कोरोनाको प्रभाव ः नलगाड , जगदुल्लाको मुआव्जा सँगै निर्माणको काम ठप्प

हेमन्त केसी
जाजरकोट ः नलगाड जलविद्युत आयोजना मुआब्जा वितरण देखि सडक निर्माणको काम रोकिएको छ ।  कोरोना भाइरसको ( कोभिड –१९) को प्रभावका कारण मुआव्जा देखि सडक निर्माणको काम रोकिएको आयोजनाका ईन्जिनियर पदम थापाले जानकारी दिनुभयो ।

नलगाड नदीको किनारै किननार ड्याम स्थल सम्म सडक निर्माणको लागि काम भईरहेको थियो थापाले भन्नुभयो , “ कोरोना संक्रमणका कारण सवै मजदुरहरु काम छोडेर घर तीर गएपछि सवै काम रोकिएको छ , विस्फोटनका काम समेत बन्द भएका छन् । ” मुआब्जा वितरणका लागि जाजरकोटका राष्ट्रिय बाणिज्य बैंक , लक्ष्मी बैंक , सिटिजन्स बैंक , एनआईसी एसिय बैंक, ज्योती विकास बैंकले गाउँमै गएर स्थानीयवासीको खाता खोलेर फर्केपनि लकडाउनका कारण रकम भुक्तानी गर्न पाएका छैन्न ।

मुआव्जा जिल्ला प्रशासन कार्यालयले आयोजना प्रभावितको खातामा रकम जम्म गर्ने तयारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार चार हजार ६ सय ५ रोपनी जग्गाको मुआब्जा वितरणको कुरा टुङ्गो लागेर काम सुरु भईसकेको थियो ।

प्रतिरोपनी छ लाख रुपैयाँका दरले मुआब्जा रकम दिने सहमतिपछि मुआव्जाको काम सुरु भएको थियो । अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुग्नै लाग्दा कोरोना भाईरसको जोखिमका कारण काम ठप्प भएको थापाले जानकारी दिनुभयो ।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले लिएका छन् ।

कर्णाली प्रदेशको सामरिक महत्वको रूपमा हेरिएको यो आयोजना निर्माण गर्न कम खर्चिलो हुनुका साथै सजिलोसमेत भएको ऊर्जाविज्ञ तर्क छ ।

केही दिनअघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह गरेको थियो ।

जापानी व्यवसायी एवं जाइकाले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि इच्छासमेत देखाएका छन् । आयोजना निर्माणका लागि १२३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

वातावरणीय व्यवस्थापन अनुमानित लागत ५६ अर्ब रुपैयाँ लाग्ने आयोजनाले बताएको छ । साढे छ वर्षभित्र निर्माणकार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

आयोजनाको बाँध भरिँदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । यो समुद्र सतहदेखि एक हजार ५८० सम्मको उचाइमा पुग्ने छ ।

पाँच सय ४५ मिटर चौडाइ र २१० मिटर अग्लो जलाशय हुनेछ । आठ हजार ३०० मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डिपिआरमा उल्लेख छ । सरकारले आयोजना प्रभावित ६५७ भन्दा बढी घरपरिवारलाई रु दुई अर्ब ७२ करोड मुआब्जा बाँड्ने तयारी थालेको छ ।

आयोजनाले पार्ने वातावरणीय एवं जैविक प्रभाव न्यून गर्नुपर्ने र वातावरणीय संरक्षण नियम २०५४ लाई ध्यान दिनुपर्नेमा जोड दिँदै काम गर्न आग्रह सरोकारवालाले गरेका छन् । आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र कार्बनडाइअक्साइडको उत्सर्जन हुनबाट सात लाख १७ हजार टन बचत हुनेछ ।

आयोजनाले क्षेत्रीय पूर्वाधारको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, ग्रामीण अर्थतन्त्रको विकास र विस्तार एवं रोजगारीको सिर्जना, व्यापार व्यवसायको अवसरमा वृद्धि हुनेछ । आयोजनाबाट नलगाड नगरपालिका–५ र ७, बारेकोट गाउँपालिका– १, २, ५, ६, ७ र ८ प्रभावित हुनेछ ।

 

अहिले नलगाड नगरपालिका–७ दल्लीमा भूमिगतरूपमा निर्माण हुने विद्युत् उत्पादनगृहको अवस्था (कमजोर, जटिल) पत्ता लगाउन सुरुङको काम चलिरहेकोमा रोकिएको छ । तीस महिनाभित्र निर्माणकार्य पूरा गर्ने भनी गरिएको सम्झौता सकिएर थपिएको छ महिनासम्म म्याद गुज्रिँदासमेत अझै डिपिआरको काम पूरा हुनसकेको छैन ।

जगदुल्ला जलविद्युतको मुआव्जाको काम रोकियो

डोल्पा स्थित जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य रोकिएको छ । विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण शुरु गरिएको भएपनि लक डाउन पछि पुरै ठप्प भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।

फागुन १४ ईलबाट सुरु भएको मुआव्जाको काम दोस्रो चरणमा अर्थात चैत १४ गते काईगाउँमा वितरण गरिने पुर्व निर्धारित कार्यक्रम रद भएको प्रजिअ सुनारले जानकारी दिनुभयो ।

इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गको प्रतिरोपनी रु पाँच लाख ५० हजार र काईगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी रु पाँच लाख १५ हजारका दरले मुआब्जा वितरणको मापदण्ड निर्धारण गरी काम सुरु गरिएको भएपनि अवस्था सामान्य नहुन्जेल सम्म सवै प्रकारका काम ठप्प भएको प्रजिअ सुनारले जानकारी दिनुभयो ।

कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेघावाट मात्र विद्युत् उत्पादन गर्न सकिने बताइएको आयोजनाको डिपिआरको काम समेत ठप्प भएको छ । प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम शुरु गरिएको आयोजनाको अवको एक महिनाभित्र विस्तृत परियोजनाको प्रतिवेदन आउने तयारी थियो , प्रमुख सञ्जय सापकोटाले भन्नुभयो , अव पुर्ण रोकियो ।

 

बीस महिनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि अहिले छ महिना थपेर विस्तृत परियोजना प्रतिवेदनको कामलाई तीव्रता दिइएको छ । आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । अर्धजलाशयका रुपमा निर्माण कार्य थालिएको आयोजनाको छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

 

करिब ६.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २० मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको १०० मिटर चौडाइ हुनेछ । छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ ।

विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जिनीयरिङले रु २७ करोडमा लिएको उनको भनाइ छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउने छन् । सरकारले आफै र स्थानीयवासीलाई शेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।





error: Content is protected !!