धुम्रपान छाड्ने जुक्ति ः यसो गरे कसो होला

विश्वव्यापी रुपमै (कोभिड -१९) को संक्रमण पुरुषमा बढी देखिएको छ र महिला एवं बालबच्चाको तुलनामा मृत्युदर पनि पुरुषकै उच्च छ। किन त रु यसमा के अनुमान गरिएको छ भने धेरैजसो पुरुष धुम्रपानको अम्मली हुन्छन् । धुम्रपानले सोझो असर गर्ने भनेको फोक्सोमा हो । यसले फोक्सो र सासनलीमा नराम्ररी असर पुर्‍याउँछ । त्यसैगरी कोरोना भाइरसको संक्रमणले पनि फोक्सोलाई नै आक्रमण गर्छ ।

धुम्रपान गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुराबाट सायदै मान्छे बेखबर छन् । यो कुरा थाहा हुँदाहुँदै पनि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं गरी चुरोट तान्नेहरूको जमात देखिन्छ । अहिले त किशोरपुस्ता समेत चुरोटका अम्मली भएका छन् ।

एकातिर धुमपान गर्ने बानीले कोरोना भाइरसको सम्भावित जोखिम निम्त्याउने देखिएको छ भने अर्कोतिर अहिले लकडाउनका कारण चुरोट सहजै उपलब्ध हुने स्थिति छैन । घरभित्र बसेर चुरोट सेवन गर्दा त्यसले परिवार वा बालबच्चाको फोक्सोमा समेत असर पार्छ। चिकित्सकहरू भन्ने गर्छन्, ‘चुरोटको धुवाँमा दुई सयभन्दा धेरै प्रकारका हानिकारक तत्वहरू हुन्छन् । अर्को तथ्य के पनि छ भने एक व्यक्तिले चुरोट तानेका छन् भने उनका नजिकका व्यक्तिलाई उक्त धुवाँले अरू बढी असर गर्छ ।

यही मौकामा चटक्कै चुरोटलाई त्याग किन नगर्ने ?

चुरोट त्याग्नका लागि सुरुमा तपाईं मानसिक रुपमा तयार हुनुपर्छ । यसको असरहरूबारे गम्भीरतापूर्वक मनन गर्नुपर्छ । आफूले चुरोट सेवन गर्दा त्यसले परिवार र बालबच्चालाई पर्ने असरबारे संवेदनशील हुनुपर्छ ।

चुरोट त्याग्नका लागि केही तौर तरिका छन्, जो उपयोगी हुन सक्छ ।

–म मेरो स्वास्थ्य सुधार्न चाहन्छु ।

–मैले मेरो परिवारको लागि धुम्रपान छोडेको हो ।

–मैले धेरै पैसा चुरोटमा खर्च गरेँ ।

–म कुलतबाट मुक्त हुन चाहन्छु ।

–म अर्को चुरोट कतिखेर पिउने भन्ने कुरालाई लिएर चिन्तित हुन चाहन्न ।

–म अरूसँग बोल्दा चुरोटको धुवाँ गह्नाउन चाहन्न ।

–म दृढ छु । कुनैपनि कुरामा दृढ संकल्प गर्न सक्छु ।

अब एक दिनका लागि तपाईंले चुरोट त्याग्ने योजना बनाउनुपर्नेछ । तपाईंले केवल एकदिन चुरोट सेवन नगरी बस्दा के हुन्छ आफैँमाथि प्रयोग गर्नुपर्नेछ । बिहान उठेपछि चटक्कै चुरोट छाड्नुहोस् । चुरोटको तलतल लागेको अवस्थामा सुकुमेल, ल्वाङ आदि चपाउने वा चिया, कफी पिउन सकिन्छ ।

दैनिक तालिकाअनुसार कतिखेर चुरोट पिउनुहुन्छ भन्ने पहिचान गर्नुहोस् । जस्तै– बिहान कफीसँग वा खाजा नास्ता खाएपछि चुरोट पिउने बानी हुन सक्छ । अब आफ्नो दिनचर्यामा पनि थोरै फेरबदल गर्नुपर्नेछ ।

जस्तो बिहान चिया वा कफीसँग चुरोट सेवन गर्ने बानी छ भने चिया र कफीको सेवन गर्ने समय अरू केही काममा आफूलाई लगाउनुहोस् । जस्तो बगैँचाको काममा, भान्साको काममा, बालबच्चासँग खेल्ने कुरामा । त्यसो त चियाको साटो कागती पानी, ग्रिन टी पनि सेवन गर्न सकिन्छ ।

खाना खानसाथ चुरोट पिउने बानी छ भने खाना खाने तालिकालाई केही बदल्नुपर्नेछ वा खाना खाए लगत्तै अरू काममा आफूलाई व्यस्त राख्नुपर्नेछ ।

चुरोट पिउन छोडेको सुरुसुरुमा तलतल लाग्ने र गाह्रो महसुस हुन सक्छ । तपाईंको छाती कसिलो हुन्छ र छटपटी लाग्न सक्छ ।

निकोटिन त्यस्तो चिज हो जसले धुम्रपान छोड्न कठिन बनाउँछ । विज्ञहरूका अनुसार धुम्रपान छोडेका मानिसहरूलाई निकोटिनको तलतल प्रत्येक दुई घण्टामा लाग्छ ।

तर, तपाईं धैर्य रहनुहोस् किनभने त्यस्तो तलतल सीमित समयको लागि हुन्छ । यस्तो मात्रै तीनदेखि पाँच मिनेटसम्म हुन्छ र त्यसबीचमा चुरोट पिउनुभएन भने त्यो आफैँ हराउँछ । तलतलले धेरै सतायो भने पानी पिउनुहोस्, साथीलाई फोन गर्नुहोस्, एकछिन हिँड्नुहोस, लामो सास फेर्नुहोस् वा मोबाइलमा गेम खेल्नुहोस् ।

आफूलाई सधै व्यस्त राख्नुहोस्, व्यस्त भएमा मनमा धुमपान गर्ने सोच आउँदैन । तपाईंले त्यसको सट्टा चुइङ्गम चपाउने, मेडिटेसन गर्ने, आफ्नो हात व्यस्त राख्ने, फिल्म हेर्ने, परिवारसँग रमाउने गर्न सकिन्छ ।

पर्याप्त पानी पिउनुभयो भने त्यसले शरीरमा भएका निकोटिन बाहिर निकाल्न मद्दत गर्छ । जब चुरोटको तलतल लाग्छ र धुम्रपान गर्न मनलाग्छ भने चिसो पानी पिउनुहोस् ।





error: Content is protected !!