पूर्वी पहाडमा बाढीपहिरो ः ५ को मृत्यु २८ बेपत्ता

संखुवासभा, ताप्लेजङ र पाँचथर — शनिबार रातिको बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा पाँच जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता छन् । तीनै जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सडक, पुललगायतका संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ । निर्माणाधीन र निर्माण सकिएका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
बाढीपहिरोमा परी पाँचथरमा दुई तथा संखुवासभा र ताप्लेजुङमा एक–एक जनाको मृत्यु भएको छ । यस्तै, धनकुटाको छथर जोरपाटी–४ तेलियास्थित तमोर नदी किनारमा आइतबार साँझ एक महिलाको शव फेला परेको छ, जसको सनाखत हुन सकेको छैन । संखुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन् ।
संखुवासभामा हेवा खोलाको बाढीले पाँचखपन नगरपालिका–९ का सन्तोष राईको ज्यान लिएको छ । चैनपुर नगरपालिका–४ मा निर्माणाधीन ६ मेगावाटको सुपर हेवा हाइड्रोपावरका १८ जना सम्पर्कविहीन छन् । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भन्ने आइतबार अबेरसम्म यकिन हुन नसकेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । उनका अनुसार उक्त हाइड्रोपावरको संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ । हाइड्रोपावरमा कार्यरत राजेश श्रेष्ठ, टीकाराम थारू र दीपकराज थारू घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
चैनपुर–४ र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढीले जनधनको क्षति गरेको हो । बाढीले पाँचखपन र चैनपुर जोड्ने मोटरेबल पुल पनि बगाएको छ । पूर्वाधार विकास कार्यालयले गत वर्ष मात्र उक्त पुल बनाइसकेको थियो । खोला किनार आसपासका ८ घर बगेको छ । बाढीले निर्माण सामग्री, ढुवानी र सवारीसाधन पनि बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेतीयोग्य जमिन बालुवा र हिलोले पुरिएको छ । सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता छन् ।
बेपत्ताको खोजीका लागि आइतबार बिहानैदेखि सुरक्षाकर्मी र स्थानीय जुटेका थिए । प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर धनजनको क्षतिबारे अवगत गराउँदै उद्धार र राहतका लागि पहल गर्न आग्रह गरेको छ । कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो, प्रदेश सदस्य विदुर लिङ्थेप, सेनाका पृतनापति आशबहादुर तामाङ, सशस्त्रका डीआईजी अन्जनी पोखरेललगायतले हेलिकोप्टरबाट प्रभावित क्षेत्र निरीक्षण गरेका थिए ।
ताप्लेजुङ मेहेले–६ का ३० वर्षीय गणेश तामाङको घरअगाडि खहरे खोला छ । बिहीबारदेखि परिरहेको पानीले खहरे बढाउँदै थियो । शनिबार साँझ मुसलधारे वर्षा सुरु भएपछि खोला उर्लियो ।
गणेशको परिवारले असुरक्षित महसुस गरेपछि घर छाड्ने निधो गर्यो । त्यतिबेला रातको ९ बजेको थियो । परिवारमा गणेशका बाआमा र दुई छोरी मात्र थिए । उनकी श्रीमती एक छोरी लिएर माइत गएकी थिइन् । बाबुआमा र दुई छोरी रिदम र मीनालाई लिएर गणेश डाँडातिर सुरक्षित ठाउँमा जाँदै थिए । करिब एक सय मिटर पर पुग्दा गणेशलाई पहिरोले भेट्यो । गणेशकी छिमेकी समेत रहेकी जसोदा आधारभूत विद्यालयकी शिक्षिका यशोदा चौहान कार्कीका अनुसार छोरीले बोकेको सुरुवाल झरेपछि त्यसलाई टिप्न फर्किएका बेला गणेश पहिरोमा परेका थिए ।
टर्च बालेर जाँदै गरेका गणेशलाई पहिरोले बगाएपछि बाआमाले रोइकराइ गरे तर राति खोज्न सक्ने अवस्था नभएपछि कलिला नानीहरू लिएर पूर्णबहादुर भट्टराईको घरमा पुगें । आइतबार बिहान खोजी गर्ने क्रममा गणेशको शव भेटिएको प्रहरीले जनाएको छ । गणेशको घरमा भने पहिरोले क्षति पुर्याएको छैन । ‘घरमै बसेका भए केही नहुने रहेछ, सुरक्षित हुन खोज्दा बाआमा र नानीहरू त बचाए, आफू बिते,’ स्थानीय दिवस भण्डारीले भने ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चोङवाङका अनुसार सोही पहिरोमा परेका ६३ वर्षीया भगीमाया, ३३ वर्षीया सन्ध्या र ९ वर्षीय प्रज्वल बुढाक्षत्री भेटिएका छैनन् । बाढीपहिरोले जिल्लाभर ५१ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाभरमा तीन पक्की पुल र पाँच झोलुंगे पुलमा क्षति पुगेको छ । सात सरकारी कार्यालय र एक विद्यालयमा क्षति पुगेको छ । पहिरोले सिदिङवा–६ स्थित स्वास्थ्य चौकी बगाएको छ । स्वास्थ्य चौकी वडा कार्यालयमा सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी (बन्दना) कडरियाले जानकारी दिइन् ।
बाढीका कारण मैवाखोलाले धार परिवर्तन गरेपछि ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजार जोखिममा परेको छ । यहाँका व्यापारी आइतबार बिहानैदेखि सामान माथिल्लो क्षेत्रमा सारिरहेका छन् । मेरिङदेन गाउँपालिका–३ का वडाध्यक्ष गजेन्द्र लिम्बूका अनुसार शनिबार बेलुका मैवाखोलाको बाढी हेर्दै जाग्राम बसेका स्थानीय राति २ बजेपछि आत्तिएका थिए । ‘खोला पारिपट्टिबाट बगिरहेको थियो, राति २ बजेतिर धार परिवर्तन गरेर बस्ती केन्द्रित भएपछि होस हवास उड्यो,’ व्यापारी टंक खतिवडाले भने, ‘बस्तीको सुरक्षाका लागि २०७२ देखि लगाइएको ग्याबिन वाल बाढीले भत्काएको छ ।’ आइतबार बिहानदेखि खोलो घटेकाले केही राहत महसुस गरे पनि जति बेला पनि बस्ती बढार्ने जोखिम रहेको उनले सुनाए । तमोर र मैवाखोला मिसिएको ठाउँ नजिकै रहेको दोभान बजारमा ७६ परिवारको बसोबास छ ।
ताप्लेजुङको बाहिरी सडक सम्पर्क टुट्यो
छिमेकी जिल्ला पाँचथर, तेह्रथुम र संखुवासभासँग सडक सञ्जालले जोडिएको हिमाली जिल्ला ताप्लेजुङसँगको सडक सम्पर्क आइतबार बिहानदेखि टुटेको छ । तमोर नदीमा आएको बाढीले तेह्रथुम र संखुवासभासँगको सम्बन्ध टुटाएको छ । हेवाखोलामा पुल बग्दा पाँचथर सदरमुकाम फिदिम हुँदै इलाम–झापा झर्ने यातायात अवरुद्ध भएको छ ।
बाढीले पाँचथर–तेह्रथुम जोड्ने तमोर करिडोरको बेलिब्रिज पनि बगाएको छ । मेची राजमार्गमा पर्ने हेवाखोलाको पुल बाढीले बगाएपछि मानिस र गाडी पारिका पारि र वारिका वारि नै अल्झिएका छन् । झापाको बिर्तामोड र सुनसरीको धरानबाट खाद्यान्नसहित दैनिक उपभोग्य र निर्माणका सामग्री बोकेका गाडी बाटैमा रोकिएका छन् । उत्तर–दक्षिण लोकमार्ग आयोजनाका प्रमुख अमिन्द्र खड्काले सडक नियमित रूपमा सञ्चालन हुन एक साताभन्दा बढी लाग्न सक्ने बताए । हेवाखोलाको पुल बन्न समय लाग्ने भए पनि माझीटारको बेलिब्रिज चाँडो बन्ने भएकाले त्यसलाई जोड दिनुपर्ने भएको छ उनले भने ।
वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने दोभान–साँघु–गुफा हुँदै वसन्तपुर जोड्ने सडक र दोभान–निगुरादिन हुँदै तेह्रथुमको संक्रान्ति जोड्ने सडकको दोभान खण्ड पनि अवरुद्ध भएकाले ताप्लेजुङबाट यात्रुवाहक सवारीसाधन ठप्प छन् । सडक कार्यालयका अनुसार वर्षा थामिएर खोला घटे दोभान सडक चाररपाँच दिनमा सञ्चालन गर्न सकिन्छ । तर, यो सडकबाट ढुवानीका साधन चलाउन सहज नभएको कार्यालयले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले मेची राजमार्ग र तमोर करिडोर चाँडो सञ्चालन गर्ने व्यवस्था मिलाइदिन प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । २०७२ मा पहिरोले मेची राजमार्ग आठ दिन ठप्प भएको थियो । यातायात विच्छेदले जिल्लामा खाद्यान्न, पेट्रोलियम पदार्थलगायतको अभाव हुन नदिन सडकलाई पहिलो प्राथमिकतामा राखिएको ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । बाढीले पाँचथरका फिदिम, हिलिहाङ, याङवरक र फालेलुङमा ६ पक्की र ७ वटा झोलुंगे पुल बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । याङवरक र फालेलुङमा दर्जन घर बगेका छन् । आइतबार साँझसम्म २४ घरपरिवार विस्थापित भएका छन् ।
नानी च्यापेर तीन दिनदेखि ओडारमा
ताप्लेजुङको सिदिङवा–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ र अनिता राई गुरुङ अढाई वर्षकी नानी च्यापेर तीन दिनदेखि ओडारमा छन् । कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा ओडारमा उनीहरू थुनिएका हुन् ।
डेनिसकी आमा चेतमाया गुरुङका अनुसार उनीहरू गत सोमबार आलु खन्न र मकै गोड्न घरदेखि आधा दिनको पैदलमा रहेको गाग्रे भन्ने ठाउँ गएका थिए । याक्सा ९गोठ० छेउदेखि पहिरो झरेर खसीबाख्रा बगाएपछि उनीहरू ओडार सरेका हुन् । चेतमायाका अनुसार ओडारको तीनतिर रहेका कुनै पनि खोला तर्न सकिँदैन । वडा सदस्य राजकुमार इम्बुङका अनुसार शनिबार बुरुमखिम टोल विकास समितिका अध्यक्ष याम राईले उद्धारका लागि तीन जनाको टोली पठाएका थिए । तर, वर्षाका कारण जान सकेनन् । ‘खोला नघटेसम्म पैदल मार्गबाट उद्धार कठिन छ इम्बुङले भने ।
‘थुन्यो भन्दाभन्दै बगायो
मध्यरात अचानक बाढी आउँदा पाँचथरको फिदिमस्थित माउन्टेन हाइड्रोमा कार्यरत ४५ वर्षीय दिलकुमार तामाङ र २८ वर्षीय सन्जोक लोवा पावरहाउसमै थिए । पावरहाउसबाट बगेको आशंका गरिएका उनीहरूमध्ये फिदिम–१० का लोवाको शव कुम्मायक गाउँपालिका–५ स्याब्रुबामा आइतबार साँझ भेटिएको छ । तामाङको अवस्था भने अज्ञात छ । ‘मध्यराततिर साथीहरूले बाढी हाइड्रोको ड्याममा पसेर थुन्न लाग्यो भनेर सञ्चार सेटबाट सुनाए, हामीले छिटो गरेर सुरक्षित स्थानमा जानू भन्दाभन्दै सम्पर्क टुट्यो, मोबाइलमा डायल गर्दा पनि लागेन,’ माउन्टेन हाइड्रोका कर्मचारी राम थापाले सुनाए ।
हेवाखोलाले बगाउँदा फिदिम–५ घर भई हाल फिदिम–४ मा बस्दै आएका ५५ वर्षीय राजकुमार राई, हिलिहाङ–७ का २७ वर्षीय आशिष माझी र उनकी २५ वर्षीय पत्नी एलिसा माझी बेपत्ता भएका छन् ।
पहिरोले पुर्दा घाइते भएकी फालेलुङ–३ की ९ वर्षीया जुना सावदेनको मृत्यु भएको छ । मध्यरातमा घर माथिबाट आएको पहिरोमा उनी पुरिएकी थिइन् । झन्डै ७ घण्टापछि स्थानीयले उद्धार गरेर उनलाई सदरमुकाम ल्याएका थिए । जिल्ला अस्पतालमा उनलाई मृत घोषणा गरेएको हो ।



