संकटमा स्यार्पुताल

रुकुम पश्चिम ः बाँफिकोट गाउँपालिका–३ का जोखु खत्रीले स्यार्पुतालको वरिपरि बसेर झन्डै ८६ वर्ष गुजारिसकेका छन् । यो उमेरसम्म उनले स्यार्पुतालको अनेक आकार देख्न भ्याए । ‘कुनै बेला ताल फुट्ने र चारैतिरबाट ताल पुरियो पनि,’ उनले भने, ‘अहिले त मान्छेले लोभपापले गर्दा तालै नरहने हो कि भन्ने चिन्ता छ ।’

उनका अनुसार २०२२ भदौ ११ मा पहिलोपटक स्यार्पुतालबाट बाहिरिने पानीको बहावले बाटो बदलेको थियो । त्यसयता तालको पानी पश्चिम–दक्षिणतर्फ एकत्रित हुने क्रम कायमै छ ।

तालको मुहान क्षेत्रमा पर्ने सानीबोदले जलाधार क्षेत्रबाट झरेको पहिरो बाढीका रूपमा स्यार्पुतालमा पस्नु ताल संकटमा पर्नुको मुख्य कारण भएको उनी बताउँछन् । तालभन्दा माथिको जंगलमा मानवीय गतिविधि बढेकै कारण ताल संकटमा परेको उनको दाबी छ । ‘बर्सेनि स्यार्पुताल खुम्चिरहेको छ,’ उनले भने, ‘संरक्षण नभए एक दशकभित्रै स्यार्पुतालको अस्तित्व लोप हुने जोखिम छ ।’

पहिलोपटक पहिरो आएर ताल पुरेको ३८ वर्षपछि २०६० साउन ३२ मा अर्को ठूलो पहिरो स्यार्पुतालमा खस्यो । तालनजिकैको खारखोलाको मानव बस्तीसमेत बगाउने गरी आएको उक्त पहिरोले ताललाई थप संकटमा पारेको हो । पहिरोसँगै तालबाट निस्किएको बाढीले बाँफिकोट–५ खारखोलाका ३२ घर परिवारको उठीबास लगाएको थियो भने ४ जनाले ज्यान गुमाएका थिए ।

२०२२ पछि तालको गहिराइसमेत घट्दै गएको ७६ वर्षीय भीमु दाहालले बताए । उनका अनुसार पछिल्लो समय जंगल फँडानी, आगजनी र ताल वरपर गरिएको व्यक्तिगत र सामूहिक विकासले ताल खुम्चिँदै गएको हो । ‘तालको डिलडिलमा धमाधम घरघडेरी निर्माण भइरहेका छन्,’ उनले भने, ‘जसबाट निस्किएको माटो, ढुंगा तालमै फाल्दा ताल खुम्चिरहेको छ ।’ उनले स्यार्पुतालको मुहानतर्फका जलाधार क्षेत्रहरू डम्माना, धजाहाल्ने, थुमलेक, समइजा, सेता पहिरा, बोद्लेलगायतका सबै ठाउँमा मानवीय गतिविधि बढिरहेको बताए ।

स्थानीयले स्यार्पुताल वरपर निर्माण गरिएको चक्रपथ ताल संकटमा पर्नुको अर्को कारण मानेका छन् । झन्डै ६ वर्षसम्म वर्षैपिच्छे एक्स्काभेटर र डोजरमार्फत खनिएको चक्रपथको कारण पनि स्यार्पुताल संकटको अवस्थामा पुगेको हो । डोजरमार्फत तालको वरिपरि ५ किलोमिटर चक्रपथ बनाइएको छ । ‘हाम्रा गतिविधि यसरी नै अनियन्त्रित भए स्यार्पु इतिहासमा सीमित हुने निश्चित छ,’ स्थानीय वीरेन्द्र माविका शिक्षक शेरवीर दाहालले भने, ‘खुम्चिँदै गएको तालमा पानीको मात्रा पनि हरेक वर्ष घट्दै गएको छ ।’

बाँफिकोट गाउँपालिका–३ र ५ मा फैलिएको ताल २।६ वर्गकिलोमिटरमा फैलिएको छ । यद्यपि यो नाप धेरै पहिला लिइएको हो । हरेक वर्षातमा पहिरोका कारण गेग्रान तालमा थुप्रिँदा यसबाट बाहिरिने पानीको बहाव भने ठूलो छ । तालको संरक्षणका निम्ति गुरुयोजना निर्माण गरिए पनि त्यो कार्यान्वयनमा अझै आएको छैन ।

जिल्ला भूसंरक्षण कार्यालयको अगुवाइमा २०६८ मा निर्माण गरिएको गुरुयोजनाअनुसार काम हुन नसकेको जिल्ला पर्यटन विकास समितिका पूर्वसदस्य गोपाल केसीले बताए । उनका अनुसार गुरुयोजनामा तालको मुहानतर्फका गल्छीहरू ग्याबिन तारजाली लगाई पुर्ने, तालको सबै जलाधार क्षेत्रमा जडीबुटी खेती गर्ने, जलाधार क्षेत्रमा हुने मानवीय गतिविधिलाई बन्द गर्ने, ताल वरपर वृक्षरोपण गर्नेलगायत योजना समेटिएका छन् । गुरुयोजना निर्माण भएको ९ वर्ष पूरा भइसक्दासमेत कार्यान्वयनमा कसैले चासो नदिएको उनले गुनासो गरे ।

पछिल्लो समय तालमा मानवीय गतिविधिसँगै फोहोर पनि बढिरहेको छ । डुंगामा घुम्नेहरूले रक्सीका बोत्तल, चाउचाउका प्याकेट तथा बिस्कुट, सुर्ती, चुरोटलगायतका खोल तालमै फ्याँक्ने गरेका छन् । तालमा जथाभावी कपडा धुने र पौडी खेल्ने कामले पनि प्रदूषण बढाएको स्थानीय कमल केसीले बताए ।

स्यार्पुतालदेखि बाँफिकोट गाउँपालिका कार्यालयको दूरी झन्डै डेढ किलोमिटर छ । तर तालको संरक्षणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छैन । अहिले स्यार्पुताल घुम्नका लागि दैनिक १५ देखि ५० जनासम्म आन्तरिक पर्यटक आइरहेका छन् । तर गाउँपालिकाले त्यसको तथ्यांकसमेत राखेको छैन । ‘नजिक सरकार आयो, तालको संरक्षणमा विशेष ध्यान दिन्छ होला भन्ने लागेको थियो,’ स्थानीय संगम देवकोटाले भने, ‘तर स्थानीय सरकारले झन् स्यार्पुताल नदेखेझैं गरेको छ ।

स्पार्पुको विकासका लागि छुट्टै गुरुयोजना बनाउने पहल भइरहेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए । उनका अनुसार गुरुयोजनामा स्यार्पुतालको जलाधार क्षेत्र, त्यसमुनिका बस्ती, स्यार्पुताल, ताल आसपासको सार्वजनिक र निजी जग्गा छुट्याउने लगायत विषय समेटिनेछन् ।




सम्बन्धित समाचार


error: Content is protected !!