत्रका रूपमा विकास गर्न खोजिएको बताए । अन्तर्राष्ट्रिय बजारको मापदण्ड पूरा गर्न सकेमा महको बजारीकरणमा कुनै समस्या नहुने कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किट विकास केन्द्रका विज्ञ हरिहर अधिकारीले बताए ।
कर्णालीमा मह उत्पादनका लागि जाजरकोट, सल्यान र हुम्ला पकेट क्षेत्र मानिन्छन् । कर्णालीमा ३० हजार ५ सय ४६ हेक्टर क्षेत्रफलमा मह उत्पादन हुन्छ । प्रदेशभरि ३ सय ९१ मेट्रिक टन मह उत्पादन हुने गरेको कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार त्यसमध्ये जाजरकोटमा ११ सय ८५ हेक्टरमा मौरीपालन गरिएकोमा ३५ मेट्रिक टन र ७७ सय २५ हेक्टरमा मौरीपालन गरिएको सल्यानमा ३८ टन र २६ सय ४० हेक्टरमा मौरीपालन गरिएको हुम्लामा २१ मेट्रिक टन मह उत्पादन हुन्छ । यो वर्ष ३ वटै जिल्लामा मह उत्पादनमा बृद्धि भएको मन्त्रालयले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले मह उत्पादनमा वृद्धि भएको मन्त्रालयका धनबहादुर कठायतले बताए । उनका अनुसार जाजरकोटको नलगाड नगरपालिकाको कल्पत, पाली, चिउरी, डाडागाउँ, लहँ, खगेनकोट र भेरी नगरपालिकाको पिपे, मैदे, डुँग्रीकाडा, पुराना रिसाङलगायत क्षेत्रमा मह उत्पादन बढेको छ । ‘विभिन्न रोगका कारण मौरी घार घटेका छन्, तर घार कम भए पनि मह उत्पादन बढेको छ, उनले भने, ‘यस वर्ष १ सय मेट्रिक टन मह उत्पादन भएको अनुमान छ । एक मेट्रिक टन महको मुल्य उत्पादन क्षेत्रमै १६ लाख पर्ने उनले बताए ।
हिमाली जिल्ला हुम्लामा मह उत्पादन बढ्दै गएको छ । स्थानीय बजारमा गत वर्ष प्रतिकिलो पाँच सयमा बिक्री भएको महको मूल्य यस वर्ष सात सय रुपैयाँ पुगेको छ । अर्गानिक कात्तिके महको माग बढेपछि मूल्य बढ्दै गएको हो । मह उत्पादन बढेपछि ग्रामीण क्षेत्रका किसानलाई घर व्यवहार चलाउन सजिलो भएको छ । मौरीमा मेहनत र लगानी कम लाग्ने र आम्दानी धेरै हुने गरेको सर्केगाड–३ का किसान रणबहादुर बुढाले बताए । उनका अनुसार जिल्लाको अर्गानिक महले मानव स्वास्थ्यलाई चाहिने पोषणको आपूर्तिमा टेवा पुग्ने गरेका कारण माग बढ्दै गएको छ । हुम्लामा झण्डै ६ हजार मौरीघार रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख चन्द्रभुषण झाले बताए ।
मन्त्रालयले ५ वर्षको अवधिमा मौरीपालनको विस्तार र बजारीकरणमा झण्डै ७ करोड रुपैयाँ खर्च गरिसकेको छ । आगामी आर्थिक वर्षमा जाजरकोट र हुम्लालाई मह उत्पादनको हबका रूपमा विकास गर्ने गरी झन्डै ३ करोड बजेट विनियोजन गरेको छ ।
‘यहाँको महको माग विदेशी बजारमा समेत व्यापक छ, परम्परागत मौरीपालनलाई व्यावसायिक बनाउँदै किसान क्रमशः आत्मनिर्भर भइरहेका छन् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले भने, किसानलाई थप व्यवसायिक बनाइ महको प्रशोधन र ब्रान्डिङलाई आगामी वर्षमा विशेष कार्यक्रमका रूपमा लिएका छौं ।