मुटु रोगीहरुले कति, कसरी र केको मासु खाने ?

नेपाली समाजमा दशैंलाई मासु खाने पर्वको रुपमा लिइन्छ । त्यसमा पनि खसीको मासु । घरमै घोर्ले खसी नढालेसम्म कतिको घरमा दशैंको रौनक भित्रिँदैन ।
खसीको टाउकोदेखि आन्द्रा-भुँडी, फोक्सोलगायत सबैजसो परिकार खाइन्छ ।
यस्ता मासु धेरै सेवन गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्छ । मुटुरोगीहरुले अझ धेरै सावधानी अपनाउनु पर्छ । खासगरी मुटुका रोगीले रक्ती त खाँदै नखाऔं । रक्तीमा नुनको मात्रा बढी हुन्छ, जसले मुटु रोगीमा उच्च रक्तचापको समस्या निम्त्याउने गर्छ ।
यस्तै, खसी रोगी छ भने उक्त रोगको किटाणु रगतमा बसेको हुन्छ । त्यसले मुटुमा संक्रमण गर्न सक्ने हुँदा सकेसम्म यस्ता खानेकुराबाट टाढा बस्नुपर्छ ।
पहिले-पहिले दशैंमा पकाएको मासु ४/५ दिनसम्म पनि खाने चलन थियो । त्यसबेला जाडो धेरै हुने हुँदा खासै समस्या हुँदैनथ्यो । तर, अहिले गर्मीका कारण यस्ता मासु छिट्टै बिग्रने डर हुन्छ । सकेसम्म ताजा मासु नै खाँदा राम्रो ।
नेपाली समाजमा कवाफ मासु पकाउँदा बोसोको प्रयोग अत्यधिक हुन्छ । जबकि, मुटु रोगीले सकभर बोसोरहित मासुको प्रयोग गर्नुपर्छ । चिल्लोको प्रयोग पनि सकेसम्म कम गर्नुपर्छ ।
बढी मसला, बेसार तथा पिरोको प्रयोगले मुटुलाई खासै असर गर्दैन । बोसोयुक्त मासु मुटुको शत्रु नै हो । यसले हदैसम्म हानी गर्छ ।
यसरी खाने मासु
खानु पर्दा थोरै-थोरै मात्र । एकैपटक ठूलो परिणाममा मासु खानु सीधा मुटुलाई हानी पुर्याउनु हो ।
मासुका साथमा दुई कचौरा काँक्रो, गाँजर, मुलालगायत सलादका साथमा गेडागुडी मिसाइएको खानेकुरा, रेसादार तरकारी पनि हुनुपर्छ । यसमा फलफूल पनि भए अझ राम्रो । यसरी सन्तुलन मिलाएर सेवन गर्दा मासुले हानी गर्दैन । उच्च फाइबरयुक्त खानेकुराको सेवनले चिल्लो काट्न मद्दत गर्छ ।
मासुमा पहिले नै नुन भएको हुँदा कुनै पनि मासु खाँदा नुनको प्रयोग सकेसम्म कम गर्न जरुरी छ ।
रक्सी र मासु, मुटुको बिष
दशैंमा रक्सीको प्रयोगसमेत बढी हुने गर्छ । मुटु रोगीहरुका लागि एक गिलास वाइन ठिकै मानिन्छ । जबकि, मुटुको रोग उच्च भएकाहरुका लागि भने रक्सीको सेवन हानिकारक हुन्छ ।
कतिपयले चिल्लो मासुका साथमा रक्सीको सेवन अत्यधिक गर्नाले ‘होलिडे हार्ट सिन्ड्रोम’को समस्या बेहोर्ने गरेका छन् । चिल्लो मासुका साथमा रक्सीको सेवनले मुटुको चाल अत्यधिक हुन गई ‘इमर्जेन्सी’ अवस्था आउन सक्छ ।
यस्तो अवस्था आउन नदिन एकै पटक धेरै खानुभन्दा समय-समयमा थोरै परिणाममा खाना खानु उचित हुन्छ ।
यस्तै, मुटु रोगीहरुका लागि कोक, फेन्टा निकै घातक मानिन्छन् । यसको साटो कागती पानीको सर्वत र फलफूलको रस उचित मानिन्छ ।
मासु खाएपछि व्यायाम
यस्ता खानेकुरा खाँदा व्यायाम पनि निकै जरुरी छ । दशैंको समयमा बिनाव्यायाम मासु र रक्सीको सेवनका साथमा दिनभर बसेर तास खेल्दा खुट्टाको नलीमा रगत जम्मा हुने समस्या बढ्छ ।
जसलाई चिकित्सकीय भाषमा ‘डिप भेन थ्रम्बोसिस’ भनिन्छ । यस्ता समस्या भएमा खुट्टामा जमेको रगत मुटुको नलीमा पुगेर गम्भीर समस्यासमेत उत्पन्न गराउन सक्छ । त्यसबाट बच्न दशैं अवधीभर एक घण्टा व्यायामका साथमा तास खेल्दा बेला-बेलामा हिँड्डुल गर्नाले त्यस्ता समस्याबाट समेत बच्न सकिन्छ ।
साथमा, समय समयमा निश्चित अनुपातमा सन्तुलित आहार तथा समयमै सुत्ने गर्नाले पनि मुटु रोगको जोखिम कम गर्न सकिन्छ ।



