भारतले औपचारिक जानकारी नदिँदा परराष्ट्रमन्त्रीको दिल्ली उड्‍नुअघिको छटपटाहट

काठमाडौँ ः ‘भारतले किन अझै विज्ञप्ति जारी गरेन ? ’ परराष्ट्र मन्त्रालययमा बुधबार निकै छलफल भयो । बिहीबार बिहान त एक आपसमा फोन संवाद नै चल्यो । निकै बहस भयो । किनकि परराष्ट्र मन्त्रालयले संयुक्त आयोग बैठकका लागि सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्ली जाने उल्लेख गरिसकेको थियो ।

तर भारतले बिहीबार बिहानसम्म पनि विज्ञप्ति जारी नगरेपछि लैनचौर र बाह्रखम्बामा टेलिफोन नै गरेर छलफल गर्न परराष्ट्र मन्त्रालय बाध्य भएको थियो । परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जानु केही घण्टा अघिसम्म पनि भ्रमणको औपचारिक पुष्टि भारतले गरेको थिएन । उसले कूटनीतिक संयन्त्रलाई जानकारी गराएको भए पनि आम जनतालाई (विज्ञप्ति) जानकारी दिएको थिएन ।

कूटनीतिक अभ्यासमा आ-आफ्नो मुलुकले स्रोत उल्लेख नगरी अनौपचारिक रूपमा धारणा बाहिर ल्याउन पाइन्छ । तर औपचारिक रूपमा भने एकै दिन एकै समय बाहिर ल्याउने प्रचलन हुन्छ । तर, यो पटक भारतले नेपालले भन्दा तीन दिन पछि मात्र जानकारी बाहिर ल्याएको हो । भारतको विदेश मन्त्रालयले बिहीबार बिहानमात्र विज्ञप्ति जारी गर्दै मन्त्री ज्ञवालीको भ्रमण तालिका सार्वजनिक गरेको हो ।

भ्रमणको सबै तयारी गरेर परराष्ट्रमन्त्री विमानस्थल जाने बेला भइसकेको थियो । तर, पनि भारतीय पक्षले नेपाल -भारत परराष्ट्रमन्त्री स्तरीय (संयुक्त आयोग) बैठकको औपचारिक जानकारी नआएपछि मन्त्रालयल अन्यौलमा थियो । बिहान परराष्ट्रमन्त्री विमानस्थल जानुअघिसम्म पनि मन्त्रालयले लैनचौर र बाह्रखम्बालाई त्यसबारे सोध्‍नु परेको थियो ।

संविधान विघटन गरेर स्वतः सरकार कामचलाउ बनेको अवस्थामा यस प्रकारको भ्रमण गर्न नहुने सुझाव आइरहेको बेला कतै भारतले बैठक नगर्ने निर्णय त लिएको होइन भन्‍ने आशंका कूटनीतिक संयन्त्रमा थियो । किनकि विज्ञप्ति आउँदैन कि भन्‍ने डरले गर्दा निकै असहज भएको थियो ।

उच्चस्तरीय भ्रमणलाई भारतले केही दिनअघि नै औपचारिक जानकारी गराउने गरेको पनि थियो । तर, मन्त्री ज्ञवालीको दिल्ली आगमनका बारेमा भ्रमणकै दिन बिहानसम्म पनि केही नखुलाउँदा सबैलाई अनौठौ अनुभूति भएको परराष्ट्र अधिकारीले बताए ।

जबकि पछिल्लो एक वर्षमा दुई देशको सम्बन्धमा आएको उतारचढावका कारण भ्रमणप्रति बढी नै चासो छ । विदेश मन्त्रालयले दिएको जानकारीअनुसार साँझ अनौपचारिक छलफल र शुक्रबार औपचारिक बैठक हुनेछ । शुक्रबार बिहान हैदरावाद हाउसमा आफ्ना समकक्षी भेट्नेछन् ।

सोही भवनमा साढे एघार बजे नेपाल – भारत संयुक्त अयोगको छैटौं बैठक बस्‍नेछ । झण्डै तीन दर्जनभन्दा द्विपक्षीय संयन्त्रहरूमा हालसम्म भएका छलफल र सहमतिको समीक्षा त्यहाँ हुने भनिए पनि सीमासम्बन्धी सचिवस्तरीय संयन्त्रको कुनै बैठक नभएकाले त्यो महत्वपूर्ण पाटो भने छुट्नेछ ।

प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन बुझाउने विषयदेखि, व्यापार, ऊर्जा, सम्पर्क सञ्‍जाललगायतको विषयमा छलफल हुने बताइएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द मोदीसँग भेट गर्ने कार्यक्रम छ । ज्ञवालीले ती भेट ओलीको दूतको रूपमा गर्नेछन् । उनी शनिबार फर्कनेछन्





error: Content is protected !!