उपयोगी ५ नेपाली युट्युब च्यानल

काठमाडौँ ः लकडाउनले सबैको दैनिकी फेरिएको छ । सबैजना सामान्य अवस्थामा फर्कन चाहन्छन् । दिन–दिनै बढिरहेको कोरोना संक्रमणले लकडाउन कति दिन लम्बिएला ? भन्न सकिन्न ।

अनिश्चित लकडाउनले धेरैलाई दिन काट्न पनि गाह्रो परेको होला । यस्तो बेला समय बिताउने राम्रो माध्यम हुनसक्छ, युट्युब । भिडियोको भण्डार हो यो । यसमा सिर्जनात्मक र सकारात्मक भिडियो हेर्दा दिन पक्कै रमाइलो हुन सक्छ ।

हामी यहाँ पाँच नेपाली युट्युब च्यानलबारे चर्चा गर्नेछौं, जसलाई पछ्याउँदा उपयोगी हुन सक्छ ।

सिसन बानियाँ, ट्राभल भ्लगर

पछिल्लो समय युवा दर्शकमा प्रचलित छन्, भ्लगर सिसन बानियाँ । उनी विभिन्न ठाउँ पुगेर रमाइला भिडियो बनाउने गर्छन् । कहिल्यै नदेखेका ठाउँ होस् वा देखिरहेकै सामान्य विषय ठाउँलाई पनि उनी आफ्नो भ्लगमा रोचक शैलीमा प्रस्तुत गर्छन् । उनको भ्लगमा पूरा नेपाल समेटिएको हुन्छ ।

मनाङको आइस क्लाइम्बिङ होस् या जनकपुरको छठका भिडियो । उनका भ्लगमा नेपाली संस्कृति, नेपालीपन देखिन्छ । पाखा पखेरा, कन्दरा समेटिएको भ्लगमा वास्तविक नेपाल पनि देख्न पाइन्छ । यो उनको भ्लगको विशेषता हो । भ्लगमा उनी सक्दो सबैकुरा अटाउने प्रयास गर्छन् । दर्शकलाई बाँधिरहने विषयवस्तु उनले भ्लगमा समावेश गर्छन् । त्यसैले पनि उनको भ्लग अरुको भन्दा फरक छ ।

उनको भिडियोमा भद्दापन हुन्न । युवा दर्शकदेखि सबैले उनको भिडियो हेरेर मनोरञ्जन लिइरहेका हुन्छन् । भ्लग बनाएर नै सिसनले लाखौं फ्यान कमाएका छन् । चार वर्षदेखि भ्लग बनाउन व्यस्त उनलाई पछ्याउँदै धेरै भ्लगर अगाडि आएका छन् । बुवा उनका व्यस्त सेड्युलसँगै यात्रा गर्न रुचाउँथे । आफूमा त्यही स्वभाव भएकै कारण ट्राभल भ्लग सुरु गरेको सिसन सुनाउने गर्छन् ।

पछिल्लो समय मिस नेपाल श्रृङ्खला खतिवाडाको मिस वल्र्ड इन्ट्रडक्सन भिडियोमा काम गरेकै कारण पनि उनको चर्चा चुलिएको थियो । उक्त भिडियोले नै श्रङ्खलाले मिस वर्ल्ड २०१८ मा मल्टिमिडया अवार्ड जितेको थियो । श्रृङ्खलाले ब्युटी विथ पर्पस जितेको भिडियो पनि उनकै समूहले बनाएको थियो ।

यो लकडाउनमा तपाईँ घरभित्रै थुनिएर बोर हुनुभएको छ भने सिसनको भिडियो उपयुक्त हुन सक्छन् । घरमै बसी तपाईँ सिसनसँगै नेपाल भ्रमणमा निस्कन सक्नुहुनेछ ।

कृसा श्रेष्ठ, फिटनेस इन्स्ट्रक्टर

देश लकडाउनमा भएदेखि धेरैको जिम जाने रुटिन बन्द छ । फिटनेस ट्रेनिङ ‘मिस’ गरिरहेकाका लागि कृसा श्रेष्ठको भ्लग उपयोगी हुनसक्छ । फिटनेस इन्स्ट्रक्टर श्रेष्ठ सन् २०१३ देखि नै युट्युबमा सक्रिय छिन् । आफ्नो युट्युब च्यानलमा जुम्बा, वर्कआउट अनि ‘डाइट प्लान’को भ्लग भिडियो सार्वजनिक गरिरहेकी हुन्छन् उनी । लकडाउनमा घरमा भएका दर्शक लक्षित गरेर उनले घरमै सम्भव वर्कआउट भिडियो युट्युबमा राखेकी छिन् ।

काठमाडौंको कमलादीमा उनको ‘द फिजिक्स वर्कशप’ जिम छ । लकडाउनको समय जिमकै क्लाइन्टका लागि पनि उनले घरमै बसेर गर्न सकिने वर्कआउट भिडियो बनाएकी हुन् । विशेषत उनलाई हिजोआज युट्युबमा महिला दर्शकहरुले शरिर कसरी घटाउने भनेर कमेन्टमा प्रश्न गरिरहेका हुन्छन् । त्यसैले आफूले लकडाउनमा त्यसैअनुरुपको वर्कआउट भिडियो सार्वजनिक गरेको कृसा बताउँछिन् ।

द स्टोरीयलर्स

‘द स्टोरीयलर्स’ यस्तो युट्युब च्यानल हो, जहाँ स्थानीय हिरोहरुको दुःख, संघर्ष अनि चुनौतीहरु समेटिएको कथा हुन्छ । विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेकाहरुलाई स्टेजमा उभ्याएर आफ्नो कथा सुनाउन प्रेरित गर्ने यो च्यानलमा नेपालका कुनाकाप्चाका उदाहरणीय ‘नायक’ को प्रेरणाका गाथा समेटिएको छ । ‘कथाहरुमा परिवर्तन र प्रभाव पार्ने शक्ति हुन्छ,’ यही विश्वाससहित यो च्यानल सन् २०१४ देखि सक्रिय छ ।

च्यानलमा विभिन्न व्यक्तित्वको निकै रोचक कथाहरु समावेश छन् । छोटो तर निकै प्रभावित पार्ने कथाहरु यस च्यानलमा सार्वजनिक भएका छन् । च्यानलले सुरु गरेको १२ सिरिजहरुले संगीत, सामाज, मनोरञ्जनलगायतका विभिन्न क्षेत्रका कथाहरु समावेश गरेका छन् । २ लाख ७५ हजार सब्स्क्राइब रहेको यो च्यानलमा अहिलेसम्म ३४४ वटा भिडियो सार्वजनिक भइसकेका छन् । यहाँ फिल्म निर्देशक निश्चल बस्नेतदेखि दलित अधिकार अभियन्ता रीता परियारसम्म अटाएका छन् । यसको मञ्चमा उभिएर आफ्नो कथा सुनाउनेहरुमा कता न कता पीडा, साहस लुकेको हुन्छ ।

‘द स्टोरीयलर्स’ समय बिताउने बहाना मात्रै होइन कसैको जीवनबाट सिक्ने सुनौलो अवसर बन्न पनि सक्नेछ ।

जेम्स श्रेष्ठ, कमेडी युट्युबर

जेम्स श्रेष्ठले सन् २०१४ देखि युट्युब भिडियोहरु बनाउन थालेका हुन् । उनी विभिन्न भिडियोमा रियाक्सन गरिरहेका हुन्छन् ।

उनका रियाक्सन भिडियो मनोरञ्जनात्मक हुन्छन् । विभिन्न ठाउँ घुमेको ट्राभल भ्लग पनि बनाइरहेका हुन्छन् जेम्स । उनी विभिन्न च्यालेन्जहरु, खेलहरु खेलेको भिडियो बनाएर युट्युबमा राख्छन् । उनले सरोज तामाङमाथि गरेको रियाक्सन भिडियोलाई १० लाख बढीले हेरेका छन् । उनका रमाइला रियाक्सन भिडियोसँगै अन्य भ्लग हेरेर लकडाउनलाई मनोरञ्जनात्मक बनाउन सकिन्छ ।

नेपाली ई–कर्ड्स

घरमा बसेर कोही गीतार सिक्ने प्रयास गर्दैछन् भने उनीहरुका लागि नेपाली ई–कर्ड्स उपयुक्त हुन्छ । जतिबेला पनि यो च्यानलमा गएर आफूलाई सिक्न मन लागेको गीतमा गीतार बजाउन सिक्न सकिन्छ ।

भर्खरै गीतार बजाउन थालेकाहरुका लागि यो एउटा राम्रो अनलाइन कक्षा पनि हुन सक्छ । च्यानलमा नयाँका लागि ‘सिकारु लेसन’ भनेर भिडियोहरु सार्वजनिक गरिएका छन् । त्यसैले लकडाउनको अवधिमा गीतार बजाउन खोज्नेहरुले यो च्यानलको भिडियोबाट सिक्न सक्नेछन् । सन् २०१३ देखि यो च्यानलमा भिडियो सार्वजनिक भइरहेको छ ।





error: Content is protected !!