तस्बिरमा हुम्लाको सुन्दरता

नरजन तामाङ, हुम्ला
नेपालको उत्तरी भेगको अन्तिम चीन सीमा पर्ने जिल्ला हो– हुम्ला । केरा, सुन्तला, अंगुरजस्ता फलफूलदेखि गहुँ, धानको समेत खेती गर्न सकिने एक मात्र ‘अर्गानिक’ जिल्लाका रूपमा समेत हुम्लालाई लिइन्छ । खेतीबालीका लागि मात्र नभई हिमाल, ताल, पहराजस्ता प्राकृतिक सुन्दरताका कारण पनि हुम्लाको चर्चा हुने गर्छ ।
नेपालगन्ज वा सुर्खेतबाट हवाई यात्रामार्फत सहजै हुम्ला पुग्न सकिन्छ । नेपालगन्जबाट ४५ र सुर्खेतबाट झन्डै ४० मिनेटको हवाई उडानमा हुम्ला पुगिन्छ । हिउँदमा हिउँ र वर्षायाममा अत्यधिक वर्षा हुने गरेको भए पनि अधिक गर्मीको महसुस भने हुम्लामा हुँदैन । सधैँजसो नै पर्यटकको घुइँचो लाग्ने गरेको हुम्लाको बाटो हुँदै विशेष गरी भारतीय तीर्थयात्री तिब्बतको मानसरोवर तालसम्म पुग्छन् ।
सडक यातायातले नछोइएको हुम्ला प्राकृतिक सुन्दरता, अर्गानिक खानेकुरा, पृथक् चालचलनका साथै अत्यधिक मीठो स्याउ उत्पादन केन्द्रका रूपमा विकसित छ । यार्सागुम्बा, पाँचऔँलेलगायतका विविध बहुमूल्य जडीबुटी अनि धेरै प्रजातिका वनस्पति पाइने ठाउँका रूपमा समेत हुम्ला चर्चित छ ।
शब्द/तस्बिर : नरजन तामाङ
१. स्वागतद्वार : हुम्ला पुग्नेहरूले लिमीमा यस्ता धार्मिक स्वागतद्वार पाउने गर्छन् ।
२. बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल रल्लिङ गुम्बा । यहाँ बुद्धजयन्तीका दिन जिल्लाभरका भक्तजनले दर्शन गर्ने गर्छन् ।
३. उच्च हिमाली भेगमा लेक नलागोस् भनेर पूजा गरिने स्थल, जो अधिकांश उच्च हिमालमा निर्माण गरिन्छ ।
४. नेपाल–चीनको मोटरबाटो : नेपाल–चीन जोड्नका लागि हाल निर्माणाधीन हिल्सा सिमिकोट मोटरबाटो खण्ड ।
५. हुम्लाको सुन्दर गाउँ लिमाटाङ ।
६. नाम्खाख्यायोगजोम गुम्बा : हुम्लाको नाम्खा गाउँपालिकामा नाम्खाख्यायोगजोम गुम्बा छ । यो तस्बिर करिब १२ वर्षअघिको हो । हाल यो गुम्बाआसपास अन्य सहायक गुम्बा, कुटीहरूसमेत निर्माण गरिएको छ ।
७. हुम्लामा हेलिकोप्टर : प्राकृतिक विपत्ति आउँदा हुम्लावासीलाई यही होलिकोप्टरको माध्यमबाट उद्धार गरिन्छ । तीन वर्षअघि हुम्लाको पुमा गाउँमा आगलागी हुँदा नेपाली सेनाको यो हेलिकोप्टरले उद्धार गरेको थियो ।
८. पानीघट्ट : अन्न पिस्नका लागि हुम्लावासीले प्रयोग गर्ने पानीघट्ट ।
९. अस्थायी बास : घुम्न आएका पर्यटकले यसरी टेन्ट टाँगेर जिल्लाका विभिन्न स्थान घुम्ने गर्छन् ।
१०. लिमीमा ताल : हुम्लाको उच्च हिमाली खोँचमा २ सय ७५ भन्दा बढी यस्ता सुन्दर ताल रहेको अनुमान छ ।
११. हुम्लाको बास : हुम्लाका सबैजसो बस्तीमा यस्ता पुरातन शैलीका घर छन् ।
१२. नेपाल चीन सीमा : हुम्लाको यही ठाउँबाट चीनको सीमा हिल्सा जाने गरिन्छ ।
१३. च्या छहरा : नाम्खा गाउँपालिका च्यादुकमा पर्ने च्या छहरा झरना ।
१४. चौँरी गाईको खप्पर : चौँरी गाई मरेपछि त्यसको खप्परलाई पेन्टिङ गरेर घरमा सजाउने चलन छ ।
१५. हुम्लाका ट्रक : जिल्लामा मालसमान ओसार्नका लागि भेडा–च्याङ्ग्रा प्रयोग गर्ने गरिन्छ । मालसामान चीनको ताक्लाकोटलगायत ठाउँबाट निर्यात गरिन्छ ।
१६. फूलको सुन्दरता : उच्च हिमाली भेगमा यस्ता विभिन्न प्रजातिका फूलहरू पाइने गर्छन् ।
१७. हिमाल चुचुरे गुम्बाः धर्मावलम्बीहरूले रोग, भोग र शोक व्यहोर्न नपरोस् भनेर हिमालको चुचुरामा पुरातन शैलीमा यस्ता गुम्बा बनाउने गरेका छन् । हुम्लामा एक हजारभन्दा बढी यस्ता गुम्बा पाइन्छन् ।
नयाँ पत्रीका वाट साभार ।



