ऊनबाट पश्मिना बनाउन गोठमै तालिम

हेमन्त केसी
डोल्पा ः माथिल्लो डोल्पाका च्याङ्ग्रा पालक किसानलाई भुवा कोर्ने तालिम दिइएको छ । च्याङ्ग्रा पालन अत्यधिक हुने भएकाले उपल्लो डोल्पामा भुवा कोर्ने तालिम दिएर पश्मिना बनाउने कार्यलाई थप व्यवस्थित गरेर लैजाने उद्देश्य रहेको छ । आधुनिक तरिकाले भुवा कोरेर निकालिएको भुवाबाट विभिन्न प्रकारका कपडा तयार हुने भएपछि यसलाई आधुनिकरणमा जोड दिइएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए ।
माथिल्लो डोल्पाका तीन वटा पालिकामा च्याङ्ग्रा पालन गरिन्छ । स्थानीय उत्पादनलाई जोड दिनका लागि आधुनिक भुवा कोर्ने तालिम दिइएको पालिकाले जनाएको छ । भुवा संकलनको आधुनिक विधिबारे सरोकारवालासँग छलफल समेत गरिएको छ । युरोपेली युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको आर्थिक तथा प्राविद्यिक सहयोग र नेपाल पश्मिना उद्योग संघको संयोजनमा उक्त तालिम दिइएको छ ।
तीन पालिकाका च्याङ्ग्रा पालक किसानलाई भुवा संकलन सम्बन्धी तालिम दिइ प्रत्येक पालिकाबाट दुई जनालाई उत्कृष्ट प्रशिक्षक बनाइने आयोजक प्रभाकर घिमिरेले बताए । तालिममा तीन वटा पालिकाबाट ६० जना सहभागी रहेका छन् । दुइ जना उत्कृष्ट प्रशिक्षकले यहाँका तीन पालिकामा तालिम तथा परामश दिने विश्वास लिइएको छ । भुवालाई आधुनिक विधिबाट निकालेर पश्मिना कोर्ने, प्रशोधन गर्ने, आपूर्ति तथा गुणस्तर अभिवृद्धि गर्ने बिषयमा छलफल तथा तालिम दिइएको छ ।
माथिल्लो डोल्पाका ३ वटा स्थानीय तह छार्काताङ्सोङ्ग ,डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकाका जनप्रतिनिधि, व्यापारी, उद्योगी, व्यापारी, पश्मिना उद्योगी, च्याङ्ग्रा पालक किसानको सहभागितामा पहिलो चरणमा दुनैमा छलफल गरी दोस्रो चरणमा तालिम गरिएको आयोजकले बताएको छ । यो कार्यक्रममा डोल्पाका माथिल्लो क्षेत्रमा रहेका तीन स्थानीय तह छनौटमा परेपछि उक्त तालिम तथा प्रशिक्षण दिन सुरु गरिएको हो । किसानलाई गोठमै गएर उक्त भुवा कोर्ने तालिम दिन सुरु गरिने छ ।
पश्मिना निर्माण गर्ने व्यवसायीले च्याङ्ग्राबाट निकालिएको भुवालाई आफूहरुले बजारकरण गर्न सहयोग गर्ने बताएका छन् । गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा च्याङ्ग्रा पालन व्यवसायलाई अझैँ विकास तथा गुणस्तर सुधारका लागि आबश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको डोल्पोबुद्ध गाउपालिका अध्यक्ष कार्मा छोईबेल गुरुङले बताए ।
आधुनिक तरिकाले भुवा संकलनका गर्न आवश्यक सामग्रीहरु हस्तान्तरण समेत गरिने युरोपेली युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रममा परामर्शदाता शिचन श्रेष्ठले बताए । च्याङ्ग्रा माथिल्लो डोल्पाको सबै भन्दा राम्रो पशुपालन मध्यमा पर्दछ । आवश्यक खाद्यान्न ढुवानी, मासु तथा भुवाको लागि च्याङ्ग्रा प्रसिद्ध रहँदै आएको छ । पश्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वीटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ ।
नेपालले सन् २०२१ मा २ अर्ब ५३ करोड रुपैयाँ ९करिब १ करोड ९३ लाख अमेरिकी डलर बराबर० को पश्मिना सल निर्यात गरेको थियो । यो रणनीतिले सन् २०२६ को अन्त्यसम्ममा ७ करोड ५० लाख अमेरिकी डलर मूल्य बराबरको पश्मिना निर्यातको लक्ष्यसहित नेपालबाट यसको निर्यातमा दिगो वृद्धिमार्फत थप राष्ट्रिय समृद्धि हासिल गर्न सहयोग पुर्याउनेछ ।



