लकडाउनमा गीतकार ः कोरोनाको त्रासमा पनि सिर्जना

गीतकार एसपी कोइराला आफूलाई लकडाउनको लक्ष्मणरेखाभित्रको एउटा अभिशप्त यात्रामा आफूलाई पाउँछन् । बाघ, हात्ती, गैँडाजस्ता वन्यजन्तुलाई तह लगाउने मान्छेलाई आँखाले देख्न नसकिने भाइरसले रन्थन्याइरहेको रहेको उनी बताउँछन् । ‘त्यही भाइरसले मानिसलाई भूमिगत जीवन जिउन सिकाइरहेको छ,’ कोइराला भन्छन्, ‘हाम्रो पुस्ता भनेको यो युगकै अन्तिम संस्करण हो, जसले आफ्नो छोटो जीवनकालमा यति धेरै देख्न, भोग्न र अनुभव गर्न पायो ।’

बिहान उठ्नासाथ घरभित्रै एक घन्टा योग र शारीरिक व्यायाम गरेर उनको दिनचर्या आरम्भ हुन्छ । अर्को एक घन्टा नित्य पूजापाठपछि मर्निङवाक गर्छन्, तर आफ्नै आँगनमा फनफनी घुमेर । साँझपख फेरि त्यसै गरेर १० किलोमिटर पुर्‍याउँछन्, उनी ।

साथीभाइ र शुभचिन्तकहरूसँग फोनवार्ता दिनचर्याको अभिन्न अंग बनेको छ, उनको । उनका लागि लकडाउन पारिवारिक पुनर्मिलनजस्तो भएको छ । गेटबाहिरको दुनियाँ सुनसान हुँदा घरभित्र प्रशस्त चहलपहल र रमाइलो रहेको बताउँछन् । ‘टिभी म त्यति धेरै हेर्दिनँ । हास्य कार्यक्रम र समाचार फाट्टफुट्ट हेर्ने गर्छु,’ उनी भन्छन्, ‘निश्चित अनलाइन पोर्टलतिर वेला÷वेलामा आँखा डुलाउँछु ।’ गीत–संगीत त उनको नशामै छ । गीतिसंग्रह प्रकाशन गर्न काम अगाडि बढाएका छन् । र, किनेर राखेका केही किताब पढ्न थालेका छन् ।

गीतकार एसपी कोइराला भन्छन्, ‘कोरोनाले मानिसलाई भूमिगत जीवन जिउन सिकाइरहेको छ । हाम्रो पुस्ता भनेको यो युगकै अन्तिम संस्करण हो, जसले आफ्नो छोटो जीवनकालमा यति धेरै देख्न, भोग्न र अनुभव गर्न पायो ।’

उनी टोलबाट बाहिर ननिस्केको ठ्याक्कै १० दिन भयो । छिमेकीहरूसित भने नियमित भेटघाट गर्छन्, सामाजिक दूरी परिपालना गर्दै । उनीसँग केही गायक–गायिका र संगीतकारले गीत मागिरहेका छन् । तर, रचना गर्ने मुड नभएको बताउँछन् । भन्छन्, ‘चैतेदसैँ आएको त हेक्का भएन, आखिर सबैको मनमष्तिष्क खलबलिएको वेला न छ यो ।’

गीतकार कृष्णहरि बराल बल्खुस्थित आफ्नै निवासमा श्रीमतीका साथमा छन् । छोराबुहारी र छोरीज्वाइँ अमेरिकामा रहेका कारण उनीहरूसँग भिडियो कल गर्नु उनको लकडाउन दैनिकी बनेको छ । भन्छन्, ‘काम गर्ने कुनै मुडै नहुने रहेछ ।’ तर पनि कोरोनासँग सम्बन्धित ‘काल’ र अर्को एक गरी दुईवटा गीत तयार पारे, उनले यो लकडाउनमा । टेलिभिजनमा समाचार हेर्ने र साथीभाइसँग कुराकानी गर्ने अलावा लेख्ने र पुराना किताबहरू मिलाउनेमा उनको दैनिकी बितिरहेको छ । भन्छन्, ‘म तरकारी किन्नेबाहेक काममा बाहिर निस्केको छैन ।’

‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ’, ‘झुमा झम्कावली’लगायत गीतकी गीतकार शीतल कादम्बिनी भने होम क्वारेन्टाइनलाई अनुशासनका रूपमा लिन्छिन् । ‘यो रोगको आँखा छल्न घरबाट ननिस्किनु नै राम्रो हो,’ उनी भन्छिन् । बिहान १५ मिनेट घरमै अनुलोम–विलोम प्राणायाम र शारीरिक व्यायाम गरेपछि पूजापाठमा बस्छिन् । यो कोरोनाको डर पनि छिट्टै सकिने आशासहित आफूजस्तै सबैलाई घरैमा बसेर सरकारलाई सघाउन आग्रह गर्छिन्, उनी ।

गीतकार कृष्णहरि बरालले कोरोनासँग सम्बन्धित ‘काल’ र अर्को एक गरी दुईवटा गीत तयार पारे, यसबीचमा । तरकारी किन्नबाहेक घरबाट निस्केका छैनन् ।

‘रूपै मोहनी’, ‘तिमीले पराइ ठानेपछि’लगायत गीतका गीतकार लोकराज अधिकारी यतिवेला दाङस्थित घरमा छन् । उनकी आमाको निधन भएको केही समय नहुँदै कोरोना आतंक सुरु भयो । अप्रत्यासित रूपमा आएको सन्त्रासले विश्वलाई नै चिन्तित बनाएकाले कसरी आफू सुरक्षित बन्ने भन्ने मात्र उनको दिमागमा छ । भन्छन्, ‘म गीत–संगीत र सञ्चारकर्म गर्ने, कहिले कहाँ कहिले कहाँ पुग्नुपर्ने मान्छे, १० गतेदेखि दाङमा घरभित्रै छु ।’ घरबाट एक मिनेटको दूरीमा मूलबाटो छ, त्यहाँसम्म पनि पुगेका छैनन् उनी । लकडाउन अवधिभर नजाने संकल्प नै लिएका छन् । ‘अरूलाई पनि लकडाउनको पालना गर्न आग्रह गर्छु,’ उनी भन्छन् । नियमित काम सबै ठप्प भए पनि उनले सिर्जनाको कर्म भने छाडेका छैनन् । लकडाउनकै वेला उनको ‘बाजा बजाउँदै’ गीत बजारमा आएको छ ।

गीतकार राजेन्द्र थापा नेपाली सेनाका पूर्वजर्नेल हुन् । त्यसै पनि अवकाशको फुर्सदिलो जीवन बिताइरहेका छन्, उनी । तथापि, लकडाउनको समयमा उनको सिर्जनशीलता ह्वात्तै बढेको छ । लकडाउन सुरु भएयता उनले रचना गरेका गीतहरूमा वसन्त सापकोटा, दीपक शर्मा, कालीप्रसाद बाँस्कोटा र राजनराज शिवाकोटीले काम गरिरहेका छन् । भक्तपुर कौशलटारमा गायक–संगीतकार शिवाकोटी र उनी छिमेकी पनि हुन् ।

थापा भन्छन्, ‘म यो लकडाउमा दुईपटक घरबाहिर निस्केँ । तर, दुवै पटक राजनलाई भेट्न मात्र ।’ उनीसँगै बसेर दुईवटा गीत कम्पोज गर्न भ्याइसकेका छन्, थापाले । लकडाउनयता एक दर्जन गीत तयार पारेका उनले तीमध्ये सातवटाको कम्पोज नै गर्न भ्याइसकेका छन् । सामान्य दिनमा सातामा तीन दिन उनी सेनाको जिमखानामा गएर जिम गर्थे । अहिले त्यो रुटिन भने घरमै सीमित छ । ‘लकडाउन बाध्यता हो, जसको सामना गर्नुपर्छ,’ उनी भन्छन्, ‘म त लेख्ने मान्छे, लेखिरहेको छु ।’





error: Content is protected !!