रामपुर काँसजरीका बालबालिका आफै पढ्दै र पढाउँदै

—सुशीला रेग्मी

रामपुर (पाल्पा), १५ जेठ ः कोरना भाइरस सङ्क्रमणको कहरले लामो समय सम्म शैक्षिक संस्था बन्द हुन पुगेपछि पाल्पा रामपुर नगरपालिका ४ स्थित काँसजरी गाउँका बालबालिका आफै सिक्ने र सिकाउने कार्य गर्न थालेका छन् ।

यहाँ कक्षा नर्सरी देखि छ सम्मका बालबालिका दैनिक जम्मा भएर पढ्ने र पढाउने कार्य गरिरहेका छन् । माथिल्ला कक्षामा पढ्नेले साना कक्षाका भाईबहिनीलाई पढाउने र आफू पनि साथमै बसेर पढ्ने गरेका छन् ।

गाउँमा रहेको चेतनशील आमा समुहको भवनमा बिहान १० वजे देखि दिउँसो ३ वजे सम्म नियमित पठनपाठन कार्य भइरहेको छ । गाउँका १८ जना बालबालिका खाना खाएर झोला बोकेर भवनमा जाने र किताव कापी कलम झिकेर लेख्ने, पढ्ने कार्य चलिरहेको छ ।

विद्यालय जान नपाएपछि खेल खेलेर समय बिताउनुभन्दा गाउँका भाइबहिनीलाई जम्मा गरेर पढ्ने र पढाउने कार्यमा लागेको सीताराम मावि कक्षा ६ मा पढ्ने छात्रा कृष्टिना शाहीले बताउनुभयो ।

“बन्दाबन्दी भएपछि दिउँसोमा धेरै समय खेलेर बित्यो, नियमित पढ्ने बानी कम हुन थालेपछि विद्यालय गएर यो बेला पढ्न नपाएपनि हामी मिलेर गाउँका साना साना भाईबहिनीलाई पढाउने र हामी आफै पढ्ने गरिरहेका छौँ” उहाँले भन्नुभयो ।

तल्ला कक्षाका भाईबहिनीले नजानेका कुरा माथिल्ला कक्षामा पढ्ने दाजु दिदिमार्फत सोध्ने र पढ्ने गरिरहेका छन् भने माथिल्ला कक्षामा पढ्नेहरु भने एक आपसमा साथीहरुबीच सोधपुछ गरेर पढिरहेका हुन्छन् ।

गाउँका माथिल्लो कक्षा उत्तिर्ण गरेका दाजुदिदिका पुराना किताब ल्याएर पढिरहेको कालिका आधारभुत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा मनकला बिरकट्टा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “दाई दिदिले अगाडी बसेर पढाउनु हुन्छ, हामीलाई विद्यालयको कक्षाकोठामा नै गएर पढे जस्तो अनुभुती भएको छ, दिउँसो अभिभावकहरु खाजा लिएर आउनुहुन्छ, नयाँ कुरा सिक्ने पढ्ने काम भइरहेको छ” ।

विद्यालय नखुल्दा सम्म गाउँकै भवनमा बसेर पढ्ने कालिका आधारभुत विद्यालय ५ मा पढ्ने सनु श्रेष्ठ बताउनुहुन्छ । यहाँ आएर पढ्न थालेपछि घरमा गएर बिहान साँझ पनि पढ्ने बानी बसेको उहाँको भनाई छ ।

बालबालिका आफै सक्रियतापूर्वक पढ्ने र पढाउने कार्य गरेको देख्दा अभिभावक शिक्षकहरु पनि अचम्मित छन् । शैक्षिक संस्था बन्द भएको समय खोला नदीमा पौडी खेल्न पुग्ने, गाउँघरमा खेल्ने समय सदुपयोग गर्दै बालबालिकाले शैक्षिक क्षेत्रमा देखाएको यो कार्य अत्यन्तै राम्रो रहेको रामपुर नगरपालिका ४ का वडा सदस्य तथा कार्यपालिका सदस्य सिमादेवी रानाले बताउनुभयो ।

यहाँका बालबालिकाले गरेको यो कार्यको अन्य गाउँ ठाउँका अभिभावक विद्यार्थी, शिक्षकले मनन गर्दै खाली समयमा सिकाई कार्य गराउनु आवश्यक रहेको रानीवन तथा बडवान सामुदायिक वनका सचिव हमिद अलिमियाँ बताउनुहुन्छ ।





error: Content is protected !!