निराशापनलाई सामान्य समस्या नठानौँ

दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याले मानिसमा निराशा आउनु सामान्य हो । तर, यही तनाव व्यवस्थापन गर्न नसक्दा कहिलेकाहीँ गम्भीर मानसिक समस्यासमेत आउन सक्छ । यसकारण निराशापनलाई सामान्य मानिए पनि यसले निम्त्याउने जोखिमबारे भने सधैँ सचेत हुन आवश्यक छ ।
धेरैले निराशा र डिप्रेसन एकै हो भनेर ठानिरहेका हुन्छन् । तर, निराश हुनु डिप्रेसनको एक पक्ष मात्रै हो, जसले चिन्ता, पश्चात्ताप र अवरोधलाई बढावा दिन्छ । यसलाई उदासीनताका रूपमा गलत अर्थ लगाउनु हुँदैन । अर्थात् उदासीनता सामान्य भावनात्मक लक्षण हो, जुन छोटो समयमै आफैँ ठीक भएर जान्छ । तर, कतिपय अवस्थामा उदासीनता लामो समयसम्म रहिरहन पनि सक्छ ।
डिप्रेसन विभिन्न किसिमको हुन्छ, जसको एउटा लक्षण उदासीनता पनि हो । यसले शारीरिक र मानसिक रूपमा परिवर्तन ल्याउने हुँदा जीवनप्रतिको दृष्टिकोणमै परिवर्तन ल्याउन सक्छ । अधिकांशलाई डिप्रेसनमुक्त हुन निकै गाह्रो पर्छ । यद्यपि, सामान्य खालको उदासीनतामा पनि उस्तै लक्षण महसुस हुन सक्छ । सामान्य उदासीनता वा गम्भीर डिप्रेसन छुट्याउन यसको कारण बारे समयमै पहिचान गर्नुपर्छ ।
उदासीपन
उदासीपन जुनसुकै उमेर समूहमा पनि देखिन सक्छ र सामान्य क्रियाकलापबाट हटाउन सकिन्छ । तर, डिप्रेसन विभिन्न भावनाहरू समेटिने र यसका कारण एक मात्र नहुने हुँदा लामो समयसम्म रहिरहन्छ । यदि लगातार उदासीपनको समस्या देखिए समयमै पहिचान र उपचार गर्नुपर्ने मनोविद्हरूको सल्लाह छ । उदासीपन विशेषगरी कामसँग सम्बन्धित हुन्छ । जसले मस्तिष्कलाई विचलित बनाउँछ । निराशापनको कारण शरीरमा उत्पादन हुने टक्सिक हार्मोनले दिमागलाई सजिलै काम गर्न दिँदैन । यदि लामो समयसम्म यस्ता लक्षण देखिएमा डिप्रेसन भएको मानिन्छ ।
उदासीनता र डिप्रेसन समयमै छुट्याउन अति आवश्यक हुन्छ । जस्तै उदासीनता भए आफन्त वा परिवारका सदस्यसँग नजिक हुन खोज्छ । तर, डिप्रेसन हुँदा दिमाग नकारात्मक विचारले भरिने हुँदा आफन्त, साथीभाइबाट टाढा हुन रुचाउँछ । डिप्रेसन हुँदा बारम्बार मुड स्विङ हुने, कुनै पनि काममा ध्यान केन्द्रित गर्न नसकिने, निराशा बढ्ने, बाहिरबाट हेर्दा सामान्यजस्तो देखिए पनि मानसिक रूपमा विचलित हुँदै जानेजस्ता समस्या देखिन्छन् । यस्ता लक्षण देखिएमा आफन्तको हेरचाह वा काउन्सिलिङ अति आवश्यक हुन्छ ।
–एजेन्सीको सहयोगमा



