किन भएन्न अधिकांश गृहमन्त्रीहरु सफल ?

घटना एक वर्षअघिको हो । धनुषाको फुलगामा गाउँमा सम्पत्तिको विवादमा दाजु–भाइबीच कुटाकुट भयो । रामचन्द्र रायले दाइ इन्द्रकान्तलाई मरणासन्न हुनेगरी कुटे । घटना प्रहरीमा पुग्यो र रामचन्द्र पक्राउ परे । दाजुभाइबीचको सो झगडाले यति ठूलो रूप लियो कि त्यसले धनुषाका तत्कालीन एसपी रामदत्त जोशीकै सरुवा गरायो । किनकि, सामान्य घटना भए पनि त्यसमा पहुँचवाला व्यक्तिको चासो थियो । त्यसको ठीक दुई साताअघि कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री भएका थिए । घटना चुनाव क्षेत्रमा भएको थियो । त्यतिमात्र कहाँ होर, कुट्ने व्यक्ति उनकै पार्टीका कार्यकर्ता थिए । निधिले रामचन्द्रलाई तत्काल छाड्न एसपी जोशीलाई आदेश दिए । मरणासन्न हुनेगरी कुटपिट भएकाले छाड्न सक्ने अवस्था थिएन । एसपी जोशीले ‘मिल्दैन हजुर’ भनिदिए । त्यसको केही घन्टामै उनलाई त्यहाँबाट सरुवा भएको फोन आयो । गृहमन्त्री निधिले उनको ठाउँमा एसपी लालमणि आचार्यलाई धनुषा पठाए । उनको सरुवा भएकै दिन रामचन्द्र छुटे । एसपी जोशी मात्र होइन, कानुनविपरीत काम नगर्दा तल्लो तहका अन्य प्रहरीको पनि सरुवा गरियो । आफ्नै सचिवालयमा काम गरेर धनुषामा सरुवा भएका एसपी जोशीमाथि भएको अन्यायलाई तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्यालले समेत रोक्न सकेनन् । यस घटनाको प्रहरी वृत्तमा राम्रै चर्चा चल्यो ।

धनुषा प्रहरीमा यतिवेला अर्को अनौँठो भइरहेको छ । प्रहरी प्रधान कार्यालयले गत महिना एसपी सरुवाको सूची निकाल्यो । जसमा धनुषालगायत विभिन्न जिल्लाका एसपीको हेरफेर गरिएको थियो । सबै जिल्लामा सरुवा भएका एसपीहरू गइसकेका छन् । तर, धनुषाका एसपी अझै फेरिएका छैनन् । प्रहरी प्रधान कार्यालयले लालमणि आचार्यलाई हटाएर मीरा चौधरीलाई धनुषा पठाएको थियो । तर, यो सरुवा कार्यान्वयन भएको छैन । किनकि एसपी चौधरीसँग पूर्वगृहमन्त्री निधि डराए । स्थानीय चुनावको मुखमा व्यावसायिक प्रहरी अधिकृतलाई आफ्नो जिल्ला पठाएपछि निधिमा त्यहाँ हैकम जमाउन नपाइने हो कि भन्ने डर थियो । जसकारण प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले आफ्ना विश्वासपात्र एसपीलाई केही महिनाका लागि धनुषामा राखिदिन आग्रह गरे । प्रधानमन्त्रीकै निर्देशनपछि चौधरीको सरुवा स्थगित भयो र आचार्यले नै धनुषाको कमान्ड सम्हाल्दै आएका छन् ।

मधेसकी चेली एसपी चौधरीसँग गृहमन्त्री भइसकेका कांग्रेसका वरिष्ठ नेता किन डराए ? भन्ने प्रश्न उठ्न सक्छ । यसको कारण हो, प्रहरीमा मीराको छवि अलि फरक हुनु । उनले नेताको सिफारिसमा होइन, कानुन हेरेर निर्णय गर्छिन् । चुनावका वेला आफूले भनेको नमान्ने भएकाले निधि चौधरीसँग डराए । त्यही डरले उनको सरुवा रोकियो ।

प्रहरीमा राजनीतिक हस्तक्षेप कुनै नौलो होइन । तर, यस्तो नांगो हस्तक्षेप भने कमै देखिने गरेका छन् । त्यो पनि पूर्वगृहमन्त्री एक व्यावसायिक प्रहरी अधिकृतसँग डराएको यो घटना राजनीतिक हस्तक्षेपको एउटा उदारण मात्र होइन, नेपाली राजनीतिक प्रवृत्ति नै हो । जुन प्रवृत्ति सबै नेतामा देख्न सकिन्छ । अझ अचम्म त के छ भने, जोसुकै नेता गृहमन्त्री बने पनि सिस्टम बसाउनेभन्दा पनि गृह प्रशासनमा आफ्नो राज चलाउन केन्द्रित हुन्छन् ।

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

शर्मा मात्र होइन, पछिल्लो वर्ष नियुक्त भएका हरेक गृहमन्त्रीले गृह प्रशासनमा व्यापक सुधार गर्ने बताएका थिए । बामदेव गौतम, विजयकुमार गच्छदार, शक्ति बस्नेतदेखि विमलेन्द्र निधिसम्मले सुधारका विभिन्न रोडम्याप तयार पार्नसम्म पछि परेनन् । बामदेव र गच्छदारले त पहिलोपटक गृहमन्त्री हुँदा गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

 

पछिल्लो एक दशकमा गृह मन्त्रालयमा कृष्णबहादुर महरा शक्तिवहादुर वस्नेत   बाहेक अन्यले प्रशंसा कमाउन सकेनन् । गृहमन्त्री असफल हुनु भनेको कुनै व्यक्ति असफल हुनु मात्र होइन, राज्य नै कमजोर हुनु हो । अन्य मन्त्रीले छोटो समयमा देशमा धेरै काम गर्न सक्दैनन् । गृहमन्त्रीले देशमा धेरै परिवर्तन गर्न सक्छन् । दबाव र प्रभावबाट मुक्त भएर निर्णय गर्नेवित्तिकै गृह प्रशासनमा व्यापक सुधार हुन्छ । देशमा नाकावन्दीको समयमा पनि देशको प्रशासनिक कार्य र नेपाली प्रहरी संगै सशस्त्रको विवाद सफलता पुर्वक मिलाएका वस्नेत अरु भन्दा फरक देखिए । सरक्षा निकायका प्रमूख देखि सिपाई सम्मालाई समान रुपले हेर्ने शक्तिवहादुर वस्नेतलाई सुरक्षा निकायले निकै रुचाएका थिए । किन भने वस्नेत कहिले पनि दवाव दिएर काम गराउने गृहमन्त्री थिएन्न । राष्टियताको मुद्धामा कसैसंग सम्झौता नगर्ने वस्नेत अर्काको दवाव भन्दा आफ्नो विवेकमा चल्ने गर्छन ।

कुनै समय नेपाली समाजमा नेता र प्रहरीको छवि उस्तै थियो । दुवै अलोकप्रिय सूचीमा थिए । प्रहरी नेतृत्वले आफूलाई सुधार गर्दै आयो । रमेशचन्द ठकुरी भ्रष्टाचारमा मुछिएपछि आइजिपी हुने अवसर पाएका रवीन्द्रप्रताप शाहले सोचेभन्दा धेरै संगठनको हितमा काम गरे । त्यसपछिका आइजिपीहरू कुबेरसिंह राना र उपेन्द्रकान्त अर्यालले पनि संगठन कमजोर हुन दिएनन् । जे–जस्तो भए पनि सिस्टम बसाले । ठूलो विवाद र अन्योलपछि अहिले आइजिपी भएका प्रकाश अर्याल राजनीतिक, तर प्रहरीभित्रै संगठनभन्दा आफूलाई अग्रस्थानमा राख्ने प्रहरी अधिकारी र राजनीतिक नेतृत्वका कारण प्रहरी ‘ब्याकगियर’मा पुगेको छ । समाजमा कुनै एउटा निकाय मात्र एक्लै सुध्रन कठिन हुन्छ । राजनीतिक नेतृत्वदेखि कर्मचारीतन्त्रसम्मले अघि बढेको प्रहरीको खुट्टा तान्ने काम गरेका छन् । किनकि, उनीहरू प्रहरीलाई राम्रो र बलियो बनाउन चाहँदैनन् ।

सफल गृहमन्त्री हुन नयाँ–नयाँ योजना र ठूला काम गर्नै पर्दैन । ऐन–नियमअनुसार सिस्टम बसालिदिए पुग्छ । जनार्दन शर्माबाट धेरैले त्यो अपेक्षा गरेका थिए । तर, अहिलेसम्मका निर्णय हेर्दा उनी सफल होइन, सस्तो लोकप्रियताका पछाडि दौडिएको देखिन्छ । गृहमा सुधार गर्नेभन्दा चर्चा कमाउने गतिविधिमा उनी लालाहित छन् । गृह मन्त्रालय सुधारका लागि उनले ८१ बुँदे मार्गचित्र बनाएका छन् । तर, सफल हुन ८१ होइन, दुई बुँदे मार्गचित्र पर्याप्त छ । त्यो हो, इमानदारिता र दबाव तथा प्रभाव झेल्न सक्ने सामथ्र्य । सफल गृहमन्त्री भएर नेपाली राजनीतिमा आफ्नो अलग पहिचान बनाउने अवसर शर्मालाई अझै छ । आशा छ, उनले यो अवसरलाई खेर फाल्ने छैनन् ।





error: Content is protected !!